|

  • गोविन्द महतो

जनकपुर : जनकपुरमा घरभाडाको विषयमा विवाद हुँदा एक घरमूलीले भाडादारलाई छतबाट खसालेर गम्भीर घाइते बनाएको रहस्य खुल्न आएको छ। जनकपुर उप–महानगरपालिकाको वडा नं. ११ मिल्स एरियास्थित राजकुमार चौधरीको घरमा भाडा लिएर बस्दै आएका ४७ वर्षिय दिलीप साह घरबेटीले छतबाट खसालेपछि गम्भीर घाइते भएर उपचारका लागि अस्पताल भर्ना भएको रहस्य ढिलागरी खुलेको हो।

समान्य विवादका क्रममा यही माघ १३ गते घरमूली चौधरीले कुरा गर्न छ भनी छतमा लगेर त्यहीँबाट धकेलिदिएको पीडित शाह बताउँछन्। उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको चिकित्सकहरुले जानकारी दिएका छन्। साहको धनुषा अस्पतालमा उपचार भइरहेको छ।

साह विगत एक वर्षदेखि चौधरीको घरमा डेरा गरी बस्दै आएका थिए। उनको परिवारमा श्रीमती र चार छोरी छन्। उनले प्रहरीसँगको बयानमा आफूलाई घरबेटीले छतबाट धकेलिदिएको बताएका छन्। घरभाडाको विषयमा विवाद हुँदा घरबेटीले धक्का दिएको शाहले बताएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक लिलामणि आचार्यले जानकारी दिए।

यसबीचमा घरबेटीले घटनाको ढाकछोपका लागि आफूलाई दबाब दिइरहेको पीडितकी श्रीमती रेणुदेवी साहले बताइन्। यद्यपी  पीडकलाई अहिलेसम्म कारबाही नभएको उनको गुनासो छ। ‘घरबेटीलाई कडा कारबाही हुनुपर्छ भनेर मैले जनकपुरको रेल्वे प्रहरी चौकीमा निवेदन दिएकी छु, तर अहिलेसम्म कुनै कारबाही भएको छैन,’ उनले भनिन्। आफ्नो श्रीमानको शरीरमा विभिन्न ठाउँमा गहिरो चोट लागेकाले त्यसले लामो समयसम्म असर गर्नसक्ने उनको चिन्ता छ।

यता प्रहरीले भने घरबेटी चौधरीको मानसिक सन्तुलन ठीक नभएको पाइएको बताएको छ। तर, साह भने मानसिक सन्तुलन ठीक नभएको बहानामा पीडकलाई बचाउन खोजिएको गुनासो गर्छिन्। मानसिक सन्तुलन ठीक नभएको मान्छेले कसरी सबै काम गर्नसक्छ भन्दै आफूलाई घर खाली गर्न धम्की आइरहेको उनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.