विचार

कोरोनाको संकट र राजनीतिक षड्यन्त्र

बैशाख २७, २०७७

    विश्‍वभर महामारीका रुपमा चार महिनादेखि फैलिएको कोरोना भाइरसले स्वास्थसम्बन्धी विकराल संकट ल्याएको छ। यो त्यतिमा मात्रै सीमित छैन। यसले त्यतिकै भयानक आर्थिक संकट पनि पैदा गरिरहेको छ। त्यसका प्रारम्भिक लक्षणहरु देखा पर्न थालिसकेका छन्।

    यो सन् १९२९ को आर्थिक महासंकट भन्दा कम नहुने पूर्वअनुमान गरिँदै छ। यो महाव्याधी अहिलेसम्म विश्‍वका २१० राष्ट्रमा फैलिसकेको छ। संयुक्त राष्ट्र संघका महासचिव एण्टोनियो गुटरेसले यसलाई दोस्रो विश्‍वयुद्ध पछिको सबैभन्दा ठुलो घटना बताएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई पर्ल हार्वर को घटना र सेप्टेम्बर ११ को घटना भन्दा पनि भयानक भन्ने टिप्पणी गरेका छन्।

    चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट सुरु भएर पनि यो महाव्याधीले तुरुन्तै हिमाल नाघेर आउने चेष्टा गरेन। केही समयसम्म यसले हाम्रो देशमा कुनै लक्षण देखाएन। लक्षण देखिइसकेपछि पनि यो त्यति फैलिएको थिएन। यो समय हाम्रो देशमा यसको सम्‍भावित महामारीबाट जोगिने तयारिका लागि सुनौलो अवसर थियो।

    सरकार यो अवसरलाई सदुपयोग गर्ने काममा नराम्रोसँग चुक्दै गएको छ। अरुले दिएका उपयोगी सुझावलाई पनि लत्यायो। यो विषयलाई प्रमुख एजेण्डा नै बनाएन यो सरकारले। एकै पटक चैत १० गते मात्र अन्तर्राष्ट्रिय उडान बन्द गर्यो, यो सरकारले।

    जबकि त्यसको केही दिन मात्र अघि २० हजार भन्दा बढी नेपाली र विदेशीहरु कोरोना भाइरसको प्रकोप भएका देशबाट नेपाल पसिसकेका थिए। त्यसपछि पनि बिना रोकटोक भारतबाट २ लाख भन्दा बढी मानिस नेपाल भित्रिए। जबकि त्यतिखेर भारतमा यो महामारी फैलिसकेको थियो। सरकार पूर्ण रूपमा गैरजिम्मेवार बन्यो।

    यतिखेर, संक्रमितको संख्या सय पुगि सकेको छ। कोरोना संक्रमण समुदायमा फैलिन थालिसकेको छ। यसलाई तेस्रो चरण मानिन्छ। यो चरण भनेको खतराको घण्टी हो। विश्‍व स्वास्थ संघको मूल्यांकन अनुसार नेपाल उच्च र अति उच्च जोखिमको अवस्थामा पुगिसकेको छ। सरकारले लकडाउन घोषणा गरेको पनि डेढ महिना बितीसकेको छ र अरु दश दिन फेरी थप गरेको छ।

    लकडाउनको समय कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण सामग्री, क्वारेण्टाइनको व्यवस्था, स्वास्थ विशेषज्ञहरु, खाद्यान्न, आइसोलेसनको व्यवस्था गरी टेष्टिङ र ट्रेसिङको बढी भन्दा बढी व्यवस्था गरिनु पर्दथ्यो। तर, कोरोना अस्पतालका डाइरेक्टरहरु नै भन्दछन् ‘परीक्षण बन्द छ किनभने परीक्षण गर्ने सामग्री नै छैन’। एउटा विवादास्पद निर्णय गरेर सरकारले नेपाली सेनालाई स्वास्थ उपकरण लगायत समग्र स्वास्थ सामग्री ल्याउने जिम्मा दियो। एक महिना भयो स्वास्थ्य सामग्रीको अत्तोपत्तो छैन। 

    सेनाका प्रवक्ता भन्दछन् ‘सामान आइपुग्न कम्तीमा अझै ९ दिन लाग्छ।’ विश्‍व स्वास्थ संघले सतर्क गराएको छ, राष्ट्रिय मानव अधिकार आयोगले अनुरोध  गरेको छ , पी सी आर विधिद्वारा परीक्षण गराउ’। नेपालका प्रतिष्ठित डाक्टर र विशेषज्ञहरु भन्दछन्, ‘सरकारकै लापरवाही र गल्तीका कारण नेपालमा कोभिड १९ को जोखिम बढेर अनियन्त्रित हालत तिर जाँदै छ। ’ तर,  देखिँदैछ सरकार अझ पनि यसमा होमिएको छैन।

    जन आन्दोलनको सपना

    यतिखेर कोभिड १९ को जोखिम गम्भीर अवस्थामा पुगेको छ। सबै काम छाडेर समग्र राष्ट्र र सम्पूर्ण जनता नै एकाकार भएर कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा केन्द्रीत हुनु पर्ने हो।

    ठूलो महामारीका समयमा सबै राजनीतिक पार्टीहरु, सामाजिक संघ, संस्थाहरु, सम्पूर्ण जनता र समग्र राष्ट्रलाई नै एकतावद्ध गर्नुपर्ने हो। यस प्रकारको भूमिका र  मुख्य जिम्मेवारी सरकारको हुन जान्छ। विपक्षी पार्टीको यसमा भूमिका खेल्ने स्पेस एकदमै कम हुँदो रहेछ। सत्ताको वा सरकारको विपक्षी शक्तिहरुको तागत भनेको क्रान्तिकारी जनता हुन्। जनमतको, जनबलको प्रदर्शन मुख्यतः सडक आन्दोलनबाट हुन्छ। तर, यतिखेरको स्थिती भिन्न छ।

    यो महाव्याधीसँग जुध्नका लागि भिडभाड गर्नु हुँदैन। हामी आफैं भनिरहेका छौं; भिडभाड नगरौं, भिडभाडमा नजाउँ। हामी व्यक्ति व्यक्तिका बीचमा दुरी कायम गर्न आर्फै आह्वान गरिरहेका छौं।

     भिडभाड नगरी आन्दोलन हुँदैन। यतिखेर त्यस्तो आन्दोलनको योजना बनाउनु र लागू गर्नु आत्मघाती हुन्छ। समूहमा एकछिन बस्नु पनि यतिबेला अनुचित हुन्छ भने जनआन्दोलनको त कुरै छाडौं। यो महाव्याधीको संक्रमणलाई रोक्न यस्तो प्रकारको नियमको पालना गर्नु कठिन हुँदाहुँदै पनि आवश्यक छ।

    यतिखेर जनतालाई सम्प्रेषण गर्ने र सरकारलाई दबाब दिने उपयुक्त प्रकिया भनेको नै सल्लाह, सुझाव आदि हो। यो आमसंचार माध्यममा बोलेर, लेखेर गर्न सकिन्छ। त्यसलाई सरकारले सुनेन भने के गर्ने?

    नेता आफैं आजित

    यतिखेर ने क पाको सरकार छ। तर तिनै नेकपाका एकस्तरका नेताहरुले त्यही पार्टीको विधान सम्मत ढंगले वैठक डाकियोस् भनेर निवेदन हाल्दा पनि बैठक राख्ने काम हुन सकिरहेको छैन। त्यती मात्र होइन, पार्टीको त्यो भन्दा माथिको समिति, सचिवालयका शिर्ष नेतागणको बहुमतले पनि बैठक राख्न सकिरहेका छैनन्।

    बैठक राख्दा आफूलाई फाइदा नहुने देखेर प्रधानमन्त्रीले नै यसलाई रोक्ने काम गरिरहेका छन्। नेकपालाई “लोकतन्त्रको लागि लड्ने पार्टी”, लोकतान्त्रिक पार्टी”, “संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने पार्टी” भनेर जनताका वीचमा बखान गर्ने गर्दछन्। आखिर संघीय लोकतान्त्रिक गणतन्त्रको असली रूप राम्रैसँग उजागर भएको छ।

    यो सरकारका विरोधमा यति धेरै जन असन्तोष, जन आक्रोष हुँदा हुँदै पनि त्यो अभिव्यक्त हुन पाइरहेको छैन। स्वतःस्फूर्त रूपमा कहीँ कहीँ केही असन्तोष अभिव्यक्त भइहाले पनि योजनावद्ध रूपमा, व्यवस्थित रुपमा, व्यापक जन सहभागिताका बीचमा यो काम हुन नसकिरहेको कारण पनि यहि नैं हो। कोरोना भाइरसको महाव्याधीको नियन्त्रणसँगै जनता यसबाट सिर्जित बन्धनबाट मुक्त हुन पाउनेछन्। र, फेरि सडक जनताकै पकडमा आउनेछ।

सीपी गजुरेल

लेखक नेकपा क्रान्तिकारी माओवादीका नेता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]