|

 

हो, मेरै हो त्यो पिलर

मेरै पुर्खाले आर्जेको

मेरै पुर्खाले गाडेको

मेरै आँखाको देशमा

मेरै शिरमाथि।

 

नजिस्क मेरो पिलरसँग

मेरो सिमानासँग जिस्केको

सहन सक्दिनँ म

मेरा पुर्खाको नासो

जोगाइरहनेछु

मेरो सास हुन्जेल

सजाइरहनेछु मेरै गलामा।

 

प्रिय,

कालापानीको दाइ

पिलर नं.- १ लिपुलेक।

 

धावा नबोल मेरो स्वाभिमानमाथि

सह्य छैन मलाई

दुश्मनको त्यो दृष्टि

कदापि सैह्य छैन

बरु रगतले पोतिदिन्छु

त्यो सम्झौता

र,

फिर्ता गर्छु मेरो भूमि

सीमाङ्कन गर्छ पैताला पैताला नापेर

पिलर नं.- १, लिपुलेक।

 

हराउँदै गरेका

अरू पिलरहरू

मेटिँदै गरेका

अरू सीमारेखाहरू

खोज्नेछु।

 

स्थापित हुनेछन्

पुरानै अधारशिलामा

उज्यालोमै चलमलाएका

आतङ्कका धब्बाहरू

भो, अब जिस्कनुपर्दैन मसँग।

 

देश भन्नु आमा हुन्

आमा भन्नु माटो हुन्

लपप्कै लपेटिएको छु म

माटोको मायामा

नदेखाऊ अब मलाई 

तिम्रो लालिपपको मिठास।

 

सीमारेखामा पुगेको छु म

उभिएको छु

ढाल बनेर   

पिलर नं.- १, लिपुलेक।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.