|

काठमाडौंः कोरोना महामारी नियन्त्रण गर्न लकडाउन लगाइएसँगै देशभर शैक्षिक गतिविधि ठप्पजस्तै छ। माध्यामिक शिक्षा परीक्षा (एसईई) तयारी गर्दैगर्दा विश्वभर महामारी फैलिएपछि यतिखेर नतिजा कुरेर बस्नपर्ने विद्यार्थीहरू परीक्षा कहिले होला भनी कुरिबसेका छन्‌। 

पठन-पाठन कसरी सुचारू गराउने भन्नेबारे विभिन्न विवाद र टिकाटिप्पणी भइरहेको छ। सरोकारवालाहरूले आ-आफ्नै द‌ृष्टिकोण राखिरहेका छन्‌। केही निजी विद्यालयहरुले अनलाइन कक्षाका नाममा रकम नै असुल्न थालेका छन्‌। तर देशका अधिकांश भूभागमा रहेका विद्यार्थीहरू यसबारे बेखबर छन्‌। लकडाउन लम्बिँदा जाँदा र संक्रमित संख्या बढिरहँदा विद्यार्थी र अभिभावकले मानसिक दवाव खेपिरहेका छन्‌। 

सरकारले अहिलेसम्म एसईई परीक्षा गराउने र नयाँ शैक्षिकसत्र सुरू गर्नेबारे निर्णय लिन सकेको छैन। सबैभन्दा सरोकार रहेको एसईई परीक्षा सञ्चालनबारे सरोकारवालाहरू चाहिँ यस्तो धारणा राख्छन्‌ :

आन्तरिक मुल्यांकनबाट प्रमाणपत्र दिनुपर्छ : प्याब्सन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले यस वर्ष एसईई परीक्षा नगराईकन आन्तरिक मुल्यांकनका आधारमा प्रमाणपत्र दिन सरकारसँग प्रस्ताव राखेको छ। प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी नेपालमा पनि कोरोना भाइरस संक्रमित बढ्दै गएकाले परीक्षा नगराई विद्यार्थीको आन्तरिक मुल्यांकनबाट प्रमाणत्र दिनुपर्ने प्रस्ताव राखेको बताउँछन्‌।

‘चैत्र ६ गतेबाट एसईई परीक्षा हुँदै थियो,’ उनले थाहा खबरलाई भने, ‘विश्वभर कोरोना माहामारी फैलिएकाले परीक्षा रोकियो। सरकारले लकडाउन लगाएको दुई महिना हुन लागेको छ। नेपालमा संक्रमितको संख्य थपिँदै गएकाले परीक्षा गराउने सम्भावना देखिँदैन। त्यसैले हामीले विद्यार्थीको आन्तरिक मुल्यांकनबाट प्रमाणपत्र दिनुपर्छ भनेर माग राखेका हौँ।’

सरकारले अहिलेसम्म एसईई परीक्षाको बारेमा कुनै निर्णय लिन नसकेकाले विद्यार्थीहरूको भविष्य अन्योलमा रहेको उनले बताए। उनले भने, ‘सरकारले परीक्षाको तालिका बनाउन सकेको छैन। यो परिस्थितिमा विद्यार्थीले कति पढ्ने? के गर्ने भन्ने ठूलो अन्योल भएको छ। विद्यार्थीको मनस्थिति खलबलियो। यसरी उनीहरुलाई अस्तव्यस्त बनाउनु भएन।’

उनका अनुसार काभ्रेसहित उपत्यकामा करिब २५ सय निजी विद्यालयहरु छन। ती निजी र सरकारी सबै विद्यालयले आफ्ना विद्यार्थीको वास्तविक मुल्यांकन गरी राष्ट्रिय परीक्षा बोर्डलाई बुझाउनुपर्छ। त्यो मुल्यांकनलाई परीक्षा बोर्डले प्रमाणीकरण गरेर प्रमाणपत्र दिनुपर्छ। प्रमाणपत्र दिने निर्णय भएमा विद्यार्थीहरूमा परीक्षा हलमै बस्दा हुनसक्ने संक्रमणको डर नहुने उनको भनाई छ।

‘अघिल्लो एसईई परीक्षाको मुल्याकंनको आधारमा प्रमाणपत्र दिँदा राम्रो’ 

विद्यार्थी नेताहरुले पनि विद्यार्थीको मुल्यांकनको आधारमा प्रमाणपत्र दिँने विकल्प नै राम्रो हुने बताइरहेका छन्‌। सत्तारूढ नेकपा सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियु (अखिल)का केन्द्रीय सचिव सुदेश पराजुलीले अघिल्लो कक्षा वा एसईई परीक्षाको मुल्याकंनको आधारमा प्रमाणपत्र दिँदा राम्रो हुने बताए। उनले भने, ‘अनुकूल समयपछि सामाजिक दुरी कायम गरी एसईई परीक्षा गराउँदा हुन्छ। तर यो आगामी परिस्थितिमा निर्भर छ, यसरी नै कोरोना महामारी फैलँदै गयो भने अघिल्ला परीक्षाको मुल्यांकनका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिँदा हुन्छ।’

विद्यालयले यसअघि नै एसईईको प्रिबोर्ड परीक्षा लिइसकेकाले त्यसैका आधारमा प्रमाणपत्र दिनुपर्ने पराजुलीले बताए। परीक्षा नगराई प्रमाणपत्र मात्रै दिने विषयमा विद्यार्थीका अभिभावकले पनि असहमत जनाएका छन। 

‘प्रमाणपत्रले हुँदैन,व्यवहारिक रुपमा परीक्षा गराउनुपर्छ’

समता शिक्षा निकेतनमा अध्ययन गरी एसईई परीक्षा दिने तयारीमा रहेकी सञ्जिवनी बुर्तेलका आमा सरिता बुर्तेलले प्रमाणपत्र नभई परीक्षा नै गराउनुपर्ने बताउँछिन्‌। ‘परीक्षा नै नगराई प्रमाणपत्रमात्रै दिनुको महत्व छैन,’ उनी भन्छिन्‌, ‘प्रमाणपत्रले विद्यार्थीको भविष्य निर्धारण गर्दैन, व्यवहारिक रुपमा शिक्षा चाहिन्छ, त्यसैले परीक्षा गराउनुपर्छ।’ उनले अहिलेसम्म सरकारले यसबारे केही निर्णय नगर्दा परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरुमा मानसिक तनाव बढ्दै गएको उनले बताइन्। 

कुन विकल्पमा जाने भनेर अझै निर्णय भएको छैनः शिक्षा मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले एसईई परीक्षा गराउने वा प्रमाणपत्र मात्रै दिने भन्ने विषयमा छलफल मात्रै गरिरहेको बताउँदै अहिलेसम्म केही निर्णय नभएको बताउँछन्‌। ‘थुप्रै सुझावहरु आएका छन्‌,’ उनले भने, ‘मन्त्रालयले ती सुझावमध्ये कुन विकल्पमा जाने भनेर निर्णय गरेको छैन।’

उनका अनुसार देशभर एकसाथ परीक्षा सञ्चालन, गर्ने, कक्षागत मुल्यांकनको आधार मानेर प्रमाणपत्र दिने, अनिवार्य विषयको परीक्षा लिने, केन्द्र परिवर्तन गर्ने,  उपकेन्द्र थप्ने र समय अनुकुलमा परीक्षार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी परीक्षा लिने लगायतका सुझावहरु मन्त्रालयमा आएको छ। ती सुझावहरुमाथि मन्त्रालयका अधिकारीहरूले अध्ययन र छलफल गरिरहेको शर्माले जानकारी दिए।

‘हामीले ती सुझावहरुको अध्ययन, छलफल गरिरहेका छौँ, निर्णयका लागि केही दिन पर्खनुपर्छ, सकभर छिट्टै निर्णय गरेर सार्वजनिक गर्छौं,’ उनले थपे।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक राम राजन खकुरेलका अनुसार यस वर्ष एसईई परीक्षा दिने विद्यार्थी संख्या चारलाख ८२ हजार सात सय सात छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.