|

ललितपुर :  बागमती गाउँपालिकाको गिम्दी स्वास्थ्य चौकीलाई गिम्दी प्रवासी युवा समाजले एम्बुलेन्स सहयोग गरेको छ। ललितपुरको बागमती गाउँपालिका–७ गिम्दी घरभई विभिन्न देशमा रहेर काम गरिरहेका युवाहरुले रकम संकलन गरेर एम्बुलेन्स खरिद गरी स्वास्थ्य चौकीलाई सहयोग गरेका हुन्।

ललितपुरको दुर्गम गाउँमा जन्मेर प्रवास पुगेका नेपालीहरूले गाउँलेलाई स्वास्थ्य उपचारमा सहयोग पुग्ने उद्देश्यले एम्बुलेन्स खरिद अभियान सञ्चालन भएको प्रवासी युवा समाजका नेपाल प्रतिनिधि एवं गिम्दी स्वास्थ्य चौकीका सिनियर अहेव कमल बहादुर आले मगरले बताए।

एम्बुलेन्स खरिद अभियान गिम्दी घरभई मलेसियामा काम गर्दै आएका कृष्णबहादुर जर्घामगरले सुरु गरेका हुन्। उनले सुरु गरेको अभियानलाई अमेरिका, दक्षिण कोरिया, जापान, कतार, रोमानिया, साउदीअरब, इराक, बहराइन, युएई मकाउ लगायत देशमा रहेका नेपालीहरुले साथ दिएका थिए।

यो अभियानबाट जम्मा १५ लाख २८ हजार ९ सय ४९ रुपैयाँ संकलन भएको थियो। नेपाल सरकारबाट राजश्व छुट गराएर १० महिना भित्रै एम्बुलेन्स खरिद गरी प्रवासी युवा समाजले बागमती गाउँपालिकालाई हस्तान्तरण गरेको छ।

उक्त एम्बुलेन्स एक कार्यक्रमबीच गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले रिबन काटेर उद्घाटन गरेका हुन्। लोप्चनले एम्बुलेन्स संचालनका लागि गाउँपालिकाले व्यवस्थापन कार्यविधि तयार पारेको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.