|

काठमाडौं :  सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जनताको जीवन रक्षा र जीवनस्तर सुधारका लागि सरकारले अधिकतम उपाय अवलम्वन गरिरहेको बताएका छन्।

सोमबार बालाजु बाइपासमा निर्माणाधिन सुचना केन्द्र निर्माण उपभोक्ता समितिका पदाधिकारीसँगको छलफलमा मन्त्री मानन्धरले सरकारले कोभिड महामारी नियन्त्रण केन्द्रीत बजेट ल्याएको बताउँदै उपचार र खोप सुनिश्चितताका लागि बजेटको कमी नहुने दाबी गरे।

मंसिरमा हुने निर्वाचन अगावै सम्भव भएसम्म सबै  नागरिकलाई निशुल्क खोपको प्रवन्ध गर्नेगरी सरकारले काम गरिरहेको दाबी गरे। खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैया बिनियोजन भएको बताउँदै मन्त्री मानन्धरले अबको केही दिनभित्र खोप आयत सुनिश्चित हुने दाबी पनि गरे।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा हुनेगरी बजेट आएको दाबी गर्दै मन्त्री मानन्धरले सबै नेपालीले अपनत्व ग्रहण गर्ने जनमुखी बजेट आएको दाबी समेत गरे।

सरकारले जनताको जीवन रक्षासँगै जीवनस्तर सुधारका लागि महत्वाकांक्षी बजेट ल्याएको दाबी गरे। विपद् सामना गरिरहेका जनताको समृद्धिको चाहना पुरा गर्न सरकारले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको उल्लेख गर्दै सबै नागरिकले गर्व गर्ने बजेट आएको बताए।

महामारीबीच ठूला विकास आयोजनाहरुको निर्माण चलिरहेको बताउँदै मन्त्री मानन्धरले विकास निर्माणका काममा सहजीकरणका लागि सरकारले काम गरिरहेको पनि बताए। निर्माणाधिन आयोजनामा बजेटसहित अन्य प्राविधिक समस्या नहुने बताउँदै सहजीकरणका लागि अनुगमन थालिने पनि उनले बताए। 


केही नेताको व्यक्तिगत कुण्ठाका कारण राजनीति केही धुमिल भएको बताउँदै जनताको समृद्धिको सपना पुरा गरेरै छाडिने दाबी पनि गरे। मन्त्री मानन्धरले तत्कालिन नेकपा र हाल एमाले भित्रका केही नेताहरुले जनमुखी काम गर्न नदिन खोजेको दबी गर्दै सबै अवरोधको सामना गर्दै सरकार जनताको हितमा निरन्तर काम गरिरहेको दाबी छ।

सरकारले जनताको हितमा काम गरेको एमालेकै केही नेता र विपक्षी दलहरूलाई मन नपरेको बताउँदै मन्त्री मानन्धरले जनविरोधी तत्वहरूलाई आगामी चुनाव मार्फत् जनताले जवाफ दिने बताए। देशको विकासका लागि एमालेकै नेतृत्वमा सरकार हुनुपर्ने बताउँदै मन्त्री मानन्धरले आगामी चुनावबाट जनताले फेरि एमालेलाई अनुमोदन गर्ने दाबी गरे। 

मन्त्री मानन्धरले बेरोजगार युवालाई लक्षित गरि सरकारले ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्मको कर्जाको व्यवस्था गरेको बताउँदै स्वरोजगार हुन चाहनेहरुका लागि सहजीकरण गरिने बताउनुभयो। भूमिहीन दलित, सुकुम्बासी, जग्गा विहीनलाई आगामी आर्थिक वर्षमा जग्गाधनी पुर्जा उपलब्ध गराइसक्ने सरकारको योजना रहेको बताउँदै मन्त्री मानन्धरले दलित, मुस्लिम र मुक्त कमलरी महिलालाई निशुल्क उच्च शिक्षाको प्रवन्ध मिलाइने बताए। 

मन्त्री मानन्धरले आगामी वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् कम्तिमा दुई लाख युवालाई रोजगारी दिइने बताउँदै अन्य क्षेत्रमा पनि व्यापक रोजगारी श्रृजना गरिने दाबी गरे। 

सहरी विकास मन्त्रालय मातहत १ लाख ६८ हजार घरका खरका छाना जस्तापाताले विस्थापित गरिने बताउँदै प्रति परिवार ७५ हजार अनुदानको व्यवस्था गरिएको उनले बताए। सरकारले कृषिलाई उच्च प्राथमिकता दिएको बताउँदै मन्त्री मानन्धरले साना किसानलाई राहत हुनेगरी बजेट आएको दाबी पनि गरे। आगामी तीन वर्षभित्र मुलुकमा आफ्नै रासायनिक मल कारखाना स्थापना हुने बताउँदै यो वर्ष १२ अर्ब बजेट सुनिश्चित भएको मानन्धरको भनाइ छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.