|

बैतडी : बैतडीमा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान रोकिएको छ। देशभर जेठ २५ गतेदेखि अभियान सञ्चालनमा आए पनि यहाँ भने सञ्चालन हुन सकेको छैन।

सरकारले जेठ २५ गतदेखि ६० देखि ६४ वर्षका ज्येष्ठ नागरिकलाई खोप दिने भने पनि पछि संशोधन भएर ६२ देखि ६४ वर्षका नागरिकलाई दिने भनेकाले खोप अभियान सुरु गर्न केही ढिलाई भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। बैतडीमा जेठ २८ गतेदेखि अभियान सुरु हुने उनको भनाइ छ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा जेठ २८ गते खोप लगाइने छ। मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा जेठ ३० गते खोप लगाइने छ। यस्तै, पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा असार १ गते खोप लगाइने जनाइएको छ। उक्त अभियानका लागि जिल्लाका प्रत्येक वडाका स्वास्थ्यचौकीमा खोप केन्द्र तोकिएका स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए।

बैतडीमा ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिक करिब ३ हजार ५०० जना रहेको अनुमान छ। जिल्लामा अहिले ३ हजार ७८० डोज खोप आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। पहिला कोभिशिल्ड खोप लगाएका जेष्ठ नागरिकलाई दोश्रो डोज नभएकाले अहिले भेरोसेल खोप लगाउँदा भने दोश्रो डोज मौज्दात राखेर मात्रै खोप दिइने भएको छ।

खोप लगाउन आउँदा आफ्नो उमेर खुल्ने प्रमाणपत्र साथमा लिएर आउन हुन समेत आग्रह गरिएको छ। यस्तै खोप लगाउन आउँदा र खोप लगाउँदाका स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न समेत स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.