|

सिन्धुली : सिन्धुलीमा बुधबार रातिदेखि आज (शुक्रबार) सम्म निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण आएको बाढी र पहिरोका कारण केही मानवीय र धेरै भौतिक क्षति भएका छन्। बुधबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोको कारण सिन्धुलीमा हालसम्ममा दुई जनाको ज्यान गएको हो।

बिहीबार (हिजो) बिहान साढे पाँच बजेतिर आएको पहिरोले लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रममा बस्दै आएका एक वृद्धको ज्यान गएको छ। कमलामाई नगरपालिका ८ पहिरेस्थित बम्जनको आश्रममा सुतिरहेका मकवानपुर हेटौँडा उपमहानगरपालिका १३ का ६९ वर्षीय महात्मा गुरु लरिनबहादुर हिम्दुङको पहिरोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

त्यस्तै, कमलाखोलामा आएको बाढीले बगाउँदा अर्का एकजना वृद्धको ज्यान गएको छ। कमला खोलाले बगाउँदा कमलामाई नगरपालिका –५ फोस्रेटारका ८७ वर्षका सन्तबहादुर मगरको ज्यान गएको सिन्धुली प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक बुद्दिमणि नेपालले जानकारी दिए। सुनकोशी नदी, कमला नदी, चदा खोला, मरिण खोला, ग्वाङ खोला लगाएतका दर्जनौँ साना ठूला खोलाहरूमा पानीको बहाव बढेको छ। वर्षाका कारण जिल्लाका अधिकांश स्थानीय तह जाने सडकहरू भत्किएका छन्।

स्थानीय तहहरुबाट गाउँ-गाउँ जाने ग्रामीण सडक पनि भत्किएका छन्। सिन्धुलीमाढीबाट तिनपाटन गाउपालिका जाने सडक पहिरो खसेर अवरुद्ध भएको गाउँपालिकाले जनाएको छ। निर्माणाधीन अवस्थामा रहेको सिन्धुलीमाढीबाट तिनपाटन गाउँपालिका जाने सडकमा खनेर फराकिलो बनाएको ठाउँहरूमा पहिरो खसेको स्थानीयले बताएका छन्।

सुनकोशी नदी, कमला नदी, चदा खोला, मरिण खोला, ग्वाङ खोलालगायतका खोलामा आएको बाढीले खेतीयोग्य जमिन कटान गर्न सुरु गरेको छ। मरिण गाउँपालिकाले मरिण खोलामा पानीको वहाव उच्च भएकाले खोला किनारमा रहेका बस्तीका नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गर्दै सूचना जारी गरेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.