|

काठमाडौं : नेपाली कांग्रेसले प्रदेश २ मा आज प्रदेश अधिवेशन सुरु गर्दैछ। 

६ वटा प्रदेशमा अधिवेशन सम्पन्न गरिसकेको कांग्रेसले केन्द्रीय महाधिवेशनपछि प्रदेश २ मा अधिवेशन गर्न लागेको हो। यो अधिवेशनले प्रदेश सभापति, उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरु चयन गर्नेछ। 

प्रदेश सभापतिका लागि मुख्यगरी दुई जना उम्मेदवार मैदानमा देखिएका छन्। प्रदेश २ का भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका संसदीय दलका नेता रामसरोज यादव र रौतहट कांग्रेसका पूर्वसभापति कृष्णा यादव प्रदेश सभापति पदका आकांक्षी छन्। 

रामसरोज विमलेन्द्र निधि निकट र कृष्णा शेरबहादुर देउवा निकट मानिन्छन्।  निधि निकट उम्मेदवार रामसरोजलाई कांग्रेसको शेखर कोइराला पक्षले पनि समर्थन गरेको बताइएको छ। नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारको मनोनयन तथा भोलि मतदानको कार्यतालिका तय भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। 

प्रदेश अधिवेशनमा एक हजार ९ सय ८० मतदाता छन्। प्रदेश २ का आठवटै जिल्लामा जिल्ला अधिवेशन समेत हुन बाँकी छ। कांग्रेसले केन्द्रीय महाधिवेशनपछि प्रदेश २ को प्रदेश अधिवेशन र बाँकी रहेका जिल्लामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो। 

क्रियाशील सदस्यता विवादका कारण प्रदेश अधिवेशन हुन नसके पनि केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि भने चयन गरिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.