|
तस्वीर : अजितकुमार झा, रासस

सर्लाही : वसन्तु ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराई मधेशमा गाइने जोगिरा गीत लोप हुने अवस्थामा पुगेको छ। होली आउनुभन्दा एक हप्ताअघिबाट भित्री मधेशका गाउँबस्तीमा प्रशस्तै सुनिने जोगिरा गीत पछिल्लो समय हराउँदै जान थालेकोमा बूढापाकाले चिन्ता व्यक्त गर्न थालेका छन्।

होली पर्वमा तराईका बस्तीमा गवैया (गायक) ले ढोलक, मृदङ्ग, झ्याली, हारमोनियम प्रयोग गरी जोगिरा गीत गाउने प्रचलन छ। जोगिरा र होलीका गीतका कारण तराईका हरेक गाउँको वातावरणमा बेग्लै किसिमको रौनक छाएको हुन्थ्यो तर ती गीत हिजोआज लोप हुने अवस्थामा पुगेको भन्दै शिक्षक ज्ञानकुमार महतोले चिन्ता व्यक्त गरे।

सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको होलीले प्रायः सबै जातजातिका र उमेर समूहका मानिसलाई एक आपसमा अवीर दलेर सद्‌भाव र आत्मीयता बढाउँछ। जोगिरा गीत मात्रै होइन तराईमा उत्सव र उमङ्गका साथमा खेलिने होलीको महत्त्व पनि वर्षेनि घट्दै गएको सामाजिक अभियन्ता रामबाबु यादवले बताए।

तराईका भित्री गाउँबाट समेत गरिबीका कारण अधिकांश युवा विदेशिएका छन्। त्यसैले पनि गाउँघरमा होलीको रौनक देखिँदैन भने अर्कातिर आधुनिक र भोजपुरी गीतले स्थान पाएको छ।

पुराना जोगिरा गवैयाहरूको मृत्यु भइसकेको र कतिपय बुढ्यौलीका कारण थला परेपछि जोगिराको संरक्षणमा चुनौती थपिएको छ। यसको संरक्षणका लागि सामाजिक अभियन्ता र जनप्रतिनिधिले विशेष जोड दिनुपर्ने बूढापाकाहरूको तर्क छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.