|

खोटाङ : बहुप्रतीक्षित ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको छ। उक्त जलविद्युत आयोजना निर्माणका लागि सरकारले ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिए।

दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि सरकारले आगामी वर्ष जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेको पनि बताएको छ। ओखलढुंगा र खोटाङको सीमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण भइरहेको छ।

खोटाङको रावाबेँसी गाउँपालिका–३ लामिडाँडा र ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटमा उक्त आयोजना निर्माण गर्न लागिएको हो।

आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुंगाको ९ हजार रोपनी र सोलुखुम्बुको ५ सय रोपनी जग्गा अधिग्रहण हुने आयोजनाका उपनिर्देशक सीताराम प्रखाछेँले जानकारी दिए। आयोजना सञ्चालनका लागि सरकारी जग्गाबाहेक करिब २० हजार रोपनी जग्गा अधिग्रहण हुने अनुमान छ।

खोटाङको रावाबेँसी गाउँपालिकाका ५ हजार ३ सय ४ कित्ता, ऐँसेलुखर्क गाउँपालिकाका ५ सय २२ कित्ता, ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाका २ हजार ४ सय ९ कित्ता जग्गा अधिग्रहणको काम भइरहेको छ। अधिग्रहण भएका जग्गाधनीहरुले आयोजनाले मुआब्जा दिन ढिलाइ गरेको भन्दै गुनासो समेत गरेका छन्।

आयोजनाबाट तीन जिल्लाका १ हजार १ सय ५० घरधुरी प्रभावित हुने भएका छन्। खोटाङका ६ सय ५७, ओखलढुंगाका ४ सय ७९ र सोलुखुम्बुका १४ गरी १ हजार १ सय ५० घरधुरी प्रभावित हुने भएका हुन्।

आयोजना निर्माण भएपछि वार्षिक ३ अर्ब ४४ करोड ३० लाख युनिट ऊर्जा उत्पादन हुनेछ। यसमध्ये हिउँदमा १ अर्ब ३५ करोड ८० लाख र वर्षा याममा २ अर्ब ८ करोड ४० लाख युनिट ऊर्जा उत्पादन हुनेछ। कुल ६३५ मेगावाट क्षमताको यो आयोजनाको दुईवटा विद्युतगृह रहनेछन्। एउटा ३५ मेगावाटको बाँध नजिकै बन्ने छ।

अर्को ६ सय मेगावाटको भूमिगत विद्युतगृह सुनकोशीको किनार हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा बनाइनेछ। विद्युतगृहसम्म पानी पुर्‍याउन १३.४ किलोमिटर लामो सुरुङ बन्नेछ। आयोजना निर्माणका लागि ब्याजबाहेक १ खर्ब ५३ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.