|

बागलुङ : जिल्लाको कुश्मीसेरादेखि पर्वत फलेबास जोड्ने पक्की मोटरेवल निर्माण सुरु भएको ६ वर्ष पूरा भयो, तर काम भने आधा पनि हुन सकेको छैन।

समयमा पुल निर्माण नहुँदा प्रत्यक्ष मारमा बागलुङ र पर्वतका नागरिक परेका छन्।

बागलुङ–पोखरा राजमार्गको वैकल्पिक सडकको मुख्य पुल नै लामो समयदेखि नबन्दा बागलुङ र पर्वतका हजारौँ नागरिक २० मिनेटको बाटो ३ घण्टा बढी यात्रा गर्न बाध्य छन्। यस सडक पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जा हुँदै पोखरा जोडिन्छ।

कालीगण्डकी नदीमाथी निर्माण गर्न थालिएको १०५ मिटर लामो यस पुलको ६ वर्षको प्रगति करिब ५० प्रतिशत रहेको दाबी छ।

सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर किरण पोख्रेलले हालसम्म पुलको ५० प्रतिशत काम सम्पन्न भएको दाबी गरे। ‘पुलको काम हेर्दा हालसम्म करिब ५० प्रतिशत काम सकिएको देखिन्छ,’ उनले भने, ‘वित्तीय कामको आधारमा ४० प्रतिशत सकिएको छ, अहिले त्यहाँ काम हेर्ने हो भने फाउण्डेशनको काम भएको छ, अरू पनि गर्ला जस्तो देखिएको छ।

२०७३ असोज ९ गते रसुवा श्री गीता फेवा जेभीले पुल निर्माणका लागि सम्झौता गरेको थियो। साढे दुई वर्ष भित्रमा सक्ने गरि सम्झौता भएको पुलको काम अहिलेसम्म आधा पनि पूरा नहुँदा स्थानीयले पुल बन्नेमा विश्वस्त छैनन्।

स्थानीय गोविन्द चपाई शर्माले पुल नबन्दा दक्षिण बागलुङ जनताले ठूलो सस्ती खेप्नु परेको बताउनुहुन्छ। शर्माले यहाँका हजारौँ नागरिकलाई पोखरा पुग्न यस सडक मार्फत धेरै छिटो हुने भन्दै अहिले बागलुङ पुगेर जानुपर्ने अवस्था रहेको बताए। पुल बने फलेबास, कार्कीनेटा हुँदै पोखरा पुग्न सकिने उनको भनाइ छ।

‘यो पुल नबन्दा यस क्षेत्रका हजारौँ नागरिकले दुःख पाएका छन्, यहाँबाट पुल तरेर पारी जानलाई २० मिनेट लाग्छ, गाडीबाट जाने हो भने बागलुङ मालढुङ्गा हुँदै जानु पर्छ, त्यसरी जाँदा झण्डै तीन घण्टा बढी लाग्छ,’ शर्माले भने, ‘यो पुल बन्यो भने त यहाँका जनता पोखरा काठमाडौँ जानलाई मालढुङ्गा बागलुङ पुग्नै पर्दैन, यतैबाट छिटो हुन्छ।’

पछिल्लो पटक २०७८ चैत्र मसान्तभित्र काम सम्पन्न गर्ने गरि म्याद थप गरिए पनि प्रभावकारी रुपमा काम भने अघि बढ्न सकेको छैन। समयमै काम सम्पन्न नभएपछि पुनः म्याद थप्ने तयारी ठेकेदार कम्पनीको छ। 

ठेकेदार कम्पनीका सुपरभाइजर शेर बहादुर भण्डारीले आवश्यक मेसिन ल्याउन समस्या हुँदा समयमै काम सक्न नसकेको बताए। उनले अहिले आवश्यक मेशिनहरू आइसकेको र काम पनि तीव्र गतिमा भएको बताउछन्।

उनले जमिनमुनि ४८ वटा पिल्लर निर्माण गरिसकेको भन्दै अहिले माथि दुईवटा पिल्लर ठडाइ सकेको बताए।

‘सुरुमा आवश्यक मेसिनहरु ल्याउनका लागि समस्या भयो, त्यसले गर्दा काम गर्न गाह्रो भएको थियो, अहिले मेसिन लिएका छौँ, जमिनमुनि ४८ वटा पिल्लर निर्माण गरिसकेको छ’ भण्डारीले भने, ‘अहिले माथि दुई वटा पिल्लर ठडाइ सकेको, काम तीव्र गतिमा भइरहेको छ।’

१३ करोड १२ लाख ४९ हजार ३६४ रुपैयाँ लागतमा निर्माण थालिएको थियो। कालीगण्डकी करिडोरमा जोडिने यो पुलले पर्वत, स्याङ्जा र पोखरालाई समेत करिडोरको पहुँचमा ल्याउनेछ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.