|

सोलुखुम्बु : सोलुखुम्बुका ४ राजनीतिक दलले उम्मेदवार सिफारिश गरेका छन्।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुबाट ४ राजनीतिक दलले प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार नाम सिफारिश गरेका हुन्।

नेपाली कांग्रेस सोलुखुम्बुले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य आङगेलु शेर्पाको एकल नाम सिफारिश गरेको छ।

समानुपातिकतर्फ केन्द्रीय सदस्य बलबहादुर केसीसहित ८ जनाको नाम सिफारिश गरेको जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाले जानकारी दिए।

प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ पूर्वपार्टी सभापति विनोदकुमार बस्नेतसहित ७ जना र समानुपातिकतर्फ १३ जनाको नाम सिफारिश गरिएको छ।

प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ प्रदेश सभापति कर्मा शेर्पासहित ३ जना र समानुपातिकतर्फ ९ जनाको नाम पठाइएको छ।

नेकपा एमाले सोलुखुम्बुले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मानवीर राई सर्वसम्मत उम्मेदवार सिफारिश गरेको छ। समानुपातिकतर्फ सूर्यकुमारी सुनुवार र दाडोमा शेर्पाको नाम सिफारिश गरेको जिल्ला कमिटीका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए।

प्रदेशसभा ‘क’ को प्रत्यक्षमा २ जना र समानुपातिकतर्फ ६ जनाको नाम सिफारिश भएको छ। प्रदेशसभा ‘ख’ को प्रत्यक्षमा ४ जना र समानुपातिकमा ५ जनाको नाम सिफारिश भएको छ।

नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आङङिमा लामालाई एकल सिफारिश गरेको छ। समानुपातिकमा २ जना सिफारिश गरेको छ।

प्रदेशसभा ‘क’ बाट प्रत्यक्षमा २ जना र समानुपातिकमा २ जना सिफारिश गरिएको छ। प्रदेशसभा ‘ख’ बाट प्रत्यक्षतर्फ दोर्जी सुशील शेर्पा र समानुपातिकतर्फ २ जनाको नाम सिफारिश गरिएको जिल्ला सचिव डिल्ली राईले बताए।

जनता समाजवादी पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षमा केन्द्रीय राजनीतिक समिति सदस्य ल्हाक्पा शेर्पा र समानुपातिकतर्फ २ जना सिफारिश गरेको छ।

प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ ३ जना र समानुपातिकतर्फ ३ जनाको नाम पठाइएको छ। प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ ३ जना र समानुपातिकतर्फ ४ जनाको नाम सिफारिश गरेको जिल्ला अध्यक्ष नरेन्द्र मगरले बताए।

नेकपा माओवादी केन्द्रले भने केही दिनभित्र नाम सिफारिश गर्ने जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.