अझै ३ सयजना प्रत्यारोपण गर्ने पालोको पर्खाइमा

|

काठमाडौं : भक्तपुरस्थित धर्मभक्त प्रत्यारोपण केन्द्रले मिर्गौला प्रत्यारोपण गर्न थालेयता हालसम्म १ हजार जनाको मिर्गौला प्रत्यारोपण गरेको छ। पहिलो पटक २०६९ माघ ६ गते प्रत्यारोपण गरेको केन्द्रले १० वर्षमा १ हजार ४८ जना मिर्गौला बिग्रिएका बिरामीमा नयाँ मिर्गौला प्रत्यारोपण गरिएको केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए।

डा श्रेष्ठका अनुसार पछिल्लो केही वर्षअगाडि केन्द्रले वार्षिक २ सयको हाराहारीमा मिर्गौला प्रत्यारोपण गरेकोसमेत बताए। ‘यो १० वर्षमा हामीले हजारभन्दा बढी बिरामीको मिर्गौला प्रत्यारोपण गर्न सफल भएका छौँ, यो हामी सबैको सफलता हो‚’ उनले भने।

हाल डा. श्रेष्ठको नेतृत्वमा धर्मभक्त प्रत्यारोपण केन्द्र, वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदै आएको छ । गत १० वर्षको अवधिमा १ हजारको प्रत्यारोपण गरिएकोमा ९९ प्रतिशत सफलता मिलेको केन्द्रले जनाएको छ।

३ सय जना बिरामी प्रत्यारोपणको पालो पर्खिइरहेका समेत केन्द्रले जनाएको छ।

विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार प्रत्येक १० जनामध्ये १ जनालाई कुनै न कुनै किसिमको मिर्गौला रोग लाग्ने गरेको छ। नेपालमा पनि वर्षेनि करिब ३ हजार जनाको मिर्गौला बिग्रिने गरेको र उनीहरूमध्ये धेरैको मिर्गौला फेर्न नपाउँदा अकालमै मृत्यु हुने गरेको छ।

अंग प्रत्यारोपण ऐन, २०७२ अनुसार नेपालमा परिवारका सदस्य र नजिकका नातेदारले मिर्गौला दान गर्न सक्ने व्यवस्था छ। ऐनमा पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बुबा, आमा, धर्मपुत्री वा धर्मपुत्र राख्ने बाबुआमा, सौतेनी बुबा, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनीले मिर्गौला दिन सक्छन्।

यसका साथै ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबुबा, सानीआमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देवर, देवरानी, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ, जेठानले पनि मिर्गौला दिन सक्छन् ।

तर धर्मपुत्र, धर्मपुत्री, धर्मपुत्र राख्ने बुबाआमा र वैवाहिक सम्बन्धबाट कायम भएको नाता–सम्बन्धको हकमा कम्तीमा २ वर्षदेखि अटुट रूपमा नाता–सम्बन्ध कायम रहेको अवस्थामा मात्रै मिर्गौला दान गर्न पाइने ऐनमा व्यवस्था गरिएको छ।

नेपालमा मस्तिष्क मृत्यु (ब्रेन डेथ) पश्चात दान गरिएका अंग प्रत्यारोपण गर्न सकिने व्यवस्था भएता पनि हालसम्म नगन्य संख्यामा मस्तिष्क मृत्युपश्चात अंग दान भएको छ।

समयमै मस्तिष्क मृत्यु भएको जानकारी प्राप्त नहुँदा ब्रेन डेथ भएका व्यक्तिको अंग झिकेर अर्काकोमा प्रत्यारोपण गर्न सकिने कानुन ल्याएको ६ वर्षमा जम्मा ४ जना अंगदाताबाट प्राप्त ८ वटा मिर्गौला र २ वटा कलेजो मात्र प्रत्यारोपण हुन सकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.