|

हनुमाननगर : भारत रेलसेवा सञ्चालनको माग गर्दै सीमावर्ती क्षेत्र कोशी ब्यारेजको नेपाल र भारत दुवैतर्फका स्थानीयले आन्दोलन गर्ने भएका छन्।

कोशी ब्यारेजस्थित नेपाल—भारत सीमामा बसेको ब्यारेजको दुवैतर्फका बासिन्दाका प्रतिनिधिहरूले रेल सेवा सञ्चालन गर्न माग गर्दै आन्दोलन गर्ने निर्णय गरेका हुन्। रेल सञ्चालनका लागि भारतीय पक्षले नेपाली पक्षको समेत समर्थन जुटाएर संयुक्त आन्दोलन गर्ने भएका छन्।

सन् २०११ मा सम्पन्न कोशी सम्झौताअनुसार विसं २०१६ देखि २०४० सालसम्म भारतको भीमनगर हुँदै धरानको फुस्रेसम्म सञ्चालित रेल्वे ट्रयाककै प्रयोग गरेर फेरि रेल सञ्चालनमा ल्याउन दबाब सिर्जना गर्ने गरी आन्दोलनको तयारी हुन लागेको भारतीय रेल आन्दोलन संघर्ष समितिका अध्यक्ष मोहनप्रसाद रस्तोगीले बताए।

प्रदेश १ का पूर्व पर्यटनमन्त्री जगदीश कुसियतले नेपाल—भारत संयुक्त रेल सेवा आन्दोलनको आवश्यकता महसुस भएकाले संयुक्त आन्दोलनमा उत्रन लागेको बताए। उनले धार्मिक पर्यटनसँगै रोजगारी र विकासका लागि दुई देशीय रेल सञ्चालन आवश्यक रहेको बताए।

भीमनगरसम्म रेल मार्ग जोडिनुपर्ने भन्दै एक दशकयता सो क्षेत्रका बासिन्दा भारत सरकारविरुद्ध संघर्षरत छन्। कोशी ब्यारेजमा सम्पन्न भारतको वीरपुर, भीमनगर, बसमतीयासहित सीमावर्ती क्षेत्रका पूर्वसांसद, विधायक, सरोकारवाला र मुखिया सम्मिलित भेलाले भारतीय संघर्ष समिति विस्तार गरी अघि बढ्ने निर्णय गरेको छ।

कोशी प्रोजेक्टअन्तर्गत भारतले सुनसरी र सप्तरीको सिमानामा पर्ने भीमनगरदेखि धरानको रेल्वे लाइन र चकरघट्टीदेखि चतरासम्म ४७ किलोमिटर रेल सञ्चालनमा ल्याएको थियो। त्यसबखत कोशी ब्यारेज पुल बनाउन ढुङ्गा ओसार्न भारतको भीमनगरबाट छुट्ने रेलका लागि नेपालतर्फको कुशाहा, मधुवन, चक्रघट्टी, चतरा, बाङ्गे र घोपा क्याम्पमा रेल स्टेशन राखिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.