|

काठमाडौं : जीर्ण बनेको लामो समयपछि ऐतिहासिक ‘त्रिचन्द्र कलेज’ को पुनर्निर्माण तथा प्रबलीकरण (रेट्रोफिटिङ) शुरू भएको छ। भवन पुनर्निर्माणको ठेक्का ‘न्यु टेक्निकल इन्फ्रा प्रालि’लाई दिइएसँगै कम्पनीले यतिखेर धमाधम पुनर्निर्माण तथा प्रबलीकरण गरिरहेको छ। 

पुनर्निर्माण भइसकेपछि नेपालकै उच्च शिक्षाको पहिलो केन्द्र त्रिचन्द्र कलेजले पुनः पुरानै स्वरूप र नयाँ संरचना पाउनेछ। सकेसम्म पुरानै सामग्रीहरूको परीक्षण गरि प्रयोग गरिनेछ।

तीन वटै भवनको जग कंक्रिटको बनाइने र भवनको भित्री भागलाई सपोर्ट हुने गरी रड/छडको सहायतामा टाइबीम राखिनेछ। जगमाथिका भागहरूमा चुनासुर्की प्रयोग गरिनेछ। प्रबलीकरण गरिने भवनमा पुरानै बुट्टाहरू बनाइनेछ

शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) का निर्देशक कोषनाथ अधिकारीका अनुसार उत्तरपट्टिको एउटा भवन भत्किएको छैन। प्लाष्टर गरिएको भाग छ। त्यो भवनको प्रबलीकरण हुन्छ। बाँकी अरू दुई भवन भने भत्काएर पुनः पुरानै स्वरूपमा संरचना बनाइनेछ।

उनले ३४ करोड ६९ लाख रूपैयाँमा निर्माण गर्न ठेक्का सम्झौता भएको उनले बताए। अबको २ वर्षमा सबै काम सम्पन्न गर्ने गरि ठेकेदार र केन्द्रीय आयोजना कार्यान्वयनबीच ठेक्का सम्झौता भएको जानकारी उनले दिए।

भूकम्पको ७ वर्षपछि पुनर्निर्माण

पहिले नै जीर्ण भइसकेको ऐतिहासिक त्रिचन्द्र कलेज २०७२ सालको भूकम्पपश्चात् झनै जीर्ण भएको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २०७२ मा बनेको राष्ट्रिय पुनर्निर्माण तथा पुनःस्थापना नीतिमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्षतिग्रस्त केन्द्रीय प्रशासनिक भवन र केन्द्रीय पुस्तकालय भवनको विस्तृत प्राविधिक परीक्षणपछि पुनर्निर्माण तथा मर्मतसम्भार गर्ने उल्लेख थियो।

तर प्राधिकरणको म्याद सकिए पनि कलेजको पुनर्निर्माणले पूर्णता पाएन। प्राधिकरणको ६ वर्ष कलेजको पुनर्निर्माणका लागि नाप जाँच गर्नमै बित्यो। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत वर्ष भदौमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै मुलुकको सबैभन्दा पुरानो त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गर्न प्रबन्ध गर्ने बताएका थिए। 

तर पनि समयमा कलेजको पुनर्निर्माण हुन सकेन। कलेज झार जंगलले ढाक्यो, कहीँ संरचना नै भत्किए। वर्षौंदेखि यो अवस्थामै रहेपछि सरकारको चौतर्फी आलोचना र कलेज पुनर्निर्माणको माग उठ्यो। विद्यार्थीहरू विरोध नै गर्न बाध्य भए।

गत जेठ ३१ गते कलेज अगाडि सडकमै पढाइ गरेर विरोध प्रदर्शन गरेका थिए। त्यसपछि तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले यही आर्थिक वर्षमा त्रिचन्द्र कलेजलगायत त्रिविको अन्य आंगिक क्याम्पसको पुनर्निर्माण थाल्ने प्रतिबद्धता जनाएका थिए। 

उनले एक्जिम बैंकको सहयोग प्रक्रिया ढिला भएकाले स्वदेशी बजेटले कलेज पुनर्निर्माण गर्ने बताएका थिए। अन्ततः भूकम्पको ७ वर्षपछि निर्माणको काम थालिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार अर्थ मन्त्रालयले उक्त क्याम्पसलगायत अन्य ३७ वटा कलेजको पुनर्निर्माणको डिजाइनका लागि मात्रै साढे ६ करोड बजेट विनियोजन गरेको छ। सोहीअनुसार डिजाइन बनेर काम थालिएको हो।

यसरी व्यवस्थित गरिँदै विद्यार्थी

त्रिचन्द्र कलेजका सहायक क्याम्पस प्रमुख तथा सूचना अधिकारी बालकृष्ण पौडेलले कलेज पुनर्निर्माणको काम भएकोमा खुशी व्यक्त गर्दै सुरक्षित स्थानमै विद्यार्थीहरूलाई व्यवस्थित गरि पढाउने वातावरण मिलाएको बताए।

उनका अनुसार अहिले त्रिचन्द्र कलेजमा करिब ७ हजार विद्यार्थी अध्ययन गर्दै आएका छन्। उक्त जीर्ण बनेको भवनमा काम भएकाले प्रवेश निषेध गरिएको छ। ‘अहिले रानीपोखरी साइडको सरस्वती सदन भवनमै भौतिक संरचनाको व्यवस्था गरि पठनपाठन भइरहेको छ,’ उनले भने। त्यही सदनपछाडि प्रि-फ्याब भवन बनाएर त्यहाँ पनि कक्षा सञ्चालन गर्ने तयारी गरिएको उनले बताए। 

इतिहासकालीन त्रिचन्द्र कलेज

राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालामा विसं १९७५ मा त्रिचन्द्र कलेज स्थापना भएपछि नै नेपालमा विधिवत् रूपमा उच्च शिक्षा आरम्भ भएको थियो। विसं १९७६ भदौ ५ मा विधिवत रूपमा त्रिचन्द्रमा आइए र आइएससीका तथा विसं १९८१ देखि बिए र २००४ सालदेखि बिएससीको पठनपाठन सुरू भएको थियो।

तर २०१६ सालमा नेपालको आफ्नै विश्वविद्यालय नखुलेसम्म त्रिचन्द्रको सम्बन्धन पटना विश्वविद्यालयसँग थियो। परीक्षालगायत शैक्षिक मान्यता सोही विश्वविद्यालयअन्तर्गत दिइन्थ्यो।

यही कलेजबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल लगायतले उच्चशिक्षा हासिल गरेका थिए। 


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.