|

धनकुटा : पाख्रिबास नगरपालिकाको प्रमुख र उप्रमुखबीचको मनमुटावका कारण सेवाग्राही मारमा परेका छन्।

यहाँ नेपाली काग्रेसका ज्ञानबहादुर गुरुङ नगरप्रमुख छन् भने उपप्रमुखमा नेकपा एमालेकी नम्रता गौतम। गुरुङ र गौतमबीचको तालमेल नहुँदा नगरपालिकामा सुरुदेखि नै समस्या छ। 

नगरप्रमुखले कुनै सरसल्लाह नै नगरी विभिन्न एजेण्डा बैठकमा ल्याउने र एकलौटी ढंगबाट अगाडि बढ्दा समस्या भएको आरोप लगाउँछिन्, उपप्रमुख गौतम। ‘सुरुदेखि नै सबै कुरा एकलौटी तरिकाले हुन थालेपछि स्वीकार्न सकिएन’, उनले भनिन्, ‘त्यसैले समस्या देखिएको हो।’  

यता प्रमुख गुरुङ भने काम गर्न नपाएको गुनासो गर्छन्। कार्यपालिकामा आफू अल्पमतमा रहेकाले  प्रत्येक पटकको बैठकमा उपप्रमुखलगायत कहिले बैठकमै उपस्थित नहुने र भइहाले धम्की दिने गरेको गुनासो प्रमुख गुरुङको छ। ‘कहिले उपस्थित नहुने, कहिले घुर्क्याउने, कहिले बैठकमा कोरम नै पुग्न नदिने लगायत दुःख दिने काम भइरहेको छ’, प्रमुख गुरुङले भने।

तर, अहिले परीस्थीति सहज बन्दै गएकाले पहिलेको जस्तो विवाद नरहेको गुरुङको भनाइ छ। अहिले कर्मचारीको विषयमा मात्र विमति रहेको उनले बताए। यो आर्थिक वर्षमा  पाख्रिवास नगरपालिकामा करारका २२ जना कर्मचारी निकालिएका थिए। त्यस्तै ५३ जना करारका कर्मचारीको अहिलेसम्म करार नवीकरण भएको छैन। प्रमुख र उपप्रमुखबीच कर्मचारीकै कारणबाट विवाद सुरु भएको थियो। निकालिएका तथा करार थप नगरिएका सबै कर्मचारी पुन:स्थापना गर्नुपर्ने उपप्रमुखको माग छ। 

प्रमुख र उपप्रमुखबीचको बिवाद साम्य हुन नपाउँदै प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेका कारण थप समस्या भएको छ।  प्रमुख प्रशासकीय अधिकृत पाँच महिनादेखि नहुँदा नगर क्षेत्रका सेवाग्राही समस्यामा परेका छन्। प्रशासकीय अधिकृत नभएकै कारण नगरपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका आयोजना समेत प्रभावित हुँदै आएको सरोकारवालाको गुनासो छ। ०७९ असोज १३ गते तत्कालीन सांसद तथा हालका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राईले फोनमार्फत धम्की दिएपछि प्रमुख प्रशासकीय अधिकृत प्रकाश राज पौडेल नगरमा बस्न नसकेको भन्दै काजमा सामान्य प्रशासन मन्त्रालय गएका छन्। 

पौडेलले काजमा मन्त्रालय जाँदा ५ जनालाई निमित्तको जिम्मेवारी दिएर गएको पाइएको छ। पौडेलले प्रशासन प्रमुख सन्तोष राई, योजना प्रमुख ओम आले, इन्जिनियर नरेन्द्रकुमार लिम्बू र भेटेरिनरि तथा पशु शाखा प्रमुख गोर्खबहादुर तामाङ र स्वास्थ्य शाखा प्रमुख वसन्त निरौलालाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिएर गएको पाइएको छ। 

तत्काल काम चलाउन नगरपालिकाले समान्य प्रशासन मन्त्रालयसँग सहयोग मागे पछि मन्त्रालयले गोर्खबहादुर तामाङलाई आर्थिक अधिकार सहितको निमित्तका जिम्मेबारी दिएको थियो तर अहिले  प्रमुख प्रशासकिय अधिकृत पौडेल मन्त्रालयमै सरुवा भएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसँगै निमित्त प्रमुख प्रशासकीय अधिकृत बिहीन बनेको छ। निमित्त प्रमुखको आर्थिक अधिकार खोसिदा समस्या भएको नगर प्रमुख गुरुङले बताए। नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत को आउने भन्ने टुंगो नभएको गुरुङको भनाइ छ।

जनप्रतिनिधिबीचको विवाद,  प्रमुख प्रशासकीय अधिकृत नबसिदिनु जस्ता समस्याको असर अहिले देखिन थालेको स्थानीयवासी पाख्रिवास नगरपालिका ४ को स्थानिय हेमलता तिम्सीनाले बताइन्। नगरपालिकामा जनप्रतिनिधि विवादमा पर्ने र त्यसको दबाब प्रमुख प्रशासकीय अधिकृत चेपुवामा पर्ने हुँदा बस्ने समस्या भइरहदा सम्पूर्ण विकास निर्माणमा समस्या हुँदै आएको पाख्रिबास नगरपालिका–४ का स्थानीय दीपक कार्कीले गुनासो गरे। जनप्रतिनिधि जुगाँको लडाइँमा नलागि सबै समस्या समाधान गरी जनताको हितमा काम गर्न स्थानीयको माग छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.