|

काठमाडौं :  चुरे मुहान भएर बग्ने नदी, ताल तलैया धेरै भएको सुदुरपश्चिमको कैलाली जिल्लाको कैलारी गाउँपालिका जिल्लामा नै सबै भन्दा बाढी प्रभावित क्षेत्र हो। गाउँपालिकाको धेरै स्थान ओगटेको विशेष गरेर मोहना र घुरा नदीका कारण पनि यो गाउँपालिका प्रभावित भएको हो।

कैलारी गाउँपालिकाको प्रमुख नदीका रुपमा करिब १५ किलोमिटर लम्बाइ ओगटेको मोहना नदी १० किलोमिटरमा धुराहा, गुरही नदी तथा लिक्मा, कटैनी, सुर्मी र मुर्कुला नदी २० किलोमिटर क्षेत्रमा फैलिएका छन्। सातिना छोडेर गाउँपालिकाले सूचीमा नै राखेका तालहरू ३० वटा छन्।

कैलाली जिल्लाको सबै भन्दा बढी जनसंख्या रहेको यस गाउँपालिकाको कुल २ सय ३३ वर्ग किलोमिटर क्षेत्र मध्ये झण्डै ४३ किलोमिटर क्षेत्र नदीनालाले ओगटेका छन्। ३० वर्ग किलोमिटर क्षेत्र तालतलैयाले ओगटेका छन्। नदीनाला र तालतलैयाको संख्या र तीनले ओगटेको क्षेत्रफलबाट पनि सजिलै भन्न सकिने अवस्था छ कि यो गाउँपालिका बाढी र डुबानबाट निकै प्रभावित क्षेत्र हो। गाउँपालिकाकाले चालू आर्थिक वर्ष २०७९-८० का लागि विनियोजित रकम ६२ करोड ७५ लाख १५ हजार रुपैयाँ मध्येबाट वन वातावरण तथा विपद् व्यवस्थापनमा २ करोड १५ लाख रुपैयाँ छुट्याएको छ।

संघ र प्रदेशको बाहेक पछिल्लो ३ आर्थिक वर्षमा गाउँपालिकाकाले विपद व्यवस्थापनमा मात्रै डेढ करोड बढी खर्च गरेको छ। वन वातावरण संरक्षण, नदी नियन्त्रण, जैविक तथा भौतिक तटबन्ध लगायतमा २०७८-०७९ र २०७७ -०७८ मा ४ करोड बढी खर्च भएको छ। तर उपलब्धि शून्य जस्तै छ। प्रत्येक वर्ष मोहना, धुराहा, गुरही लगायत नदीमा आएको बाढीबाट ठूलो क्षति हुने गरेको छ। गाउँपालिकाले विभिन्न गैरसरकारी संस्थाको सहयोगमा पूर्वसुचना प्रणालीको व्यवस्था गरेकाले मानवीय क्षति रोकिएको छ।

 तर बाढीले नदी तटिय क्षेत्रका घरै बगाउने भएकाले भौतिक सम्पत्तिको क्षति ठूलो हुने गरेको छ। मोहना नदीले बर्षेपिच्छे धार परिवर्तन गर्ने भएकाले कृषियोग्य जमिन कटान र सम्भावित बाढीको पूर्व आकलन गर्न नसक्दा समस्या भएको स्थानीय बताउँछन्। मोहनपुर वडा नम्बर ३ का स्थानीय सितल प्रसाद डगौरा उत्तरबाट आएको घुरा नदी र दक्षिणबाट आएको मोहना नदी एकैस्थानमा मिसिँदा वर्षादको समयमा मोहनपुर वस्तीसम्म डुबाउने बताउँछन्।

उनी भन्छन्,'मान्छे ओहोरदोहोर गर्न धेरै अप्ठ्यारो हुन्छ। झोलुङ्गे पुल नभएर। बालबच्चाको पढाइ पनि ३ महिना स्थगित हुन्छ। एकपटक बाढीका कारण डुंगा नचल्ने अवस्था हुँदा सुत्केरीको यही ज्यान गुमेको थियो। ठोकर्ना भएर बिजुलीको पनि समस्या छ।'

मोहना नदीले कैलारी गाउँपालिकाको वडा नम्बर ३ मोहनपुरमा सबै भन्दा बढी क्षति पुराउने गरेको छ। मोहनपुर भारतसँग सीमा जोडिएको छ। वर्षादमा नदीमा बाढी आउँदा नेपालसँगको सम्पर्क नै विच्छेद हुन्छ र त्यहाँका स्थानीय भारतीय जंगलमा आश्रय लिन पुग्छन्। उच्च जोखिम रहेको जानकारी पाएर पनि गाउँपालिकाले कमैया लगायत सुकुम्बासीलाई मोहना नदीको तटिय क्षेत्रमा नै बसोबासको व्यवस्था गर्दै आएको छ।

वैकल्पिक स्थान नभएकाले त्यसो गर्न परेको गाउँपालिका अध्यक्ष राजसमझ चौधरी बताउँछन्। 'वास्तवमा यो कैलारी गाउँपालिका यो जिल्लामै सबैभन्दा बाढीपीडित एरिया हो। अहिले पनि १६ घर परिवार टेन्टमा जंगलमा हामीले बसालेको अवस्था छ। गत वर्ष मात्रै यो गाउँपालिकामा एउटा झोलुंगे पुल समेत बगाएर लगेको छ।

यो गाउँपालिकाको वडा नम्बर ३ को शिवरत्नपुरमा १६ घर परिवारसहितको वस्ती नै बगाएको थियो', उनले भने, 'अहिले हामीले उहाँहरूलाई जंगलमा बसोबासको व्यवस्था गरेका छौं। खासगरी यो कैलारी गाउँपालिकाको मोहनपुर, शिवरत्नपुर, हौसलपुर, अनि त्यसपछि वडा नम्बर ५ को बैसपुर लगायतका ठाउँमा बाढि प्रभावित क्षेत्र हो। अहिले पनि वडा नम्बर ८ को बाढीले गर्दा एउटा झोलंगे पुल पनि खतराको अवस्थामा छ।'

 यो कैलारी गाउँपालिकामा मोहना, घोरहा, कटैनी, सुर्मीलगायत नदीहरू भएको कारणले गर्दा अवस्था नाजुक छ। र, यो कैलारी गाउँपालिका वास्तवमा बाढीले गर्दा ३-४ वटा गाउँ, मोहनापारी हाम्रो बोर्डरमा बस्ती छ। त्यसमा वर्षाको बेलामा एकदमै समस्या हुन्छ। किनभने त्यहाँ पुल पनि छैन, त्यो नदीमा। उता फेरी भारतको सीमाना परेको कारणले गर्दा उनीहरूलाई एकदमै समस्या हुने उनले बताए।

'मोहनपुरमा एक जना पूर्व सूचना दिनका लागि राखिएको छ। यो नदीमा छेउछाउनमा जति पनि बस्तीहरू छन्, त्यो ठाउँमा सूचना जारी गर्नका लागि पनि हामीले व्यवस्था गरेका छौँ। हामीले नदीको छेउछाउमा पनि बस्ती बसालेको अवस्था छ। हामीलाई थाहा छ–यो ठाउँ डुबान एरिया हो',उनले भने, 'तर हामी मुक्त

कमैया लगायत सुकुम्बासीलाई बस्ती बसाल्दाखेरी पनि त्यही नदीको छेउमा हामी बसाल्छौं। त्यो बस्तीलाई अन्तै सार्नुपर्छ भनेर मैले जिल्लाको विपद् व्यवस्थापन समितिमा पनि कुरा राखेका थिएँ। यो गाउँपालिकाको ५-६ वटा बस्ती एकदमै अप्ठ्यारो अवस्थामा हो।  खाली राहत मात्रै दिने अवस्था मात्रै भएको छ। गत वर्ष पनि यो एरिया पूरा डुबानमा थियो। र, यो भन्दा अगाडि पनि हाम्रो यो गाउँपालिका लगभग पूरा डुबानको अवस्थामा थियो।’

प्रत्येक वर्ष आएको बाढीका कारण गरिबी बढाएको भनेर गाउँपालिकाकाले मालपोत शुल्कमा ५० प्रतिशत मिनाहा दिएको छ। अध्यक्ष चौधरी चुरे मुहान भएका धेरै नदी र तीनको बहावको प्रकृति पनि परिर्वतन भईराख्ने भएकाले पुरै क्षेत्रमा नै तटबन्ध गर्नुपर्ने तर्क गर्छन्।

 तटबन्धमा खर्च बढी लाग्ने भएकाले जोखिमयुक्त वस्तीहरूलाई सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव आफ्नो रहेको उनले बताए। पछिल्लो समय असार साउनमा नभइ असोज कात्तिकमा बाढी आउने गरेकाले काटिसकेको धान पनि भित्र्याउन नपाउने र घर भित्रको अन्न पनि डुबानका कारण क्षति पुगेपछि जोखिम प्रभावितहरूको आर्थिक अवस्था हरेक वर्ष शुन्यमा पुग्ने गर्दछ।

वर्षभरीका लागि जोहो गर्ने धानखेती नै प्रभावित भएपछि पेट पाल्नै समस्या हुने गरेको छ। 'बाढी प्रभावित क्षेत्रहरूमा एकदमै गरिवी छ। आर्थिक अवस्था नाजुक नै छ। अहिले पनि १६ घरपरिवारको एकधुर पनि जमिन छैन। अव स्थानीय सरकारको सीमित स्रोत, साधन हुन्छ।

मोहना जस्ता ठूलठूला नदीका कारण बजेटको कमीले तटबन्ध निर्माणको काम सकेका छैनौं। पूरै एरियानै तटबन्धको व्यवस्था गर्नूपर्ने हुन्छ।  बाढी खास गरी असार, साउन र भदौंमा आउनु पर्ने हो। तर, असोज, कात्तिकमा पनि आएको देखिन्छ। खैं के भएर हो, साउन जतिबेला पानी पर्नु पर्ने हो, त्यो बेला पानी नपरेको अवस्था छ', अध्यक्ष चौधरी भन्छन्, 'अब प्रत्येक वर्ष असोज, कार्तिकमा आउँछ बाढि। त्यो पनि धान काटिसकेको अवस्थामा घरमा भित्र्याउने बेलामा बाढि आएको अवस्थाले गर्दा झन नोक्सान भइराखेको छ। बाढी प्रभावित बस्तीलाई अर्को ठाउँमा राख्दा उपयुक्त हुन्छ। हाम्रो ४ वटा बस्ती एकदमै अप्ठ्यारो अवस्थामा छ।

त्यसलाई अन्त व्यवस्थापन गर्दाखेरी हुने हो। कित  मोहना, घुरा जस्ता ठूलो नदी नियन्त्रण गर्न त एकदमै गाह्रो छ। बजेट नै धेरै चाहिन्छ। त्यसकारण बस्ती नै सुरक्षित ठाउँमा सार्न नै राम्रो हुन्छ।’

मोहना लगायत चुरे मुहान भएर बग्ने नदीहरूले बर्षेनी ठूलो क्षति पुराउँदै आइरहेका बेला विज्ञहरूले चुरे मुहान भएर बग्ने नदीहरूले पुराउने क्षति न्यूनीकरणका लागि नदी बहावको प्रकृति र भौगोलिक अवस्थाको विश्लेषण गरि विपद् व्यवस्थापन योजना बनाउनुपर्ने सुझाव दिएका छन्।

विशेष गरेर मोहना नदीले हरेक वर्ष धार परिवर्तन गर्ने गरेको अध्ययनहरूले देखाएको भन्दै सम्बन्धित विज्ञहरूको परामर्शका आधारमा मात्रै योजना बनाउन सुझाव दिएका हुन्।

विपद् विज्ञ डाक्टर गंगालाल तुलाधरले मोहना नदी नियन्त्रणका लागि लगाइएको तटबन्ध लगायतका कामहरू विज्ञान अनुसार हुन नसकेको टिप्पणी गरे।

उनले भने, 'विज्ञान अनुसार काम हुन नसकेको भन्छु म। एकीकृत प्रक्रियाको सोचबाट जानुपर्ने देखिन्छ। सिभिल इन्जिनियरिङका विज्ञहरू,विपद् व्यवस्थापनका विज्ञहरू र भुगर्वविद्हरु पनि संलग्न भएर काम गर्ने कुराको अभाव भएको देखिन्छ। विज्ञानमा आधारित विपद् जोखिम संवेदनशील पक्षलाई आत्मसाथ गरेर अघि बढ्न सकिएन भने विकासको गति एकातिर जाने र विपद्को गति अर्कोतिर हुने र सम्पूर्ण रुपमा विकासका सबै संरचनाहरू ध्वस्त हुने वा हामी कहीँ पनि नपुग्ने हुन्छ। चुरेलाई उद्गम स्थल बनाएर बगेका कयौ नदीहरू छन्। ती नदीहरूको दुई वटा समस्या एकैचोटी हामीले देखेका छौँ।'

एकातिर चुरे दोहन भएको छ। साथसाथै ओझेलमा परेको कुरा त्यसबाट बग्ने नदीहरूले बगाएर ल्याउने ग्रेगानहरूको उचित व्यवस्थापन हुन नसक्दा उर्वरा जमिनहरू मरुभूमिकरण भएर गइरहेको स्थिति छ। चुरे भएर बग्ने नदीहरूले तराई मधेसमा यो समस्या श्रृजना गराइरहेको उनले बताए।

'मोहनाको मात्रै समस्या हो कि जस्तो लाग्छ तर सयौँ यस्ता नदीहरूले समस्या निम्त्याएको यही नै हो। मोहना जलाधार क्षेत्रमा भारी वर्षा भएको र वर्षा कम भएको बेलाको पानीको मापन गरेर स्थायी तटबन्ध वा दिगो समाधानका उपायहरू खोज्नुपर्ने हो। तर त्यहाँ सरकारका साधन र स्रोतहरू धेरै नै खर्च भएको छ फेरि

पनि परिणाम सकारात्मक आउन सकेको छैन', उनले भने, 'हरेक विज्ञहरू एक स्थानमा आएर विज्ञानले दिएको प्रमाणमा आधारित भएर रणनीति र योजना बनाउने काम गर्नुपर्छ। विपद्का बहुरूपी परिघटनाहरू व्यहोर्नु परिरहेको छ। सबै प्रकारका विज्ञहरू संलग्न भएर विज्ञानमा आधारित भएर दिर्घकालिन समाधानको उपाय निकाल्नुपर्छ।'

जलवायुविज्ञ डाक्टर धर्मराज उप्रेती चुरे क्षेत्रको कमजोर संरचना वन विनाश, जलवायु परिर्वतनको असर तथा चुरेबाट बग्ने नदीको संरचना विश्लेषण गरेर मात्रै योजना बनाउँदा समस्याको दीर्घकालिन समाधान निकाल्न सकिने बताए।

गाउँपालिकाले हौसलपुर र मोहनपुर जोड्ने मोहना नदीमा झोलुगे पुल निर्माणका लागि संघीय सरकारसँग माग गरेको छ। स्थानीयले पनि पुल निर्माण गरिँदै छ भन्ने सुन्न थालेको धेरै भइसक्यो तर पुल निर्माणको काम थालनी समेत भएको छैन।

उनीहरू हिउँदको समयमा काठको साँघु बनाएर मोहना नदी तर्ने गर्छन् । नदीमा पानीको बहाव बढेपछि जलमग्न हुन्छ अनि उनीहरूको नेपालसँगको सम्पर्क विच्छेद हुन्छ।

मोहनपुरबासी भारतीय सीमा क्षेत्रको जंगलमा गएर ज्यान जोगाउन बाध्य हुन्छन्। भारतको उत्तरप्रदेशसँग सीमा जोडिएको हौसलपुर र मोहनपुरलाई मोहना नदीले अलग बनाएको छ। मोहना नदीको कटानका कारण मोहनपुर एउटा भिन्नै टापुको रुपमा रहेको छ।

मनसुनको समयमा चुरे क्षेत्र मुहान रहेका नदीहरूमा बाढी आउँदा कैलालीमा प्रत्येक वर्ष ठूलो नोक्सानी पुग्दै आएको छ। गाउँपालिकाको धेरै क्षेत्रफल ओगटेको मोहना नदीले त झन वर्षेनी धार परिर्वतन गर्दा सबैभन्दा बढी प्रभावित नदीको तटिय क्षेत्रमा रहेको बस्ती र कृषियोग्य भूभाग हुने गरेका छन्।

खहरे खोला मिसिएर बग्ने मोहना नदीले ढुंगा, ग्रेग्यान र बालुवा ल्याएर थुपार्ने भएकाले वर्षेनी कृषियोग्य जमिन मासिँदै गएको छ। त्यसैले नदीको बहाव र प्रकृतिगत संरचनाको अध्ययन गरेर तत्काल वैज्ञानिक आधारमा नदी नियन्त्रणको पहल नगर्ने हो बाढी  डुबानका कारण घरबारविहिन हुनेको संख्या बढ्दै जानेछ। यसले अन्ततः गरिबी न्यूनीकरण गर्ने सरकारको लक्ष्यलाई कागजमा मात्रै सीमित राख्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.