|

काठमाडौं : हेटौंडास्थित सन्चो अस्पतालमा कार्यरत दुईजना चिकित्सकलाई कार्यकक्षमा पुगेर सांघातिक आक्रमण गरेको घटनामा नेपाल जनस्वास्थ्य संघले विरोध जनाएको छ। स्वास्थ्यकर्मी संघले उक्त घटनाका दोषीलाई कानूनी कारबाही गर्न सरकार समक्ष आग्रह गरेको छ।

चिकित्सकमाथि भएको आक्रमणमा सहभागीलाई यथाशीघ्र कानूनी कारबाही गर्न सरकारसमक्ष आग्रह गरेको हो। संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ ‘हेटौंडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकहरू डा. विकास थापा र प्रशान्त बिडारीमाथि सांघातिक हमला, हातपात तथा दुर्व्यवहार भएको घटनाको सन्दर्भमा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ। यस प्रकारको घटनाबाट स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यसेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले असुरक्षा महसुस गर्नुका साथै स्वास्थ्यसेवा प्रदान गर्न असहज वातावरण भएको हुँदा उक्त निन्दनीय घटनाको घोर भर्त्सना गर्छौं। उक्त घटनामा दोषी व्यक्तिलाई यथाशीघ्र कानूनी कारबाही गर्नुका साथै भविष्यमा यस प्रकारका घटना नदोहोरिऊन् भन्नका लागि राज्यबाट आवश्यक पहलकदमीका लागि जोडदार माग गर्छौं।‘

डेंगुको लक्षण देखिएर सन्चो अस्पतालमा उपचारका लागि आएका हेटौंडा उपमहानगरपालिका-१२ स्थित पदमपोखरीका राजेश प्रधानको चितवनस्थित अस्पतालमा उपचारको क्रममा गत साउन २५ गते मृत्यु भएको थियो। उपचारमा संलग्न स्वास्थ्यकर्मी र अस्पतालको लापरबाहीले प्रधानको मृत्यु भएको भन्दै उनका आफन्तले चिकित्सकमाथि दुर्व्यवहार गरेका थिए।

आक्रमणमा परी उक्त अस्पतालमा कार्यरत एनेस्थेसिया डाक्टर प्रशान्त बिडारी र डाक्टर विकास थापा घाइते भएका छन्। बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने थापाको गाला र अनुहार सुन्निएको छ। थापा उपचारका लागि काठमाडौं आइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.