|

काठमाडौं : चारदिने औपचारिक नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसद्‌मा सम्बोधन गरेका छन्। महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकलाई सम्बोधन गरेका हुन्।  

प्रतिनिधिसभा नियमावलीअनुसार कुनै विदेशी राष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख, सभामुख, अध्यक्ष वा संयुक्त राष्ट्रसंघका महासचिवले बैठकलाई सम्बोधन गर्ने व्यवस्थाअनुसार सरकारको अनुरोधमा सभामुखले अनुमति दिने सक्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार महासचिव गुटेरेसले आज नेपालको संघीय संसद्का दुवै सदनलाई सम्बोधन गरेका हुन्। 

संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार यसअघि सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संघीय संसद्लाई सम्बोधन गरेका थिए। 

सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री बनेपछि नेपाल भ्रमणमा आएका मोदीले नेपालको सदनलाई सम्बोधन गरेका थिए। मोदीले राष्ट्र प्रमुखको रूपमा १९ साउन २०७१ मा सदनलाई सम्बोधन गरेका थिए। 

सहप्रवक्ता धमलाका अनुसार भारतीय लोकसभा अध्यक्ष डा. बलराम जाखरले पञ्चायतकालमा नेपालको संसद्लाई सम्बोधन गरेका थिए। तत्कालीन राष्ट्रिय पञ्चायतको अवलोकन गर्न नेपाल आएका जाखर २०४५ साल भदौ २१ गते राष्ट्रिय पञ्चायत पुग्दा नारावाजी भएको थियो। राष्ट्रिय पञ्चायत सदस्य उमेशजंग थापाले ‘भारतीय विस्तारवाद मुर्दावाद’ भन्दै थापाले नारा लगाएका थिए। नाराबाजीबीच जाखरले १२ मिनेट राष्ट्रिय पञ्चायतमा सम्बोधन गरेका थिए। 

धमलाले तत्कालीन जर्मन चान्सलर हेल्मुट कोलले पनि नेपालको सदनमा सम्बोधन गरेको जानकारी दिए। कोलले २०४४ असार ४ गते राष्ट्रिय पञ्चायतलाई सम्बोधन गरेका थिए। उनका अनुसार त्यस वेला राष्ट्रिय पञ्चायतलाई सदन भन्ने गरिन्थ्यो। 

म्यान्माकी प्रजातन्त्रवादी नेतृ तथा नोबेल पुरस्कार विजेता आङ सान सुकीले पनि नेपाल भ्रमणका क्रममा ल्होत्से हलमा सम्बोधन गरेकी थिइन्। उनले २०७१ जेठ ३० गते नेपाल भ्रमण गरेकी थिइन्।  

नोबल पुरस्कार विजेता कैलाश सत्यार्थीले पनि संविधानसभा कालमा संसद्को ल्होत्से हलमा सम्बोधन गरेका थिए।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.