|

पर्वत : जिल्लाको पैयुँ गाउँपालिकास्थित हुवासमा विगत २२ वर्षदेखि बन्द रहेको रहेको तत्कालीन मिसन अस्पतालमा क्यान्सर, मिर्गौला तथा सरुवा रोग सचेतनासम्बन्धी निःशुल्क शिविर आयोजना हुने भएको छ।

मिसन अस्पताल पुनः सञ्चालन गर्न वातावरण तयार गर्न काठमाडौँस्थित देउराली फाउन्डेशनले क्यान्सर, मिर्गौला तथा सरुवा रोग सचेतना शिविर सञ्चालन गर्ने भएको हो। 

यही सिलसिलामा विभिन्न सरुवा रोग र क्यान्सर एवं मिर्गौला रोगबारे हुवासवासी तथा पर्वतवासीलाई चेतना र आवश्यक सेवा दिन आउँदो पुस ९ गते निःशुल्क स्वास्थ्य शिविरसहितको जनचेतना कार्यक्रम हुने भएको हो।

काठमाडौँस्थित टेकु अस्पतालका सरुवा तथा संक्रामक रोगका वरिष्ठ विशेषज्ञ डा. शेरबहादुर पुन पाटन अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही, पाटन अस्पतालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. विमल पाण्डे, वरिष्ठ जनरल फिजिसियन एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा भरतकुमार यादवबाट स्वास्थ्य सेवा र जानकारी दिने गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो।

एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाको सहकार्यमा देउराली फाउन्डेशनको  आयोजनामा शिविर सञ्चालन हुन लागेको हो। एनआरएनए (नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिका) एवं अन्तरराष्ट्रिय समन्वय समितिका अध्यक्ष माधव मरासिनीले हुवासमा कार्यक्रमको आयोजना गरेर पर्वतवासीलाई सेवा गर्न पाउँदा खुशी लागेको बताए।

गत वर्ष पुस ६ गते यही संस्थाले चितवनको माडी नगरपालिकाको बघौडा अस्पतालमा क्यान्सर तथा सरुवा रोगसम्बन्धी सचेतना शिविर सञ्चालन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.