|

काठमाडौं : नेपाल प्रहरीले चालू आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा ५ लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ।

यसरी हेर्दा दैनिक २ हजार ६ सय १९ जनाले प्रहरी रिपोर्ट लिने गरेका छन्।

 सो अवधिमा ७ लाख १० हजार ९४४ जना नेपाली तथा विदेशी नागरिकहरूबाट अनलाइन आवेदन प्राप्‍त भएका थिए। तीमध्ये १ लाख ४४ हजार २१२ वटा आवेदन रद्द भएका थिए भने १६ हजार ६ सय ७२ आवेदन कार्यान्वयनको क्रममा छन्।

विभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र लिनका लागि अनलाइन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र उपलब्ध गराउने गरेको छ।

नेपाल प्रहरीको वेबसाइटबाट सेवाग्राहीले जुनसुकै ठाउँबाट अनलाइन फर्म भर्न सक्छन्। स्वदेशमा भएका नेपाली नागरिकहरूले अनलाइन निवेदन दिँदा राहदानी, नागरिकता, विवाहितको हकमा विवाह दर्ताको स्क्यान कपि र हालसालै खिचिएको पासपोर्ट साइजको रंगीन फोटो समावेश गर्नुपर्ने हुन्छ। यसैगरी विदेशमा रहेका नेपाली नागरिकहरूले राहदानीको पृष्ठ नम्बर २ र ३, अन्तिम पटक नेपाल छोड्दाको Nepal Immigration Departure Stamp भएको पृष्ठ, नागरिकता, विवाहितको हकमा विवाह दर्ताको स्क्यान कपि र हालसालै खिचिएको पासपोर्ट साइजको रंगीन फोटो समावेश गर्नुपर्ने   हुन्छ। आवश्यक कागजातहरू सहितको निवेदन पेश गरेको करिब ५ दिनभित्र आवश्यक प्रकृया पूरा भएपछि निवेदककै युजर आइडीमा  प्रहरी रिपोर्ट पठाइने व्यवस्था छ। सेवाग्राहीको आवेदन विवरण ठिक नभएमा, संदिग्ध व्यक्तिसँग नाम मिल्न गएमा आवेदन दिने र मुद्धा चलेका व्यक्ति एकै हुन/होईनन् ? यकिन गर्नका लागि थप अनुसन्धान गर्नुपर्ने भएकोले केही समय लाग्ने गरेको छ।

प्रहरी रिपोर्ट सम्बन्धी काम नेपाल प्रहरी प्रधान कार्यालय सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) शाखाको सहयोगमा चालचलन शाखाले गर्दछ। उक्त शाखा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्गत रहेको छ। विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ भन्छन्, ‘सकेसम्म ५ दिनभित्रै प्रहरी रिपोर्ट उपलब्ध गराई राखेका छौं। जुन विकसित देशको तुलनामा राम्रो सेवा हो। विगतका अभिलेखहरू पूर्ण नभएका कारण नाम जुध्न जाने हुँदा केही आवेदनहरू होल्डमा रहन्छन् र  भेरीफाई गर्दा थप समय लाग्नसक्छ। यसका लागि आधुनिक जगतको टड्कारो आवश्यकताको रूपमा रहेको प्रविधिको प्रयोगलाई अझै सशक्त बनाउँदै सेवा प्रदान गर्न नेपाल प्रहरी प्रयासरत छ।’

अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र वितरण सुरूवात २०७६ असोज २४ गतेदेखि भएको हो। सुरूवातदेखि हालसम्म ३१ लाख ४० हजार ९८ जनाले आवेदन दिएका थिए। तीमध्ये नेपाली नागरिकले स्वदेशबाट २८ लाख ९५ हजार २०२, नेपाली नागरिकले विदेशबाट २ लाख ३६ हजार १०, विदेशी नागरिकबाट ७ हजार ८९९ र शरणार्थीबाट ९ सय ८७ वटा आवेदन प्राप्त भएका थिए। ती आवेदनमध्ये २३ लाख १७ हजार ६७३ जना स्वदेशी तथा विदेशी नागरिकहरूलाई प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइएको थियो। हाल दैनिक ३ हजार ५ सयदेखि ५ हजार ३ सयसम्म अनलाइन आवेदन प्राप्‍त हुने र तीमध्ये सामान्यतया ४ हजार प्रमाणपत्र उपलब्ध गराइने गरिएको छ।

प्रहरी रिपोर्ट लिने प्रकृया थप सहज बनाउनको लागि सूचना प्रविधि सहयोगी बनेको छ। आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्ने नीति प्रहरीले अख्तियार गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्छन्, ‘यस्तो छिटोछरितो सुविधा प्रहरीको सकृयता र सूचना प्रविधिको प्रयोगले मात्र सम्भव भएको हो। यस व्यवस्थालाई अझ प्रभावकारी र सहज हुने गरी काम गर्न नेपाल प्रहरीले सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिँदै आएको छ। प्रहरीलाई आवश्यक पर्ने सफ्टवेयर निर्माण, त्यसका लागि तालिम दिने लगायतका सूचना प्रविधि सम्बन्धी काम भइरहेका छन्।’ 

प्रहरी रिपोर्ट सम्बन्धी कामका लागि निर्मित सफ्टवेयरमध्ये क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस), अटोमेटेड फिङ्गर प्रिन्ट आइडेन्टिफिकेसन सिस्टम (एएफआइएस) र Online Police Clearance Registration system (OPCR) सफ्टवेयरहरू प्रयोगमा छन्। सिआरएसमा आपराधिक घटना र संलग्न व्यक्तिको अद्यावधिक अभिलेख राखिन्छ। जसबाट कुनै व्यक्ति अपराधमा संलग्न भए नभएको जाँच गरिन्छ। एएफआइएस सफ्टवयरले विदेशी नागरिक नेपालमा रहँदाको आपराधिक अभिलेख औंठा छापबाट थप जाँच गर्न मद्दत गर्दछ। विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ भन्छन्, ‘ छिटो छरितो अपडेट गर्न थप साधन स्रोत आवश्यक पर्छ। प्रविधिको प्रयोग, पुराना अभिलेख अपडेट गर्दै छिटो सेवा दिने प्रयास गरिरहेका छौं।’

नेपाल प्रहरीले प्रहरी रिपोर्ट पूर्णतः निःशुल्क उपल्ब्ध गराउँछ। अपराध सम्बन्धी राष्ट्रिय अभिलेख तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० बमोजिम प्रहरी चारित्रिक प्रमाणपत्र पाउने आवेदकलाई नियमानुसार उपलब्ध गराउने गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.