|

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ मा दिएको अभिव्यक्तिपछि विकसित घटनाक्रमलाई लिएर देश ‘राजावादी र गणतन्त्रवादी’ गरी दुई ध्रुवमा विभाजित छ। पूर्वराजाको नाममा राजनीति गर्दै आएका दलसहित अन्य सानातिना समूह एकातिर छन् भने अर्कातिर आफूलाई गणतन्त्रवादी भन्ने अहिलेका प्रमुख दलहरू छन्। 

राजतन्त्रको अवसानपछि करिब दुई दशक राज्यसत्तामा पालैपालो पुगेका प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र राजावादीहरूविरुद्ध एक ठाउँमा छन्। यीमध्ये पनि माओवादी केन्द्र पूर्वराजा ज्ञानेन्द्र र उनका समर्थकहरूप्रति बढी आक्रामक देखिन्छ।

पूर्वराजा ज्ञानेन्द्रको स्वागतको नाममा राजावादीहरूले शक्ति प्रदर्शन गरेलगतै पार्टीको तराई-मधेश जागरण अभियान नै स्थगित गरेर माओवादी पूर्वराजा र उनी समर्थित गतिविधिको प्रतिवादमा उत्रिएको छ। 

माओवादी सचिव दीनानाथ शर्मा आफूहरूकै कारण मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुगेकाले विरोधी शक्तिविरुद्ध बढी आक्रामक र चिन्तित हुनु स्वभाविक भएको ठान्छन्। उनी राजावादी सलबलाउँदा मुख्य पार्टीको अभियान नै स्थगित गरेर यसतर्फ केन्द्रित हुनुको दुई प्रमुख कारण प्रस्तुत गर्छन्।

यस्तो छ नेता शर्माको भनाइः–

पछिल्लो चरणमा ठूला दल जसले आफूलाई गणतन्त्रवादी भन्छन्, उनीहरू वास्तवमा गणतन्त्रवादी थिएनन्। कांग्रेसमा गिरिजाप्रसाद कोइराला नहुनुभएको भए गणतन्त्रमा देश जान्थ्यो भन्ने विश्वास थिएन। उहाँकै भूमिका प्रमुख रह्यो। 

एमालेका केपी शर्मा ओली स्वयं गणतन्त्रको पक्षमा हुनुहुन्थेन। किनभने उनीहरू तत्कालीन अवस्थामा राजाको छत्रछायाँमा बसेर राज्यसत्तामा खाएर आएकै दलहरू हुन्।

त्यसकारण यहाँ माओवादीसँग भन्दा राजैसित भएको भए पनि कुनै फरक पर्ने थिएन‚ देशलाई लुट्ने हो भने भन्ने मानसिकताले काम गरेको बुझिन्छ। 

दोस्रो कुरा संविधानमा असहमत भएका शक्तिहरू भित्र र बाहिर दुबैतिर छन्। महत्त्वपूर्ण प्रश्न के हो भने यो जनयुद्धको जगमा जनयुद्धकै मर्म र भावनाको प्रतिनिधित्व भएको संविधान हो। 

यो संविधानको मर्म र भावना भनेको लोकतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता हो। यिनीहरू (कांग्रेस–एमाले)ले सहमति गर्दा पनि संविधान संशोधनको विषय समेटेका छन्। त्यसकारण उनीहरूबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै कुँजो बनाउने हुन् कि भन्ने कुराले धेरै चिन्तित भएका हौँ।  

अहिले राजावादीहरू जसरी सल्बलाएका छन्, यसको पछाडि एक कुशासन र अर्को यिनीहरूले नै संघीयताको मर्मलाई आत्मसात गर्न नसकेको कारण कतै संविधानमै तलमाथि हुने स्थिति उत्पन्न हुने त होइन भन्ने चिन्ता हामीले लिन स्वाभाविक हो। 

पछिल्लो समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हरेक अभिव्यक्तिको तीरसरकारतिर भन्दा पूर्वराजा ज्ञानेन्द्रतिर तेर्सिएको सुनिन्छ। शुक्रबार (चैत १ गते) सिन्धुपाल्चोकको मेलम्ची पुगेर प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिँदै फेरि राजा बन्ने दिवा सपना नदेख्न आग्रह गरे।

१०-१५ हजार मान्छे उर्फिँदैमा लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन सम्भव नभएको भन्दै त्यो दुस्साहस गरे माओवादीले इँटको जवाफ पत्थरले दिने बताए। प्रचण्ड त्यत्तिमा रोकिएनन्। उनले पूर्वराजा ज्ञानेन्द्रलाई भाइमारा र मूर्तिचोरको संज्ञा पनि दिए। 

‘राजा महाराजाहरूको बारेमा नौटंकी देखाइँदै छ’, उनले भने, ‘२५० वर्षसम्म यो देशलाई कहाँ पुर्‍याए ? नेपाली जनताले बिर्सेका छन् र मूर्तिचोर को हुन् ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ?’  

शनिबार आफ्नो अभिव्यक्तिबारे थप स्पष्ट पार्दै प्रचण्डले तथ्य र प्रमाणकै आधारमा पूर्वराजाबारे टिप्पणी गरेको बताएका छन्। समाजवादी मोर्चाले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आमनेपाली जनताको मनमा भएको कुरा आफूले बोलेको बताए। ​

यसबाहेक संसद्‌देखि अन्य सार्वजनिक कार्यक्रमहरूमा पनि अध्यक्ष प्रचण्डसहित माओवादीका अन्य नेताहरू नै पूर्वराजाविरुद्ध कठोर सुनिँदै आएका छन्। 

सांगठनिक रूपमा विभिन्न रणनीति बनाइरहेको माओवादीले चार दलीय समाजवादी मोर्चालाई पनि त्यसविरुद्ध प्रयोग गर्दै छ। माओवादी मोर्चाभित्रको प्रमुख दल हो। उसकै पहलमा मोर्चामा रहेका अन्य दलहरू एकीकृत समाजवादी, विप्लव नेकपा र नेसपा पनि गणतन्त्रको पक्षमा प्रदर्शन गर्न उत्रिँदै छन्।   

मोर्चाले आगामी १५ चैतमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्दै छ। २७ फागुमा बसेको मोर्चाको बैठकले यो निर्णय गरेको थियो। शनिबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता खड्गबहादुर विश्वकर्माले मोर्चाले सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू एकजुट भई प्रतिगमन र प्रतिक्रियावादीहरूको षड्यन्त्र विफल पार्न यस्तो निर्णय गरिएको बनाए।  

‘गणतन्त्रविरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनरुत्थानवादी तत्त्व लागिपरेका छन्। पुनरुत्थानवादी षड्यन्त्रका विरुद्ध चैत १५ गते काठमाडौँमा विशाल विरोध प्रदर्शनसहितको जनसभा आयोजना गरिएको छ। सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू एकजुट भई प्रतिगमन र प्रतिक्रियावादीहरूको षड्यन्त्रलाई विफल पार्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपील गर्दछौँ।’

राजावादीहरू सल्बलाएपछि मोर्चाले बुद्धिजीवी र नागरिक समाजसँग अन्तरसंवाद पनि गरेको थियो।

‘प्रचण्ड अत्तालिए’ 

माओवादीको आक्रामकतालाई राजावादीहरू भने अत्तालिएको टिप्पणी गर्छन्। पूर्वराजाको नाममा राजनीति गर्दै आएको राप्रपाले राजसंस्थाको पक्षमा अहिले माहोल बनेपछि कालो विगत भएका प्रचण्ड अत्तालिएर प्रतिवादमा उत्रिएको बताउँछन्। 

राप्रपा महामन्त्री राजेन्द्र गुरुङ भन्छन्, ‘प्रचण्डको विगत कालो छ। अहिले जनताबाट राजसंस्थाको पक्षमा जुन भावना मुखरित भइरहेको छ, यसबाट प्रचण्ड आत्तिएका छन्। त्यही आत्तिएका वेला आवेग र आक्रोशको अभिव्यक्ति दिँदै आएका हुन्।’ 

राप्रपाका अर्का महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाको अध्यक्षतामा शनिबार बसेको बैठकले विनाप्रमाणको आरोप लगाए राप्रपा मुकदर्शक भएर नबस्ने चेतावनी दिएको छ। 

त्यसअघि महामन्त्री राणाले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई जवाफ फर्काउँदै देशलाई फेरि हिंसामा धकेल्न खोजेको आरोप लगाएका थिए। उनले भनेका छन्, ‘माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुनः देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ। यो परिस्थितिमा सम्पूर्ण देशभक्त राजभक्तहरूमा यस्ता अराजक गतिविधिबाट प्रभावित नभई संयमतापूर्वक आफ्नो अभियान जारी राख्न अनुरोध छ।’ 

आक्रोशित राप्रपा युवा संगठनले शनिबार एक कार्यक्रममै प्रचण्डको तस्बीर जलायो। युवक संगठनको हेटौंडामा भएको जिल्ला अधिवेशनमा संगठनका सदस्य सचिव निराजन बमले प्रचण्डको तस्बिर जलाएका थिए। 

गणतन्त्र र प्रचण्डविरुद्ध नाराबाजी गर्दै तस्बीर जलाइएको कार्यक्रममा राप्रपा सांसद दीपकबहादुर सिंह पनि सहभागी थिए।  

विगतमा राजा स्वीकार्न माओवादी तयार रहेको भन्दै अहिले चर्को विरोध गर्न नसुहाउने राप्रपा नेताहरू बताउँछन्। तर माओवादी नेताहरू भने त्यस वेला पनि आफूहरू प्रमुख एजेन्डा लोकतान्त्रिक गणतन्त्र नै भएको दाबी गर्छन्। 

माओवादी सचिव शर्मा लोकतान्त्रिक गणतन्त्र र संविधानसभा स्वीकार गरेर जाऔं भनेर प्रस्ताव गरेको बताउँछन्। जसको विरुद्ध युद्ध लडिन्छ त्यो पक्षसँग संवाद हुनु अस्वाभाविक पनि नमानिने उनको भनाइ छ। 

‘युद्धका वेला दुई पक्षबीच छलफल र वार्ता हुनु स्वभाविक थियो। त्यो त युद्धको नियम हो। जोसित लडिन्छ, उसँग वार्ता पनि लडाइँ पनि हुन्छ’, उनी भन्छन्, ‘तर हाम्रो एजेन्डा त लोकतान्त्रिक गणतन्त्रकै पक्षमा थियो। राजालाई हामीले गणतन्त्र स्वीकार गरेर संविधानसभा स्वीकार गरेर, संघीयता, समावेशिता र धर्मनिरपेक्षता स्वीकार गरेर जाऔं भनेकै हो।’   

विश्लेषकको नजरमा यसकारण माओवादी बढी आक्रामक 

पूर्वराजाको गतिविधिविरुद्ध माओवादी केन्द्र नै आक्रामक हुनुको दुई कारण औंंल्याउँछन् राजनीतिक विश्लेषक चन्द्र किशोर। उनका अनुसार लोकतान्त्रिक गणतन्त्रले माओवादीलाई ठाउँ दिएको र अर्को राजावादीलाई थप हौसिन नदिन माओवादी प्रतिवादमा उत्रिएको ठान्छन्। 

उनी भन्छन्, ‘यसमा एउटा के भने कांग्रेस र एमाले २०४६ पछि राजासँग सहकार्य गरेकै दल हुन्। माओवादी चाहिँ राजाको अस्तित्वमाथि शुरुदेखि संघर्ष गर्दै आएको हो। उसको लोकतान्त्रिक गणतन्त्रमा राजनीतिक अस्तित्व छ। उसको अस्मिता जोगिएको छ।’

अर्को कारण पेस गर्दै विश्लेषक चन्द्र किशोर भन्छन्, ‘माओवादी फेरि अहिले अपोजिसनमा छ। यसअघि उसले सरकारको बारेमा आलोचना गर्थ्यो। तर पछिल्लो समय जब पूर्वराजा ज्ञानेन्द्रका सन्दर्भ आयो, त्यसपछि सरकारविरुद्ध मात्रै लाग्दा राजावादीहरू थप हौसिने हुनाले रणनीतिक रूपमा सरकारको कुरामा भन्दा बढी राजातिर फोकस भएको देखिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.