काठमाडौं : नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनरत शिक्षकहरूले आफ्नो जिम्मेवारी बोध नगरेको आरोप लगाएका छन्।
मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सरकारले गरेको आग्रहलाई शिक्षकहरूले अटेर गरेको टिप्पणी गरे।
शिक्षकका माग अनुसार विद्यालय शिक्षा ऐन जारी गर्ने सन्दर्भमा मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेर आग्रह गर्दासमेत शिक्षकहरूले ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर आन्दोलन जारी राखेको उनको भनाइ छ ।
‘सरकारले शिक्षकका माग सम्बोधन गर्ने भनेर वैशाख १२ गते संसदको बर्से अधिवेशन बोलाइसकेको छ। फास्ट ट्रयाकमा हामी विद्यालय शिक्षा विधेयक पास गर्छाैं भनिरहेका छौं ।’ उनले भने, ‘तर शिक्षकहरू आन्दोलनबाट पछि हट्नुभएको छैन। सरकारले गरेको आग्रह उहाँहरूले अटेर गरिरहनुभएको छ ।’
उनले एसइईको उत्तरपुस्तिका जाँच्ने, विद्यार्थी भर्ना अभियान संचालन गर्ने, १२ कक्षाको परीक्षा संचालनमा सहभागी हुने जिम्मेवारीबाट पन्छिएर शिक्षाकहरूले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप लगाए।
‘एसइई परीक्षाको उत्तरपुस्तिका बेलैमा जाँचेर नतिजा समयमै निकाल्न सकिएन भने प्लस टु भर्ना हुने समय पनि बितिसकेको हुन्छ। विद्यार्थीको भविष्य बर्बाद हुन्छ । विद्यार्थी भर्नाको समय सुरु भएको छ । विद्यालयमा गएर भर्ना अभियान गर्नुपर्यो । १२ को परीक्षामा पनि सहयोग गर्नुस् । तपाईंहरुका माग सम्बोधन गर्न सरकार लागिरहेको छ भनेर हामीले आग्रह गर्यौं’, गुरुङले भने, ‘शिक्षकहरूले सुनुवाइ गर्नुभएन। कर्मचारीलाई पनि आन्दोलनमा बोलाइरहनुभएको छ । शिक्षकहरूले आफ्नो जुन जिम्मेवारी बोध गर्नुपर्ने थियो त्यो गर्नुभएन । राज्यलाई एकपछि अर्को असहयोग गर्दै जाने हो भने त्यसले नतिजा राम्रो दिँदैन । मेरो गोरुको बाह्रै टक्का भनेर लाग्नुभएको छ यसले सरकारलाई गम्भीर बनाएको छ ।’
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २२ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्। उनीहरू हरेक दिन माइतीघर-बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।