|
महामन्त्रीमा निर्वाचित भएपछि कुन्दनराज काफ्ले (बायाँ) र सरोज थापा खुशियाली मनाउँदै

काठमाडौं : ०६२/६३ को जनआन्दोलनको समयमा काठमाडौंको चावहिल क्षेत्र निक्कै तनावपूर्ण हुन्थ्यो। चावहिलको पशुपति क्याम्पसका विद्यार्थीहरुको प्रदर्शन सँधै सुरक्षाकर्मीहरुका लागि टाउको दुखाइको विषय हुन्थ्यो। त्यहाँ विद्यार्थी आन्दोलनको नेता थिए, कुन्दनराज काफ्ले । काफ्ले आफैमा पनि जुझारु थिए, हरेक कार्यक्रममा आफै अगाडि सर्थे।  

हरेक टेलिभिजन च्यानल र पत्रपत्रिकामा उनको फोटो आउँथ्यो। त्यहीबाट उनी विद्यार्थी राजनीतमिा चनिन थालेका थिए। उनले राजतन्त्रको विपक्षमा विरोध जनाउन कुकुर अभिनन्दनको कार्यक्रम राखेका थिए भने राजतन्त्रको किरियाकर्म पनि गराएका थिए। पशुपति क्याम्पसका स्ववियु सभापति थिए, कुन्दन काफ्ले। उनलाई नेविसंघका पूर्व अध्यक्ष प्रदीप पौडेल आन्दोलनबाट स्थापित भन्छन्। 

नेपाल विद्यार्थी संघले ०६२/६३ को आन्दोलनका कार्यक्रमहरु राख्थ्यो, तर त्यसको शुरुवात सधै पशुपति क्याम्पसबाटै हुने गरेको सम्झन्छन्, पौडेल। ‘कुन्दन प्रखर छन्, हरेक कार्यक्रमको नेतृत्व लिन डराउदैनन्, राजतन्त्रको विपक्षमा हरेक मोर्चामा अगाडि थिए उनी’ पौडेलले सम्झिए। त्यसैले त पटक पटक उनी जेल पनि परेका थिए ।

पशुपति क्याम्पसमा स्ववियु निर्वाचन हुँदा उनलाई टिकट दिनेमा पर्छन्, पूर्व अध्यक्ष गुरु घिमिरे। उनी पनि कुन्दनलाई आँटिलो विद्यार्थी नेताको रुपमा मान्छन्। उनले भने ‘पार्टीले अंगिकार नगरेको गणतन्त्रलाई आँट गरेर उनीहरुले आन्दोलन चर्काए, जसको फलस्वरुप अहिले गणतन्त्र आएको छ।’
दोलखाको जफे घर भएका काफ्ले यसअघि नेविसंघको कोषाध्यक्ष थिए। उनी कांग्रेस र विद्यार्थीका कार्यक्रममा सानैदेखि सक्रिय थिए। यसवर्ष काफ्लेले विधिवत रुपमा महाधिवेशन हुनुपर्ने माग राख्दै आमरण अनसनको नेतृत्व समेत गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.