|

कालिकोटः कालीकोटमा आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन नतिजा आफ्नो पक्षमा पार्न लागिपरेका छन्। प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको नतिजा हात पार्न कालिकोटमा दुई शक्तिबीच जोड घटाउ सुरु भएको हो। 

०७० को संविधानसभा चुनाव र ६ महिनाअघि सम्पन्न स्थानीय चुनावलाई आधार मान्दा यहाँ लोकतान्त्रिक गठबन्धनको तुलनामा वाम गठबन्धनको मत झन्डै दोब्बर देखिन्छ।

प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार दुर्गाबहादुर रावत रहेका छन् भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाही चुनावी मैदानमा रहेका छन्। 

नेपाल मजदुर किसान पार्टीको राजनीतिसँगै ०४२ देखि ०५४ सम्म प्राथमिक विद्यालय तहका शिक्षक रावत स्थायी जागिर छाडेर माओवादी जनयुद्धमा सामेल भएका थिए। ०६४ सालदेखि माओवादी जिल्ला अध्यक्ष भएका रावतले संविधानसभाका दुवै चुनावमा माओवादी जिताएका छन् भने स्थानीय तहको निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बनाएको अनुभवसमेत रहेको छ। 

युवा नेता शाहीले ०७० को संविधानसभाको निर्वाचनमा कांग्रेसबाट प्रत्यासी हुन्। तरुण दलको महासचिवसमेत रहेका शाही सुन्दर कालीकोट र समृद्ध कालीकोटको नारा लिएर अगाडि बढेका कारण उनको पक्षमा युवा मतदाता बढी आशावादी रहेका छन्। 

माओवादी उम्मेदवार रावत वाम गठबन्धनको मत जोगाउन सके सहज जीत हुनेमा ढुक्क छन् भने शाही विगतमा एमाले र माओवादीबीच कालीकोटमा द्वन्द्वका कारण एमालेको भोट तान्ने रणनीति बुन्दै छन्।

०४८ मा कांग्रेस, ०५१ र ०५६ मा एमाले, ०६४ र ०७० मा माओवादीले चुनाव जितेको कालीकोटमा यस पटक भने दलहरू दुई कित्तामा उभिएका कारण चुनावमा रोचक भिडन्त हुने देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.