|
फोटोः reviewnepal.com

काठमाडौं : ‘जातीय मुक्ति नभैकन वर्गीय मुक्ति सम्भव छैन’ भन्दै २०३८ सालदेखि जातीय आन्दोलनमा होमिएका गोरेबहादुर खपांगीको शनिबार राति निधन भयो। आदिवासी–जनजाति समुदायको पहिचानको आन्दोलनको नेतृत्व गरेका खपांगी राजनीतिमा प्रखर वक्ता पनि थिए। 

वामपन्थी विचारधाराका खपांगी सुरुमा नेकपा एमाले, माले हुँदै जातीय आन्दोलनमा लागेका थिए। ’बाहुनहरु सबै ठग हुन्छन्’ भन्दै खपांगी जातीय आन्दोलनमा होमिएको साहित्यकार तथा राजनीतिज्ञ मोदनाथ प्रश्रित सम्झन्छन्। उनी भन्छन्– ‘उहाँमा अलि बढी अतिवादी सोच पनि थियो।’

'तलाईँ भाते'

‘तलाईँ भाते’ भन्दै सबैलाई 'तँ' नै सम्बोधन गर्ने मान्छे थिए गोरेबहादुर खपांगी। चिन्तन र व्यवहारमा सबैलाई राम्रो गरेपनि खपांगी सबैलाई तँ नै सम्बोधन गर्थे। उनीसँग लामो सयम संगत गरेका प्रश्रितले सम्झे– ‘मलाई चाँहि तपाईँ भन्नुहुन्थ्यो। हामीबीच दर्शन र राजनीतिका धेरै छलफलहरु हुन्थे। त्यही क्रममा उहाँले 'सबैलाई तँ भन्दै आएको छु, मोदनाथलाई चाहिँ के भन्ने होला?’ भन्दै हुनुहुन्थ्यो। पछि मलाई तपाईँ भन्न थाल्नुभयो।’

स्वभावले जे काम पनि एक्लै गर्न खोज्ने र सुरु गरेको काममा निरन्तर खटिइरहने गर्दथे खपांगी। भौतिकवादी र अध्यात्मवादी दुबै दर्शनको राम्रो ज्ञान भएका खपांगी जातपात र छुवाछुतलाई वाहियात मान्थे।

खपांगी मानिसहरुलाई सबै कुरा थाहा दिनुपर्छ भन्दै सिकाउँदै हिँड्थे। कम्युनिस्ट विचारधाराका खपांगी दलीय ढंगले संगठन बनाउने भन्दा पनि जागरण गराउनुपर्छ भन्ने मान्यता राख्थे। 

उनी 'स्पष्ट बोल्ने मान्छे भएकोले पनि उनले दुःख पाएको' बताउँछन्, एमाले नेता राधाकृष्ण मैनाली। २०४० सालदेखि नै खपांगीको सम्पर्कमा रहेका मैनाली उनको सामान्य जीवनशैलीबाट प्रभावित भएको बताउँछन्। ‘उहाँ साह्रै नै सामान्य मान्छे, झुप्रोमा पार्टी कार्यालय राखेर चलाउने गर्नुहुन्थ्यो’, उनले भने।

राष्ट्रिय उचाईमा पुगेपनि खपांगी जातीय घेरामा बाँधिएका कारण जति माथि पुग्नुपर्ने त्यहाँ पुग्न नसकेको मैनालीको भनाई छ। ‘उहाँले जातीय राजनीति अझ लांघाली संघलाई ध्यान दिनु नै मुख्य कमजोरी हो’, उनले भने। इमान्दार भएका कारण पनि उनी पछि परेको मैनाली बताउँछन्। 

'दुर्घटना'

मोटरसाइकल दुर्घटनामा घाइते भई उनी करिब साढे तीन वर्षदेखि अस्पतालमा थिए। दुर्घटनामा मस्तिष्कमा गम्भीर असर परेर अचेत अवस्थामा रहेका उनको नेपालमा उपचार सम्भव नभएपछि उपचारका लागि सिंगापुर पनि लगिएको थियो।

धेरैजसो समय मकवानपुरको टिस्टुङ पालुङमा बसेर काम गरेका खपांगीको पुर्ख्यौली घर महोत्तरीको रामनगर हो। उनले केही समय रामेछापमा पनि बसेर स्कुलमा पढाउने काम गरे। २०३२/३३ सालतिर जनकपुरमा रहेको सूर्ति विकास समितिको हाकिमको जागिर छोडेर उनी रामेछाप बजारमा रहेको गौरीशंकर हाइस्कुलमा प्रधानाध्यापक हुन गएका थिए।

२०३७ बैशाखमा भएको जनमत संग्रहपछि उनी शिक्षक आन्दोलनमा लागेका थिए। नेपाल राष्ट्रिय शिक्षक संगठन खोलेर राजनीतिक भाषण दिँदै हिँडेपछि उनलाई पञ्चायत शासनले 'देशद्रोही' भन्दै जेल हालेको थियो।

जातीय आन्दोलन

१४ महिनाको जेलजीवनपछि २०४३ को आमचुनावमा उनी नेकपा मालेको तर्फबाट राष्ट्रिय पञ्चायतको जनपक्षीय उम्मेदवारमा उठेका थिए तर पराजित भए। उनले मालेको ‘होलटाइमर’ को रुपमा नै काम गरेका थिए। तर उनले २०३८ सालमा माले परित्याग गरी जातीय आन्दोलनमा लागेका थिए।

२०३९ साल १५ फागुनमा ‘नेपाल लांघाली परिवार संघ’ खोलेर जातीय आन्दोलनमा लागेका थिए। उनले आफ्नै नेतृत्वमा छुट्टै पार्टी समेत गठन गरेका थिए। पछिल्लो समयमा खपांगीले ’लिबरल डेमोक्रेटिक पार्टी’ गठन गरेका थिए।

राजा ज्ञानेन्द्रको शासनकालमा खपांगी राष्ट्रिय जनमुक्ति पार्टीको सिफारिसमा महिला बालवालिका तथा समाज कल्याण मन्त्री पनि भएका थिए। खपांगीको परिवारमा श्रीमती सहित दुई छोरी र दुई छोरा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.