|
फोटो : www.drishtinews.com

काठमाडौं : काठमाडौं जिल्ला अदालतको इजलास नं. १६। मंगलबार दिउँसो तीन नबज्दै खचाखच भरिइसकेको थियो। ढोकाबाट चियाएर हेर्नेहरु पनि उत्तिकै थिए। 

कारण थियो, चर्चित डन नाइके दीपक मनाङ्गेको मुद्दाको बहस। राजीव गुरुङ वास्तविक नाम भएका मनाङ्गेलाई अपहरण तथा शरीर बन्धकको मुद्दा सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले दर्ता गरेको थियो।  

तीन बजेबाट शुरु भएको बहस पाँच बज्न पाँच मिनेट बाँकी हुदाँसम्म चलेको थियो। सरकारी वकिलले आफ्नो धारणा राखेपछि मनाङ्गेको पक्षमा सात जना अधिवक्ताले बहस गरे। बरिष्ठ अधिवक्ता श्रीप्रसाद पण्डित, अधिवक्ताहरु बाबुराम कुँवर, श्रीराम घिमिरे, गोकुल भण्डारी, प्रकाश रावल, राम खड्का र केदार कार्कीले मनाङेको पक्षमा बहस गरेका थिए।

कार्यालय समय सकिन पाँच मिनेट बाँकी रहदा बहस सकिएपछि अदालतका अतिरिक्त न्यायाधीश ऋषिकेश वाग्लेले फैसला सुनाउन केही समय लिए। त्यही मौकामा बाहिर निस्किएका मनाङ्गेले पत्रकारहरुलाई देख्नासाथ भनिहाले ‘पुलिसले खुब मिडियावाजी गरिरहेको छ रे हैन।’

त्यति भनेर सहयोगीले ल्याएको खाजा खान थाले, मनाङ्गे। बफ म: म: ल्याएका रहेछन्, सहयोगीले म: म: खान लाग्दा सँगै रहेका वकिल र सहयोगीहरुसँग जिस्कदै भने ‘बफ पो रहेछ, फेरि बाहुनले पनि खाला है।’

म: म: खादै उनले बेकारमा आफुलाई फसाइएको तर्क गरे। 'ठूलो चलखेल भइराखेको छ, मलाई फसाउन' उनले भने 'तर प्रमाण केही छैन, मेरै पक्षमा फैसला हुन्छ।' उनले त्यतिमात्र के भनेका थिए फैसला पनि आइहाल्यो। उनले भने जस्तो उनको पक्षमा नभई उनलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश भयो। 

फैसला सुनेपछि अलिकति निराश देखिएका मनाङ्गेलाई प्रहरीले फुकाइसकेको हत्कडी फेरि लगायो र भ्यानमा राखेर लग्यो।  

उनलाई डिल्लीबजार कारागारमा राखिने काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार ध्रुवकुमार उप्रेतीले जानकारी दिए। ‘अपहरण तथा शरीर बन्धक उद्योगमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ’, उनले भने। 

गुण्डागर्दीको आरोपमा गएको असार १६ गते मनाङे पक्राउ परेका थिए। प्रहरीले उनलाई ६० दिनसम्म हिरासतमा राखेर सोमबार मात्र मुद्दा दर्ता गराएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.