२ नम्बर प्रदेशको राजधानी जनकपुर, नाम मधेस प्रदेश हुने दाबी

|

जनकपुरधामः राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रदेश नं.– २ को राजधानी जनकपुर हुने बताएका छन्। जनकपुरमा मधेसी कानुन व्यवसायी समाज जनकपुरले गरेको प्रतिनिधिसभा र प्रदेशसभामा विजयी उम्मेदवारलाई बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष महतोले प्रदेश नं.– २ को राजधानी जनकपुरधाम हुने र २ नम्बर प्रदेशको नाम मधेस प्रदेश हुने बताएका हुन्।

महतोले भने, ‘मैले जय नेपाललाई रोक्न वा छेक्न भनेको होइन, तर त्योभन्दा पहिले जय मधेस हुनुपर्छ। जसरी विकास र अधिकार एकअर्काका परिपूरक हुन्, त्यसरी नै सरकारले हिमाल, पहाड, तराई र मधेसका लागि एउटै साझा नीति अपनाउनुपर्छ।’ उनले जुन दिन हिमाल, पहाड, तराई र मधेसका सम्पूर्ण जनताले सम्मानपूर्वक अधिकार पाउँछन्, त्यस दिन कसैलाई जय नेपाल भन्न लाज नलाग्ने बताउँदै भने, ‘त्यो दिन म पनि जय नेपालको नारा लगाउँछु, तर अहिले यो विभेदका बाबजुद जय नेपाल भन्न सक्दिनँ, अहिले जय मधेस नै ठीक छ।’

महतोले खस शासकहरूले आन्दोलनको उपलब्धिलाई स्वीकार गरेर केन्द्रीय शासन पद्धतिलाई प्रदेश सरकारमा दिए पनि प्रादेशिक सरकारको अधिकार कटौती गरी केन्द्रमै राखेको प्रति कडा आलोचना गर्दै प्रदेश सरकारले अधिकार नदिए प्रदेशसभाको कुर्सी भाँचिने चेतावनी पनि दिए। उनले अब संविधान संशोधनको मुद्दा र अधिकारप्राप्त प्रदेश सरकारको एजेण्डाका साथ विकासको मुद्दा लिएर मधेसी गठबन्धन अगाडि बढ्ने पनि बताए।

मधेशी गठबन्धनबाट विजयी धनुषा क्षेत्र नं.– ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र महतो, क्षेत्र नं.– २ का उमाशंकर अरगरिया, प्रदेशसभा सदस्य रामआशिष यादव, सुरिता साह, परमेश्वर साह, ज्ञानेन्द्रकुमार यादवसहितलाई सम्मान गरिएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.