|

काठमाडौं : प्रहरी सेवामा पहिले सान थियो। मान थियो। उच्च घरानाहरु प्रहरी सेवामा रहेकासँग छोराछोरीको वैवाहिक सम्बन्ध गास्न रुचाउँथे। युवाहरुको पहिलो रोजाई पनि सेना र प्रहरीको जागिर नै हुन्थ्यो। 

तर, अहिले समय बदलिएको छ। प्रहरीमा नै जागिर आएकाहरु नै धमाधम जागिर छोड्न थालेका छन्। दिनमा पाँच जना प्रहरीले सेवा छाड्दै विदेशतिर लाग्ने गरेको तथ्याङ्क प्रहरी प्रधान कार्यालयमा छ। 

पछिल्लो समय नेपाल प्रहरीका दुई उच्च अधिकृत विदामा छन्। प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरु रामकुमार खनाल र केशव अधिकारी बिदा लिई विदेश भ्रमणमा छन्। डिआइजी खनाल क्यानडामा छन् भने अधिकारी अमेरिकामा। 

डिआइजी खनालकी पत्नीले क्यानडाको पिआर लिएकी छिन्। त्यसैले उनी पनि बिदा लिएर उतै पारिवारिक भेटघाटका लागि गएका हुन्। अर्का डिआइजी अधिकारी छोराको ग्र्याजुएसन डे मा सहभागी हुन अमेरिका लागेका पुगेका छन्। भदौ ३० गतेसम्मको विदा लिएको भएपनि उनी थप बिदा लिने तयारीमा रहेको प्रहरी उच्च स्रोतले जानकारी दियो। 

खनाल र अधिकारी अब यसभन्दा माथिल्लो पदमा बढुवा नहुने पक्का भएपछि विदेशतिर लागेको हुनसक्ने अनुमान प्रहरी उच्च अधिकारीहरुले नै गर्छन्। यी दुई डिआइजीसहित अर्का डिआइजी हेमन्त मल्लले पनि २७ कात्तिकमा सेवा अवधिका हिसाबले अवकाश पाउँदैछन्।

उनीहरु तीनै जना ०६८ कात्तिक २६ मा बढुवा भएका थिए। उनीहरु यही कात्तिक २७ गतेबाट प्रहरी सेवामा हुदैनन। ‘अब यहाँ पनि माथि जानसक्ने ठाउँ छैन, अनि त्यही पोष्टमा हल्लिएर के गर्नु भन्ने सोचाई आयो होला’, एक प्रहरी उच्च अधिकृत भन्छन् ‘त्यसैले विदेश गएको हुन सक्छ। फर्कनसक्ने सम्भावना कम देखिन्छ।’ 

हुन त यसभन्दा अघि पनि सरुवा र वढुवामा चित्त नबुझेपछि प्रहरी संगठन छोडेर विदेश जाने र अन्य क्षेत्रमा लाग्ने प्रहरी अधिकृतहरु नभएका होइनन्। तर, पछिल्लो समयमा प्रथम श्रेणीका अघिकृतहरुले राजिनामा दिएर विदेश पलायन हुनु भनेको भने यो पहिलो घटना हुनेछ। 

डिआइजी खनाल, अधिकारी र मल्लले २०४३ सालमा प्रहरी निरीक्षक पदबाट सेवा शुरु गरेका हुन्। ३० वर्ष सेवाअवधि विताइसकेको संगठनलाई केही समय बाँकी हुँदा नै छोडेर जानुलाई राम्रो मान्न नसकिने उच्च प्रहरी अधिकृतहरु वताउँछन्। 

पछिल्लो पटक प्रहरी वरिष्ठ उपरीक्षक सुबोध घिमिरेले पनि दुई वर्ष अवधी बाँकी छँदै राजिनामा दिएका थिए। प्रहरी उपरीक्षकबाट वरिष्ठ उपरीक्षक बनाउँदा पछि पारियो भन्ने उनको गुनासो थियो। डिआइजी हुने सम्भावना कम देखेपछि उनले पनि आफ्नो बाटो तताएको उनकै समकक्षीहरु बताउँछन। 

उनीहरुसँगै एसएसपी त्रय गणेश केसी, लव विष्ट र केदार भण्डारी पनि बढुवा नभई घर जाने अवस्था छ। एसएसपी घिमिरेसहित गत बैशाखयता भने दुई सय सात जनाले सेवाबाट राजिनामा दिएको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ। 

प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक एक–एक जनाले राजिनामा दिएका थिए। प्रहरी नायव निरीक्षक आठ, प्रहरी सहायक निरीक्षक ६४, प्रहरी हवल्दार ५९ र प्रहरी जवान ७० जनाले राजीनामा दिएका हुन्। 

गत वर्ष तीन डिएसपीसहित एक हजार दुई सय २१ जनाले प्रहरी सेवा छाडेको तथ्यांकमा उल्लेख छ। 

प्रहरीमा जागिर आकर्षक मानिदै आएपनि छाड्ने क्रम पनि बढेको यो तथ्यांकले देखाउँछ। सशस्त्र द्वन्द्वको बेला असुरक्षित महसुस गर्दै जागिर छाड्दै विदेशिने क्रम बढेको थियो। अहिले पनि विदेशमा राम्रो कमाई हुने भएकोले संगठन छोड्नेहरु भएको पूर्व प्रहरी नायव महानिरीक्षक कुमार कोइरालाले बताए। 

‘समाजमा इज्जत, प्रतिष्ठा हुनुका साथै कुनै पनि कार्यालयको इन्चार्ज भएपनि कमाई पनि राम्रो हुने भएकोले युवाहरुको प्रहरी सेवामा आकर्षण थियो’, उनी भन्छन् ‘तर, केही वर्ष सुरक्षा निकायमा काम गरेपछि विदेशमा राम्रो कमाइ हुनेपछि विदेश पलायन हुने क्रम बढेको छ।’

प्रमोसन नहुने, मिसनमा जान सोर्सफार्स पनि नभएका र प्रमोसन पनि नहुने भएकाहरुले छोड्ने गर्छन्। पछिल्लो समय पैसा पनि नहुने र प्रमोसन पनि नहुने भएपछि वितृष्णा बढेको उनले बताए। जसले गर्दा सरकारले गरेको लगानी खेर गइरहेको छ।

उनका अनुसार तल्लो तहका प्रहरी कर्मचारीहरु केही वर्ष अनुभव लिएर खाडी मुलुकका साथै मकाउ र मलेसियामा सेक्युरिटीमा राम्रो कमाई हुन थालेपछि संगठन छाड्ने क्रम बढेको छ। त्यस्तै माथिल्लो तहका अधिकृतहरु भने अमेरिका, अष्ट्रेलिया, बेलायत र क्यानाडा जाने र उतै बस्ने गर्ने गरेको पूर्व डिआइजी कोइरालाको छ।

प्रहरी प्रवक्ता डिआइजी माधव जोशी पनि प्रहरी सेवाभन्दा बाहिर राम्रो अवसर पाएकोले सेवा छाड्ने क्रम बढेको स्वीकार्छन्। आफ्नो वृत्ति विकास नभएपछि राजिनामा दिने गर्ने गरेका छन्’, प्रवक्ता जोशीले भने ’सरुवा, बढुवा र कार्य क्षमताको मूल्यांकन सहि रुपमा नहुँदा निराश भएकाहरुले छोडिरहेका छन्।’ 

करिब दुई वर्ष अगाडि पनि प्रहरी वरिष्ठ उपरीक्षक घनानन्द भट्टले २७ वर्ष सेवा गरेर राजिनामा दिएका थिए। उनी आफूभन्दा कनिष्ठलाई बढुवा गराएको भन्दै सेवामा बस्न चाहेनन्। श्रीमतीलाई डिभी परेर प्रहरी नायव उपरीक्षक जगदीशचन्द्र पोखरेल, दिवेश उदास र प्रहरी निरीक्षक दीपक भण्डारी पनि अमेरिका लागेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.