राष्ट्रपतिका सल्लाहकार भन्छन्- 'आश्चर्यजनक'

|

काठमाडौं : भारतका राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणमा एक दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयको विरोध भैरहेका बेला प्रधानमन्त्रीका एकजना सल्लाहकारले राष्ट्रपति विद्यादेवी भण्डारीको सुझावमा सरकारले उक्त निर्णय गरेको बताएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दुई छिमेकी भारत र चीनका राष्ट्रप्रमुख नेपालको राजकीय भ्रमणमा आउँदा एक दिन बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णयको पक्ष/विपक्षमा सोसल मिडियामा बहस भैरहेका बेला सत्तारुढ दल नेकपा माओवादी केन्द्रकै नेता नारायणकाजी श्रेष्ठले पनि फेसबुकमार्फत सरकारको निर्णयलाई अनुपयुक्त र अस्वभाविक भनेका छन्।

सरकारको निर्णयको विरोध भैरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह र सल्लाहमा उक्त निर्णय गरेको बताए। भारतका राष्ट्रपति प्रणव मुखर्जी राष्ट्रपति भण्डारीको निमन्त्रणामा यही १७ गते नेपालको राजकीय भ्रमणमा आउँदैछन्। सरकारले भ्रमणको पहिलो दिन बिदा दिने निर्णय गरेको थियो।

'सर्वदलीय बैठकमा राष्ट्रपतिज्यूले बिदा दिँदा ठिक होला कि भनेर आग्रह गर्नुभयो', खनालले थाहाखबरसँग भने, 'उहाँको सुझाव र आग्रहलाई ध्यानमा राख्दै गृहमन्त्रीले क्याबिनेटमा प्रस्ताव राख्नुभयो र निर्णय भयो।'

बुधबार राष्ट्रपति कार्यालयमा भएको बैठकमा राष्ट्रपतिले उक्त आग्रह गरेपछि प्रधानमन्त्रीले क्याबिन्टमा लानुअघि सरकारका सचिवहरुसँग यसबारेमा परामर्श गरेका थिए। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार खनालका अनुसार प्रधानमन्त्रीले 'राष्ट्रपतिबाट आग्रह आएको छ के गरौँ' भनेर सोधेका थिए।

'भारतलाई रिझाउन होइन'

भारतलाई रिझाउन सरकारले बिदा दिने निर्णय भएको चर्चा भैरहेका बेला खनालले सरकारविरुद्ध प्रोपगन्डा गर्न चाहनेले त्यस्तो आरोप लगाएको बताए। 'भारतलाई रिझाउन सरकारले निर्णय गरेको किमार्थ सत्य होइन', खनालले भने, 'भारतलाई रिझाउनुपर्ने पनि छैन। राष्ट्रप्रमुख नै राजकीय भ्रमणमा आउने भएपछि राष्ट्रिय स्वागत देखाउँ भनेर यो निर्णय गरिएको हो।'

यद्यपि उनले निर्णय गर्नुअघि पर्याप्त छलफल हुन नसकेको बताए। 'देशभर बिदा दिने कि उपत्यकामा मात्र बिदा दिने कि वा उहाँ जाने ठाउँमा मात्र बिदा दिने भन्नेमा छलफल हुनसक्थ्यो', खनालले भने, 'उहाँ जहाँ जानुहनुथ्यो त्यहाँ बिदा दिएको भए पनि हुन्थ्यो होला। अथवा उपत्यकामा मात्र बिदा दिन पनि सकिन्थ्यो होला। तर समय असाध्यै कम भयो। छलफल पनि गहन रुपमा भएन। राष्ट्रपतिको आग्रहलाई ध्यान राखेर निर्णय गरियो।'

खनालले सरकारको निर्णयबारे भैरहेको टिप्पणीबारे भने- अनावश्यक रुपमा बढाउनुपर्ने कारण केही देख्दिनँ।

आश्चर्यजनकः राष्ट्रपति कार्यालय

प्रधानमन्त्रीका सल्लाहकारले राष्ट्रपतिको सल्लाहबमोजिम सरकारले निर्णय गरेको भने पनि राष्ट्रपति कार्यालयले भने यसलाई 'आश्चर्यजनक' भनेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीका एक सल्लाहकारले प्रधानमन्त्रीका सल्लाहकारको भनाईलाई 'आश्चर्यको विषय' भएको टिप्पणी गरे।

'नेपालमा सेरेमोनियल राष्ट्रपति हुनुहुन्छ, कार्यकारी प्रधानमन्त्री हुनुहुन्छ। कुन सन्दर्भमा उहाँले भन्नुभयो, मलाई थाहा भएन', आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै ती सल्लाहकारले भने, 'कसैले त्यसो भन्छ भने यो आश्चर्यको विषय हो।'  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.