|

काठमाडौं : गोरखाको बारपाकलाईलाई केन्द्र बनाई शक्तिशाली भूकम्प गएको आज पाँच वर्ष पूरा भएको छ। पाँच वर्षमा पुनर्निर्माणको काम करिब ८० प्रतिशत सकिएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ। 

प्रधिकरणका प्रवक्ता मनोहरि घिमिरेका अनुसार तथ्यांकमा अनुदान सम्झौता गरेका एक लाख ४९ हजार तीन सय ७२ घर पूर्णरूपमा बनिसकेका छन् भने ६ लाख १२ हजार ९३५ घर पुनर्निर्माणको अन्तिम चरणमा छन्।कुल ७ लाख ६२ हजार ३०७ घरले अनुदान सम्झौता गरेका थिए। 

०७२ साल वैशाख १२ गते गएको  ७ दशमलव ६ रिक्टर स्केलको भूकम्पका कारण ८ हजारभन्दा बढीको मृत्यु २२ हजार मानिस घाइते भएका थिए।

त्यस्तै, राष्ट्रिय योजना आयोगले २०७२ मा गरेको विपद्को क्षति आँकलन प्रतिवेदनअनुसार ४ लाख ९५ हजार ८५२ घर पूर्णरूपमा र २ लाख ५६ हजार ६५७ घरमा आंशिक क्षति पुगेको थियो।

भूकम्पबाट ३२ जिल्ला बढी प्रभावित भएका थिए। अति प्रभावित १४ जिल्ला भएको र १८ जिल्ला कम प्रभावित थिए। भूकम्पले ८ लाखभन्दा बढी भौतिक संरचना भत्किएका थिए।

भूकम्‍पले क्षति पुर्‍याएका उपत्यका र उपत्यकाबाहिरका धेरै निजी आवास तथा प्राचीन सम्पदामध्ये केहीको पुनर्निर्माण सकिएको र केहीको जारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

प्राधिकरणले ४ लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको र थप १ लाख ९० हजार १४५ अर्थात् २५ प्रतिशत लाभग्राही पुनर्निर्माणको चरणमा रहेको र समग्रमा ८८ प्रतिशत सम्पन्न भएको छ।

प्राधिकरणले अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको संख्या ५ लाख ६१ हजार ६५० अर्थात ७२ प्रतिशत पुगेको उनले जानकारी दिए।पुनर्निर्माणअन्तर्गत सुरक्षा निकायका १९४ वटा संरचनाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने २२ वटा पुनर्निर्माणको चरणमा छन्।

सम्पदाको धमाधम काम

यसैगरी, काठमाडौं उपत्यकामा रहेको सम्पदा निर्माण जिम्मा पाएको प्राधिकरणले धमाधम काम गरिरहेको छ। भूकम्पले भत्काएको धरहराको अहिलेसम्म १० तला निर्माण कार्य सकिएको छ।

११ तला निर्माण गर्दै गर्दा लकडाउनले काम रोकिए पनि दैनिक ४० जनाले काम गरिरहेका छन्। फ्रेम निर्माण काम र खाडल खन्ने काम भइरहेको छ। धरहरा बनाउन ३ अर्ब ४५ करोड रुपैयाँ खर्च हुने बताइएको छ।

त्यस्तै, रानीपोखरीको निर्माण अन्तिम चरणमा पुगेको पुनर्निर्माण प्राधिकरणका सम्पदा प्रमुख राजुमान मानन्धरले बताए। रानीपोखरीमा काम गरिरहेका कामदार अहिले घर गएकाले बोलाएर काममा लगाउने सल्लाह भइरहेको मानन्धरले बताए।
 
रानीपोखरीको १५ प्रतिशत काम बाँकी रहेको छ। 'मन्दिरको उत्तरपटिको मोहडामा इँटा लगाउने काम भइरेहको छ,' मानन्धरले भने,' पानी भर्नको लागि पोखरीको पूर्व उत्‍तर र दक्षिण पश्चिममा २ वटा बोरिङ राखिएको छ।'

मन्दिरको ४० प्रतिशत काम सकिएको उनले बताए। लकडाउन खुल्नेबित्तिकै कामको प्रक्रियालाई अगाडि बढाउने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.