चोरी र झगडा गरेर जेल जाने धेरै

|

काठमाडौ : वैदेशिक रोजगारीको शिलशिलामा गएका ५ सय २५ जना नेपाली कामदार विभिन्‍न मुलुकका जेलमा छन्। विदेशका विभिन्‍न जेलमा १९ महिला र ५ सय ६ पुरुषसहित ५ सय २५ जना नेपाली कामदार जेलमा परेको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

मलेसियामा सबैभन्दा बढी नेपाली कामदारहरु जेलमा रहेको वैदेशिक रोजगार बोर्डका प्रवक्ता दिनबन्धु सुवेदीले बताए। उनका अनुसार मलेसियामा १ सय ९८ पुरुष र २ महिला गरि २ सय जना नेपाली जेलमा रहेका छन्।

यस्तै, युएईमा १२ महिला र १ सय ७३ पुरुष गरि १ सय ८५ जना, कुवेतमा ३ महिला र ५५ पुरुष गरि ५८ जना, कतारमा २० जना, ओमनमा २ महिला र १ पुरुष गरि तीन जना र बहराइनमा ५ जना रोजगारीमा गएका कामदार जेलमा छन्।

साउदी अरबका दुई फरक जेलमा गरेर ५४ जना नेपाली कामदार रहेका छन्। जोद्बामा ३१ र रियादमा २३ जना रहेको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ।

कतारमा ३५ जना नेपाली कामदार रहेको ठाउँमा भर्खरै आममाफी पाएर १५ जना छुटेको प्रवक्ता सुवेदीले बताए। सजाय थोरै पाएका, चोरीमा संलग्न भएका र अल्कोहल सेवन गरेका नेपालीले कोभिड-१९ को महामारीलाई लक्षित गरेर कतार सरकारले आममाफी दिएको हुन सक्ने उनले जानकारी दिए।

सरकारले रोजगारदाता देशका सम्बन्धित निकायसँग कानूनी परामर्श गरेर विदेशी जेलमा रहेका नेपाली कामदार छुटाउन प्रयास गर्न सक्ने सुवेदीले बताए। विदेशस्थित जेलमा रहेका नेपालका कुटनीतिक नियोगहरुले कानुनी परामर्श गरेर नेपाली कामदारलाई निकाल्न पहल गर्न सक्ने उनले बताए।

'वैदेशिक रोजगारीमा गएका नेपाली कामदार कसरी जेल परेका छन्। यस विषयमा बोर्डले अध्ययन र अनुसन्धान गरिरहेको छ,' उनले भने,' सामान्य मुद्दामा जेल परेका कामदार छुटाउन नेपाल सरकारको तर्फबाट पहल गरिन्छ। नेपाली कामदारको उचित संरक्षण गर्नलाई विशेष पत्राचार गरिएको छ। सबैभन्दा बढी चोरीमा संलग्न र झगडा गरेर जेल परेका छन्।

कूटनीतिक नियोगमार्फत नेपाली कामदारको लागि उचित हेरचाहको पहल गरिने उनले बताए। विदेशमा रहेका कामदारहरु त्यहाँको कानुन अनुसार जेलमा बसेको उनले स्पष्ट पारे। अपराधको प्रकृति हेरेर नै उनीहरुलाई जेल सजाय तोकेको हुन सक्ने उनले बताए। वैदेशिक रोजगार बोर्डले कानुनी परामर्शको लागि लाग्‍ने वकिल खर्च व्यहोर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.