समाज

सांसदहरुले भने - नेता सरकार गिराउन व्यस्त, बाढीपहिरोले जनताको बिचल्ली

साउन ११, २०७३

    काठमाडौं :  निरन्तरको वर्षाले देशका बिभिन्न भूभाग डुबान र पहिराको उच्च जोखिम परेका बेला दलहरु सरकार गिराउन र बनाउन ब्यस्त भएको भन्दै सांसदहरुले नै गुनासो गरेका छन्।

    व्यवस्थापिका–संसद्को मंगलबारको बैठकको विशेष समयमा उनीहरुले सदन सरकार गिराउन र बनाउन व्यस्त रहेको भन्दै बाढीपहिरो, डुबानपीडित जनतालाई सरकारले उद्धार गर्नु त परै जाओस् राहत पुर्‍याउन समेत ध्यान नदिएको गुनासो गरे।

    सांसदहरुले बाढीपीडित जनताले एक मुठी चामल, नुन, त्रिपाल देऊ भन्दा पनि सरकारको उपस्थिति नरहेकामा आपत्ति जनाए। बाढी, डुबानपीडित जनतालाई राहत दिन सरकारलाई रुलिङ गर्न समेत उनीहरुले माग गरे।

    सांसद रामकृष्ण यादवले तराईका अधिकांश जिल्ला डुबानमा परेकाले डुबान तथा बाढीपीडितलाई सरकारले राहत पुर्‍याउन नसकेको आरोप लगाए। सांसद वैजनाथ चौधरीले सिरहा र सप्तरीका सबै भूभाग डुबानमा परेको हुँदा सरकारले उद्दार तथा राहत पुर्‍याउन नसकेको बताए।  

    सांसद शिवकुमार मण्डलले नवलपरासीको जिल्ला सदरमुकाम परासीमा बाढी पसेको हुँदा हजारौं जनता बिचल्ली परेको जानकारी दिए।

    सांसद वृजेशकुमार गुप्ता र डिम्पलकुमारी झाले तराईका भूभाग बर्सेनि डुबानमा पर्छ भन्ने सरकारलाई जानकारी भएपनि क्षति न्यूनीकरणका लागि पूर्व तयारी नगरेको आरोप लगाए।

    सांसद डिल्लीप्रसाद काफ्लेले सरकारले बाढीपहिरोपीडित जनतलाई राहत र उद्धारमा ध्यान दिनुपर्ने बताए। सांसद भरतकुमार साहले रुपन्देही जिल्लामा तिनाउ नदीमा आएको बाढीका कारण धेरै गाउँ डुबानमा परेको बताउँदै बिचल्लीमा परेका बाढीपीडितलाई राहत दिन माग गरे।  

    सांसद गणेशकुमार पहाडीले सिन्धुली जिल्लामा हालैको वर्षातले पहिरो जाँदा एक जनाको मृत्यु भएको बताउँदै अन्नभण्डारको क्षेत्रका रुपमा रहेका महाभारत र चुरे क्षेत्रमा नदी नियन्त्रण गर्न सरकार र सदनको ध्यानाकर्षण गराए।  

    सांसद सकलदेव सुतियारले सप्तरी जिल्लाको गोबरगाढा गाउँ पूरै डुबानमा परेको हुँदा उद्दारमा सरकारको ध्यान आकर्षण गराए। सांसद ऋषिकेश पोखरेल, नरसिंह चौधरी र अशोककुमार मण्डलले सरकारले बाढीपहिरो र डुबानको समस्या समाधान गर्नका लागि पूर्वतयारीमा ध्यान दिन नसक्दा बर्षेनी यस्ता समस्या आउने गरेको बताए।

    सांसद हरिप्रसाद नेपालले कालीगण्डकीमा आएको बाढीले तल्लो तटीय क्षेत्रमा उच्च जोखिममा परेको तर्फ सरकारको ध्यानाकर्षण गराए। सांसद दिलशोभा पुन र सीताराम महतोले बाढीपहिरो र डुबानपीडितलाई राहत पुर्‍याउन माग गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]