राजनीति

तुलसीपुर उपमहानगरको नीति तथा कार्यक्रम : बाँझो जमीन राख्नेलाई जरिवानादेखि सुकुम्वासीलाई घरसम्म

असार ८, २०७५

    दाङ : तुलसीपुर उपमहानगरपालिकाले आगामी वर्षलाई व्यवसायिक कृषि तथा पशुपालन वर्षको रूपमा मनाउने भएको छ। आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख घनश्याम पाण्डेले विभिन्न कार्यक्रम अन्तर्गत ६०० विगाहा जग्गामा व्यवसायिक फलफूल बगैँचा निर्माण गर्न र ५०० विगाहामा व्यावसायिक तथा बेमौसमी तरकारी खेती उत्पादन गर्ने बताए।

    त्यसैगरी मेयर पाण्डेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा व्यवसायिक मह उत्पादन तथा प्रशोधन , दूध, मासु र अण्डाको उत्पादनलाई वृद्धि गर्न र उत्पादित वस्तुहरूसँग सम्वन्धित उद्योग स्थापना गर्नका लागि विशेष कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

    'प्रांगारिक कृषि उत्पादनमा वृद्धि, नागरिकको स्वास्थ्य र नगरको समृद्धि' भन्ने नारासहित कृषि पकेट क्षेत्र निर्धारण गरी उत्पादन तथा उत्पादकत्व बढाउन कृषि सामग्री, सीप, पुँजी र प्रविधिको प्रयोगलाई व्यापक बनाइने कार्यक्रममा उल्लेख छ। उपमहानगरपालिकाले प्रांगारिक कृषि उत्पादनलाई विस्तार गर्दै बजार क्षेत्रमा प्रांगारिक उत्पादनहरू पाइने पसलहरू सञ्चालन गर्न स्थानीय समुदाय वा सहकारीलाई सहयोग प्रदान बताएको छ।

    नीति तथा कार्यक्रममा व्यावसायिक पशुपंक्षी तथा माछापालनमा जोड, २५ हजार लिटर दैनिक दुध संकलन, कृषि योग्य जमीनको खण्डीकरणमा रोक, र १५ सय हेक्टर जमीनलाई पूर्ण सिँचाइयुक्त बनाइने बताइएको छ।

    कुनै पनि जमीनलाई बाँझो राख्न नपाइने नीति अघि सारेको उपमहानगरपालिकाले बाँझो राखेमा अतिरिक्त मालपोत शुल्क र वर्षमा तीन वाली उत्पादन गर्ने कृषकलाई करमा छुट दिइने कार्यक्रममा उल्लेख गरिएको छ।

    त्यसैगरी प्रत्येक वर्ष ‘घुम्न जाऔँ तुलसीपुर’ अभियानलाई सफल पार्न तुलसीपुरमा पर्यटकीय रोजाइका आवास, परिकार, मनोरञ्जन, खेलकुद, महोत्सव आदिको गुणस्तरिय सेवा उपलब्ध गराउन निजी तथा सहकारी क्षेत्रलाई प्रेरित कार्यक्रम अघि सारिएको छ।

    पर्यटकीय सम्भावना वोकेका चमेर गुफा, छिल्लीकोट, थर्कोट, राप्ती शान्ती उद्यान, दंगिशरण दरवार, गौरीगाउँ ताल, बबई नदी लगायतका प्राकृतिक, ऐतिहासिक, पुरातात्विक स्थलहरूलाई थप सौन्दर्यकरण र सुविधाजनक वनाइने बताइएको छ। स्वस्थ नागरिक सम्पन्न नगर अभियान अन्र्गत तुलसीपुर उपमहानगरपालिकाका हरेक नागरिकको वर्षमा दुइपटकसम्म स्वास्थ्य जाँच गर्ने बानी पार्न विशेष अभियान सञ्चालन गर्ने, सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यप्रति सजग रहदै हरेक सन्ततीलाई अब्बल नागरिकको रूपमा विकास गर्नुका सथै गुणस्तरीय स्वास्थ्य सेवामा सवैको पहुँच हुनेगरी स्वास्थ्य सेवा उपलब्ध गराउन राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमलाई यसै वर्षदेखि तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र गर्ने कार्यक्रम तय गरिएको छ।

    शिक्षातर्फ चार वर्ष उमेर समूहका सबै बालबालिकालाई प्रारम्भिक बालशिक्षाको अवसर प्रदान गर्ने तथा अनौपचारिक शिक्षा अन्र्गत ६० वर्ष उमेर नपगेका निरक्षरलाई साक्षर बनाउन कक्षा ११ र १२ का विद्यार्थीलाई स्वयं सेवकको रूपमा परिचालन गरिने बताइएको छ।

    त्यसैगरी तुलसीपुरलाई महिला हिंसा, छुवाछुत, अन्धविश्वास र कुप्रथा लगायतका सम्पूर्ण गलत प्रचलन, तथा प्रवृत्तीलाई अन्त्य गरी लैङ्गिक समानतासहितको उच्च संस्कारयुक्त नागरिक तथा सभ्य समाजको निर्माण बताइएको छ। त्यस्तै 'तुलसीपुरको पहिचान : सबै जातजातिको सम्मान' नगर बस संचालन, सडकलाई कम्तिमा आठ मिटर १२ मिटरसम्मको चौडाइ मापदण्ड बनाइ लागू गर्ने, तुलसीपुरमा आइटी पार्क निर्माण गर्ने लगाएतका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

विकास डाँगी

डाँगी थाहा खबरका दाङ समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]