अर्थ

६३५ खडेरी पीडित किसानलाई राहत वितरण

पुस १६, २०७५

    तेह्रथुम : फेदाप गाउँपालिकाका ६३५ खडेरी पीडित किसानलाई राहत रकम वितरण गरिएको छ। वडा १ सिम्ले र वडा ३ जलजलेका सुख्खाग्रस्त क्षेत्रका कृषकलाई प्रति घरधुरी पाँचहजार रूपैयाँका दरले ३१ लाख ७५ हजार राहत रकम वितरण गरिएको हो। खडेरी पीडित किसानलाई प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले राहत वितरण गरेका हुन्।

    फेदापका सुख्खाग्रस्त क्षेत्रको स्थलगत अध्ययन गरेपश्चात् नामावली संकलन गरी ६३५ खडेरी पीडित किसानलाई राहत रकम वितरण गरिएको राहत वितरण समितिका संयोजक फेदाप गाउँपालिकका अध्यक्ष हरिप्रसाद चोङवाङले बताए। कार्यक्रममा प्रदेश सांसद द्वय लक्ष्मण तिवारी र तेजमान कन्दङ्वा, गाउँपालिकाकी उपाध्यक्ष गीता थापा, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

    कार्यक्रम तोकिएको समय भन्दा निकै ढिला सुरु भएकोमा ३ घण्टा बढी हिँडेर राहत लिन आएका खडेरी पीडितले गुनासो गर्दै राहत लिँदा साँझ परेको कारण आफूहरूलाई घर पुग्न समस्या परेको बताएका छन्। 

    ह्यात्रुङ झरना प्रदेश सरकारको प्राथमिकतामा : मन्त्री आङ्बो 

    ओझेलमा परेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरनाको विकासका लागि प्रदेश सरकारले प्राथमिकता दिने मन्त्री आङ्बोेले बताए। उनले झरनाको विकास गर्न पर्यटन प्रवर्द्धनका लागि विस्तृत योजना बनेपछि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने समेत बताएका छन्। यस अघि नै झरनासम्म जाने सडकको ट्याक ओपन भए पनि व्यवस्थित भने भएको छैन।

    ३६५ मिटर अग्लो ह्यात्रुंग झरनाको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन समेत गरेको छ। झरनाको अवलोकनपछि मन्त्री आङ्बोले सडकलाई व्यवस्थित गर्न निर्देशन समेत दिएका छन्। 

    सुख्खाग्रस्त क्षेत्रका किसानहरूलाई राहत वितरण कार्यक्रममा आउने क्रममा शनिबार झरनाको प्रत्यक्ष अवलोकन गर्दै दक्षिण एसियाकै अग्लो झरना प्रदेशकै प्राकृतिक सम्पत्ति भएको बताए। सम्दु माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नवीन चोङवाङले प्रस्तुत गरेको मागपत्रबारे मन्त्री आङ्वोले झरनासम्म सडक, विद्युत लगायतका पूर्वाधार निर्माण तथा विकास गरी पर्यटकीय आकर्षणको केन्द्र बनाउनु जरुरी रहेको बताएका छन्। 

    झरनाको विकासका लागि गाउँपालिकाले २८ लाख रुपैयाँ छुट्याएको छ। झरनालाई बाह्रै महिना पर्यटक आगमन बढाउन प्रयत्न भइरहेको गाउँपालिकाले जनाएको छ। झरनाको नजिकैबाट मध्यपहाडी लोकमार्ग निर्माण भइरहेको कारण पनि झरनाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने स्थानीयबासीको भनाई छ।

    ह्यात्रुङ झरनालाई सामान्य ज्ञानमा मात्रै सीमित नराखी प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्न सके यस क्षेत्रको पर्यटन विकास हुनुका साथै आयआर्जनमा समेत टेवा पुग्ने अगुवाहरू बताउँछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]