समाज

पश्चिम सेती समयमै नबनेकोप्रति चिन्ता व्यक्त

माघ २०, २०७५

    डडेल्धुरा : ७५० मेघावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्ने भनेको वषौँ बितिसकेको छ। तर यो आयोजना समयमै नबनेकोप्रति यहाँका स्थानीय तथा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्।

    पश्चिम सेती निर्माणका लागि चिनियाँ कम्पनी थ्री गर्जेजले ल्याएको समान समेत धमाधम लैजान थालेको छ। ७५० मेगावाटको पश्चिम सेती परियोजनाका सामान चिनियाँ थ्री गर्जेज कम्पनीले ओसार्न थालेको हो। पश्चिम सेती नबन्ने भएपछि परियोजना क्षेत्रमा आफूले ल्याएका मेसिनरी औजार कम्पनीले हेलिकाेप्टरमार्फत बाेक्न थालेकोमा समेत यहाँका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। 

    आइतबार अमरगढी नगरपालिकामा राष्ट्रिय योजना आयोगले तर्जुमा गर्न लागेको पन्ध्रौँ आधारपत्रको मस्यौदाबारे सुझाव संकलन गर्न आयोजित कार्यक्रममा यहाँका सरोकारवालाहरुले समयमै नबनेको प्रति चिन्ता व्यक्त गरेका हुन्। राष्ट्रिय योजना आयोगले १५औँ पञ्चवर्षीय योजनाका लागि तयार पारेको मस्यौदामा सुदूर पश्चिमलाई न्यायिक तरिकाले समेट्न नसकेको समेत यस क्षेत्रका सरकोकारवालाले गुनासो गरेका छन्।

    आयोगले विगतकै परिपाटीलाई यस पटक पनि दोहर्‍याउन खोजेको भन्दै त्यसलाई सच्याएर पर्ने यहाँका जनप्रतिनिधिको सुझाव छ। राष्ट्रिय योजना आयोगले तर्जुमा  गर्न लागेको पन्ध्रौँ आधारपत्रको मस्यौदाबारे सुझाव संकलन गर्न आयोजित अन्तरसंवाद कार्यक्रमका सहभागीले सुदूरपश्चिम प्रदेशको न्यायोचित सहभागिता हुनुपर्ने धारण राखेका छन्। पश्चिम सेती जलविद्युत् आयोजना समयमै नबनेको प्रति डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले चिन्ता व्यक्त गरेका छन्। 

    ‘पश्चिम सेती बन्छ भन्ने कुरा सुनेको धेरै भयो। पटकपटक बन्छ मात्रै भनियो। तर अहिलेसम्म बनेको छैन।’ उनले भने, ‘सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना बन्नुपर्छ।’ सुदूरपश्चि क्षेत्रको पर्यटन विकासका लागि खप्तडको विकास र व्यापक प्रचारप्रसार हुनुपर्नेमा उनको जोड छ। साथै उनले खप्तडसम्म पुग्नका लागि उचित बाटो समेत नभएको र त्यहाँसम्म पर्यटक पुग्नको लागि पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक रहेको बताए। यदि खप्तडको पूर्वाधार विकास भयो भने सुदूरपश्चिम प्रदेशका अन्य पर्यटकीय क्षेत्रको पूर्वाधार विकासको आधार तयार हुनु भएको उनको ठम्याइ छ।

    सुदूरपश्चिममा थुप्रै जडीबुटी उत्पादनको सम्भावन भए राष्ट्रिय योजना आयोगले तर्जुमा गर्न लागेको पन्ध्रौँ आधारपत्रको मस्यौदामा यी सम्भावनाका कुरा नसमेटिएको अमरगढी नगरापलिका ७ का वडाअध्यक्ष खडक बोहराले बताए। यहाँका नागरिकलाई सक्षम बनाउनका लागि यी कुराहरु समेटिनु पर्नेमा उनको जोड छ।सुदूरपश्चिमका पहाडी जिल्लामा कृषिलाई आधुनिकीकारण, बजारीकरण, यान्त्रीकरण गरे अब पाँच वर्षभित्र कृषिमार्फत ‘सुखी नेपाली र समृद्ध नेपाल’ बन्ने अमरगढी कृषि शाखाका कृषि प्रसार अधिकृत टेकबहादुर विष्टको दाबी छ। यहाँका युवा देशमा रोजगारी नपाएर भारत जाने गरेको उनको भनाइ छ।

    विदेसीने युवाको आत्मसम्मानसहितको कृषि पेसातिर आर्कषण गर्न कसरी सकिन्छ त्यस तर्फ पनि ध्यान दिन आवश्यक रहेको उनले औँल्याए।आर्थिक वर्ष २०७६/०७७ बाट २०८०/०८१ सम्मका लागि नेपालको दीर्घकालीन सोचसहितको १५ औं पञ्चवर्षीय योजना बन्न लागेको हो। राष्ट्रिय योजना आयोगले २०७६/०७७ बाट ५ वर्षभित्र मुलुकमा समृद्धि र सुखको सिर्जना, १५ वर्षभित्र समृद्धि र सुखको तीब्रता र २५ वर्षभित्र समृद्धि र सुखको दीगोपनसहतिको समृद्ध नेपाल, खुसी नेपालीको मार्गचित्र तयार पारेको छ। 

    आयोगले तयार पारेका योजनाहरू कार्यान्वयनमा सबै सरकारहरू जिम्मेवार बन्नुपर्ने राष्ट्रिय योजना आयोगका सदस्य शुशिल भट्टले बताए। योजनाहरू कार्यान्वयनमा केन्द्र, प्रदेश र स्थानीय सरकार जिम्मेवार भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो। जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजनाका बारेमा सरकार गम्भीर रहेको राष्ट्रिय योजना आयोगका सदस्य भट्टले बताए। ‘पश्चिम सेतीका बारेमा अध्ययन गर्न एउटा अध्ययन समति पनि गठन भएको छ। उनले भने,‘पश्चिम सेतीका बारेमा दुई पटक हामीले अध्ययन गरिसकेका छौँ।’

    आयोगले देश र जनाको समग्र समृद्धिको स्थितिलाई आँकलन गरेर पञ्चवर्षीय योजना तयार पार्न लागेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]