|

गौर : रौतहटस्थित पूर्वाधार विकास कार्यालय गौरमा नेपाली काँग्रेसले ताला लगाएको छ। नेपाली काँग्रेसका जिल्ला सभापति एवम् प्रदेश सदस्य सुनिलकुमार यादवले प्रदेशबाट आएका विकास निर्माण सम्बन्धी कागजात हेरफेर गरेको, कार्यालय प्रमुख विनोद ठाकुर कार्यालयमा नबसेको र विगतमा पठाइएका पत्रहरू आर्थिक चलखेल गरेर अन्य व्यक्तिलाई दिँदै आएको आरोप लगाउँदै पूर्वाधार विकास कार्यालयमा बिहीबार ताला लगाएको हो।

वर्तमान बहालवाला मन्त्रीको इसारामा सबै कागजात कार्यालय प्रमुख ठाकुरले हेरफेर गरेर गडबडी उत्पन्न गर्न खोजेको गम्भीर आरोप लगाउँदै कार्यालयमा ताला लगाउन बाध्य भएको नेपाली काँग्रेस मधेश प्रदेशका सूचना सञ्चार विभागका प्रमुख नीतेशकुमार गुप्ताले बताए।

गुप्ताले बहालवाला भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवको निर्देशनमा विगतमा आएका योजनालाई लथालिंग बनाउने कार्यमा कार्यालय प्रमुख ठाकुर र त्यसमा कार्यरत इन्जिनियर रामबाबु साहले रकम लिएर पत्र दिँदै आएको आरोप लगाए।

कार्यालय प्रमुख ठाकुर र इन्जिनियर साहले कमिशनबापत रकम लिएर योजनाको कागजपत्र दिइरहेको तथा काम सम्पन्न योजनाको भुक्तानी गर्नुअघि कमिशन दिनेलाई मात्रै भुक्तानी दिएको भन्दै कार्यालयमा ताला लगाएको गुप्ताले बताए।

कमिशनबापतको रकम नपाउँदासम्म कुनै कागजात भुक्तानीको प्रक्रिया थालनी नगर्ने कर्मचारीहरूलाई आवश्यक कारबाही गर्नुपर्ने उनले माग गरे। भोलिदेखि दैनिक रूपमा पूर्वाधार विकास कार्यालयमा ताला लगाएर यिनीहरूलाई कारबाही नगराएसम्म आन्दोलन गरिरहने चेतावनी समेत गुप्ताले दिए।

यस विषयमा पूर्वाधार विकास कार्यालय रौतहटका प्रमुख इन्जिनियर ठाकुरले आरोपमा सत्यता नरहेको दाबी गर्दै कसैसँग सुपाडी खाएको भए देखाउन चुनौती दिएका छन्।

प्रदेशबाट आएका कागजातको कुरामा राजनीतिक स्तरबाट समस्या समाधान गर्नुपर्नेमा सबै दोष आफूमाथि थुपार्दा दुःख लागेको बताउँदै आफू कार्यालय प्रमुखका साथै एउटा इन्जिनियर भएको नाताले बिहान कार्यालयमा बसेर दिउँसो फिल्डमा गई भइरहेका काम अनुगमन गर्नुपरेको हुँदा उनीहरू कार्यालयमा आउँदा भेट नभएको बताए।

कार्यालयमा आउनुअघि फोन गरेर भन्नुपर्छ‚ त्यसो नगरी एकाएक आएपछि आफू फिल्डमा रहेको हुँदा कार्यालयमा ताला लगाउनु अत्यन्तै दु:खद कार्य भएको ठहर गर्दै कार्यालय बन्द भएपछि जनताको काम प्रभावित हुने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.