अर्थ

बैतडीका ५ स्थानीय तहको बजेट २ अर्ब, कृषि, शिक्षा र पूर्वाधार प्राथमिकतामा

असार ११, २०७६

    बैतडी : आगामी आर्थिक वर्ष २०७६ /०७७ का लागि बैतडीका ५ वटा स्थानीय तहले बजेट सार्वजनिक गरेका छन्। जिल्लामा रहेका १० वटा स्थानीय तहमध्ये ५ स्थानीय तहले मात्रै बजेट सार्वजनिक गरेका हुन्।

    मेलौली नगरपालिका, सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिकाको बजेट सार्वजनिक गरिएको छ। बजेट सार्वजनिक भएका यी स्थानीयको बजेट करिब २ अर्ब आसपास रहेको छ।  पाँचवटै स्थानीय तहको बजेट १ अर्ब  ८९ करोड १५ लाखको बजेट सार्वजनिक भएको छ भने अन्य स्थानीय तहले तयारी नपुगेको भन्दै केही दिनभित्रै बजेट आउने जनाएका छन्।

    जिल्लाको मेलौली नगरपालिकाले भैँसी सुत्केरीभत्ता दिने, नगरपालिकाले गत वर्ष दिँदै आएको विधुर भत्तामा ५०० थप गर्ने, एसइई परीक्षामा ए प्लस ग्रेड ल्याउने विद्यार्थीलाई नगरपालिकाका तर्फबाट छात्रवृत्ति प्रदान गर्ने, नगरपालिकाबाट तलबभत्ता पाउने कर्मचारीले प्रत्येक महिना १०५ रुपैयाँ आफ्नो आमाबुवाको खाता जम्मा गर्ने नीति लिएको छ।

    ३७ करोड ६५ लाख ८९ हजारको बजेट ल्याएको नगरपालिकाले स्वास्थ्य संस्थामा गर्भवती महिलाको पहुँच पुर्‍याउन महिलासँग उपमेयर कार्यक्रम, महिलाको क्षमता अभिवृद्धिका लागि महिलासँग द्वारिकादेवी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। बजेटलाई पूर्ण रुपमा कार्यान्वयनका गर्नका लागि नीति तथा कार्यक्रममै विशेष व्यवस्था गरिएको नगर उपप्रमुख राधा ओझाले बताइन्।

    यस्तै कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा जोड दिँदै शिवनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि २८ करोड ७९ लाख १५ हजार ७९२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेट सार्वजनिक गर्दै उपाध्यक्ष कुस्मा चन्दले ३५ वर्ष मुनिका एकल महिलालाई संगठित गरी उनीहरूको जीविकोपार्जनमा सुधार ल्याउने बताइन्।

    खानेपानीका मूहान संरक्षण गर्न रिचार्ज पोखरी बनाउने, एक वडा एक खेल मैदान, एक घर बीस फलफूलका विरुवा, पूर्ण सरसफाइयुक्त र पूर्ण संस्थागत सुत्केरी पालिका बनाउने कुरा पनि बजेटमा उल्लेख गरिएको छ।

    जिल्लाको दोगडाकेदार गाउँपालिकाले ४७ करोड ५ लाख ९३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा बजेटले जोड दिएको कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए। यस्तै विद्यालयका कर्मचारीलाई वार्षिक २ हजार प्रोत्साहन भत्ता दिने बजेटमा उल्लेख छ।

    जिल्लाको सबैभन्दा दुर्गम सिगास गाउँपालिकाले सडक, विद्युत् र शिक्षालाई प्राथमिकता प्रदान गर्दै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। ४१ करोड ६६ लाख २३ हजारको बजेट गाउँसभामा पेस गर्दै उपाध्यक्ष द्रोपती चन्दले सिगास गाउँपालिकालाई सडक सञ्जालमा जोड्ने मुख्य लक्ष्य रहेको बताइन्।

    स्थानीयको आवश्यकताका आधारमा बजेट ल्याइएको र त्यसको प्रभावकारी कार्यान्वयनका लागि रणनीतिसमेत बनाइएको प्रमुख प्रशासकीय अधिकृत रघुनाथले अवस्थीले बताए।

    यस्तै, जिल्लाको पञ्चेश्वर गाउँपालिकाले ३३ करोड ४४ लाख ५० हजार बराबरको बजेट सार्वजनिक गरेको छ। सबै घरमा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार गर्ने, गर्मागाड खोलामा १ किलोवाट क्षमताको निजी हाइड्रोपावर स्थापना गर्ने, १ घर १ मौरीघार, १ घर १० विरुवा, १ विद्यालय २० बोट, एक गाउँ एक पकेट क्षेत्र, सबै विद्यालयमा बाल उद्यान, सबै विद्यालय तथा सबै स्वास्थ्य चौकीमा कम्प्यूटर र इन्टरनेट जडान गर्ने बजेटमा उल्लेख छ।

    यसका साथै ५० शैयाको अस्पतालका पहल गर्ने कुरा बजेटमा अटाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत कमलापति भट्टले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]