|

  • पेमा लामा-

काभ्रे : उद्योग मन्त्री नवीन्द्रराज जोशीले अबको ५० दिनभित्रमा १ लाख उद्यमी  तयार पार्ने उद्घोष गरेका छन्। शुक्रबार धुलिखेलमा घरेलु तथा साना उद्योग कार्यालयले आयोजना गरेको ‘लघु उद्यम दर्ता विशेष अभियान’  उद्घाटन गर्दै मन्त्री जोशीले ५० दिनभित्र १ लाख उद्यमी तयार पार्ने बताएका हुन्।  

मन्त्री जोशीले अब लघु उद्यमीहरुलाई सरकारले प्रोत्साहन दिंदै उनीहरुको सीप र उद्यम विकासमा सहयोग गरी १० बर्षमा मजदुरीको लागि विदेश जानै नपर्ने अवस्था सिर्जना गर्ने बताए।

‘हामीले अब अभियान थालनी गरेका छौं, अबको १० बर्ष भित्रमा कुनै पनि नेपाली मजदुरहरु विदेश जान नपरोस्, अवसर आफ्नै गाउँ ठाउँमा पाओस्’ मन्त्री जोशीले भने, ‘त्यसको लागि अहिले उद्यम दर्ता गर्नेहरुलाई सरकारले केही न केही व्यवसाय गर्ने वातावरण तयार गर्नेछौं।’

उद्यमशीलता भएकालाई काममा लगाउन प्रोत्साहन दिने योजना सरकारले बनाइरहेको पनि उद्योगमन्त्री जोशीले बताए। ‘सरकारले कुनैपनि उद्यमलाई आवश्यक अवसर दिने काम गर्छ’ उनले भने, ‘समाजलाई कोल्टे फेराउन उद्यमी बन्नै पर्छ।’ यसका लागि उद्यमीहरुमा आत्मबल चाहिने मन्त्री जोशीको भनाइ छ।

उनले गाउँगाउँमा गएर उद्यम गर्न चाहनेलाई तिमीहरुसँग क्षमता छ, गर्न सक्छौं चुप लागेर नबस भन्नुपर्ने बताए। काभ्रेमा सुरु भएको ‘लघु उद्यम दर्ता विशेष अभियान’  आगामी चैत २० गतेसम्म सञ्चालन हुनेछ।

चुनावको प्रसंगमा मन्त्री जोशीले सरकार स्थानीय निर्वाचन गर्न तयार रहेको बताए। उनले भने, ‘अब सरकारले छिट्टै निर्वाचनको मिति घोषणा गर्नेछ, त्यसलाई उत्सवको रुपमा लिन सबै राजनीतिक दलहरुलाई आह्वान गर्न चाहन्छु।’ सबै राजनीतिक दलहरुले आफ्ना कार्यकर्ताहरुलाई आर्थिक क्रान्तिको बाटोमा लाग्न उत्प्रेरणा दिनुपर्ने मन्त्री जोशीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.