|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद कम्युनिष्ट संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसमा पनि पोखिएको छ।

बुधबार पुर्व एमालेका शीर्ष तीन नेताले पुष्पलालको योगदानको स्मरण गरे पनि पूर्व माओवादीका नेताले भने पुष्पलाललाई सम्झिएनन्।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत पुष्पलाललाई सम्झिएका थिए। वरिष्ठ नेता झलनाथ खनाल र पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका माधवकुमार नेपालले पनि वक्तव्य जारी गर्दै पुष्पलाल श्रेष्ठको योगदानको स्मरण गरे।

तर, नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भने यस वर्ष लिखित वक्तव्यसमेत जारी गरेनन्। जबकि उनी गत वर्ष पुष्पलालको स्मृति दिवसका अवसरमा काठमाडौंको कीर्तिपुरस्थित चम्पादेवीमाआयोजित कार्यक्रममा नै सहभागी भएका थिए।

यस वर्ष पुष्पलालको स्मरण नगरेका प्रचण्डले रोल्पाका पूर्वसांसद बर्मन बुढा र नवपरासीका कम्युनिष्ट नेता तथा थारु समुदायका मुक्तियोद्धा कुलचन्द्र महतोको निधनप्रति भने समवेदना व्यक्त गरे। पूर्व सांसद बुढालाई अन्तिम श्रद्धाञ्जली दिन प्रचण्डसहित पूर्व माओवादी नेताहरू पशुपति आर्यघाट पुगेका थिए। जहाँ पूर्व एमालेका नेता सहभागी थिएनन्।

यसरी, कम्युनिष्ट आन्दोलनका तीन महत्वपूर्ण व्यक्तिहरूको सम्झना र बिदाईमा एउटै पार्टीका नेताहरूको अलग-अलग व्यवहार रहनुलाई धेरैले पार्टी भित्रको अन्तरसंघर्षको असरका रुपमा बुझेका छन्। यद्यपि, यसबारे नेकपाका नेताहरूले कुनै धारणा व्यक्त गरेका छैनन्। नेकपाका वरिष्ठ नेता खनालले थाहाखबरसँग कुरा गर्दै पुष्पलाल श्रेष्ठ दूरदर्शी नेता भएको बताए।

‘कमरेड पुष्पलाल एउटा दूरदर्शितापूर्ण र स्वप्नदर्शी नेता हुनुहुन्थ्यो, उहाँको मार्गदर्शनको कारणले नै ५८ वर्ष लगाएर हामीले २०६२/६३ को जनक्रान्तिको रुपमा जनवादी क्रान्ति सम्पन्न गर्‍यौँ,’ उनले भने, ‘त्यसपछि अहिले नेपाल समाजवादी क्रान्ति र रुपान्तरणको एउटा नयाँ युगमा प्रवेश गरेको छ, यहाँसम्म नेपाली समाजलाई ल्याई पुर्‍याउन कमरेड पुष्पलालको असाधारण भूमिका रहेको छ।’

पार्टी भित्रको जारी विवादबारे प्रतिक्रिया दिँदै उनले अहिले वाद र प्रतिवाद भइरहेको बताए। त्यसबाट संवाद निसक्ने र पार्टी नयाँ धरातलमा उभिएर अगाडि बढ्ने उनले उल्लेख गरे। ‘बादे बादे जायते तत्व बोध हुन्छ। अहिले नेकपा जुन ऐतिहासिक क्षणबाट गुज्रिरहेको छ। यो वाद प्रतिवाद र संवादको प्रक्रियाबाट गुज्रिरहेको छ,’ उनले भने, ‘अहिले वाद र प्रतिवाद भइरहेको छ, त्यसबाट संवाद निस्कन्छ, त्यो संवादबाट पार्टी वैचारिक, राजनीतिक र सङ्गठनात्मक रुपले नयाँ धरातलमा उभिएर अगाडि बढ्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.