|

इलाम : एउटै व्यक्ति सबै क्षेत्रमा सफल बन्न सक्दैन। अझ खेलकुदको क्षेत्रमा त एकदम न्यून। सबै खेलाडी सफल प्रशिक्षक बन्न सक्दैनन् र सबै प्रशिक्षक सफल खेलाडी हुँदैनन्। तर, प्रवेश कटुवालको हकमा भने यो नियम लागू भएन। उनी सफल खेलाडी पनि भए र सफल प्रशिक्षक पनि।

यो तथ्यसँग प्रवेश पूर्ण सहमत छैनन्। ‘खेलाडीको रुपमा म आफूलाई त्यति धेरै सफलचाहिँ मान्दिनँ। प्रशिक्षकको हकमा पहिलो पटक 'ए' डिभिजन क्लब सम्हाल्दै उपाधि दिलाएँ’ प्रवेश भन्छन्, ‘खेलाडीको सफलता राष्ट्रिय टिमबाट हुन्छ। मैले राष्ट्रिय टिममा लामो समय खेल्न पाइनँ। यदि स्टेफेन कोन्स्टाइन लामो समय कोच भएको भए केही सम्भावना थियो।’

खेलाडीको रुपमा लिग जित्ने र प्रशिक्षकको रुपमा लिग दिलाउने थोरै सफल मध्येमा पर्छन् प्रवेश। २०७६ सालमा मछिन्द्र क्लबलाई प्रशिक्षकको रुपमा लिग दिलाउनुपूर्व २०६१ मा थ्रीस्टारबाट लिग जितेका थिए।

नेपाली फुटबलको उर्वर भूमि झापामा जन्मिएको कारण पनि प्रवेशमा फुटबलको नसा चढ्यो। झापामा फुटबल खेलका लागि चर्चित सैनिकमा उनको बाल्यकाल बित्यो। अहिले पनि उनले यो ठाउँ र फुटबल दुवै छाडेका छैनन्।

सुरुवातमा विङ्गरका रुपमा जमेका प्रवेशपछि मिडफिल्डमा अब्बल ठहरिए। होचा कदका उनी गोलको अवसर सिर्जनाका लागि माहिर नै मानिन्छन्। नेपाली राष्ट्रिय फुटबल टिमका पहिलो पुस्ताका खेलाडी रामदर्शन गुरुङ प्रवेशको पहिलो गुरु हुन्। सानामा दाइहरूको संगतबाट फुटबलमा प्रवेश गरेका प्रवेशमा रामदर्शनले फुटबलको नसा भरिदिए। गाउँको भालेकप र टोलकप हुँदै आज च्याम्पियन प्रशिक्षकसम्म आइपुगेका हुन् प्रवेश।

२०५१/५२ ताकाबाट फुटबल खेल्न थालेका प्रवेश २०५५ साल ताका कोकाकोला यु–१६ टुर्नामेन्टबाट नेपालको उमेर समूहको टोलीमा छानिए। त्यसपछि पहिलो प्रतियोगिताको रूपमा सन् २००० को एएफसी यु–१७ च्याम्पियनसिप छनोटमा सहभागी भए। नेपाल रहेको समूहमा उज्वेकिस्तान, तुर्केमिनिस्तान र माल्दिभ्स थियो।

संयोगवश प्रवेशले जुन १० मा माल्दिभ्स विरुद्धको खेलमा डेब्यु गरे। त्यो खेल नेपालले ७–० जित्यो। प्रतियोगिताको समूह विजेता बन्दै भियतनाममा भएको च्याम्पियनसिप खेल्दा टिमको मिडफिल्डमा प्रवेश जम्न सफल भए। चीन, म्यानमार, जापान, भियतनामसँग प्रतिस्पर्धा गरेको नेपालले जितविहीन यात्रा टुंग्यायो। ‘दुर्भाग्य नै भन्नुपर्छ यदि हामी प्रतियोगिताको शीर्ष ३ मा परेको भए उमेर समूहको विश्वकपमा सहभागिताको अवसर पाउने थियौँ’, प्रवेश भन्छन्।

भारतको कलकत्तामा भएको अल एयरलाइन्स गोल्डकपको प्रदर्शनको आधारमा उनी नेपाली सिनियर टिममा समेत पर्न सफल भए। तर, लामो समयसम्म राष्ट्रिय टोलीबाट खेलेनन्। उनले सन् २००३ मै ओलम्पिक क्वालिफाइड राउन्डको म्याच खेले दुई पटक ‘होम एन्ड अवे’को आधारमा।

२३ वर्षमुनिको टोली सहभागिता प्रतियोगितामा उनले प्यालेस्टाइनविरुद्ध सुरुवाती ११ मा स्थान बनाएका थिए। २००४ मा नवौँ साफ गेम खेल्न उनी पाकिस्तान गए। तर, भुटानविरुद्ध अतिरिक्त खेलाडीको रुपमा छोटो समय मैदानमा बिताए।

त्यसपछि भने प्रवेशले राष्ट्रिय टिमको यात्रालाई बिट मारे। ‘कोन्स्टाइन कोचबाट हटेपछि भने सिनियर टिममा नै पर्न समस्या रह्यो। प्रशिक्षकहरूको व्यवहारमा नै परिवर्तन थियो उनीहरूको प्रिय हुनुपर्थ्यो' प्रवेश भन्छन्, ‘राष्ट्रिय टिमको यात्रा लम्ब्याउने योजना थियो, विभेदकै कारण क्लब गेमलाई फोकस गरें।’ प्रवेशले नेपाली राष्ट्रिय टोलीबाट ७ क्याप जितेका छन्।

क्लब करिअर

प्रवेशको क्लब करिअर न्युरोड टिम (एनआरटी) बाट सुरु गरे। न्युरोडका पूर्व-खेलाडी प्रदीप बस्नेत ( हाल झापाका रेफ्री) ले उनलाई क्लबमा ट्रायलका लागि पुर्‍याए। २०५५ सालमा एनआरटीमा आबद्ध भए। जति बेला उनी नेपालको यु–१६ टिममा नै थिए।

जन्मोत्सव कपमा पाहुना टोली दार्जिलिङ–११ बाट एनआरटीमा डेब्‍यु गरे। केही समय ग्यालेक्सियन क्लबमा पुगे। तत्कालीन एन्फा अध्यक्ष गणेश थापा र गीता राणाबीचको विवादले क्लब विघटन भएपछि प्रवेशको यात्रा थ्रीस्टार क्लबमा रह्यो। ०५७ सालमा ए डिभिजन लिग थ्रीस्टारबाट डेब्‍यु गरे।

थ्रीस्टार उनलाई पूर्वकै अर्का स्टार सुरेन्द्र तामाङ र विश्बन्धु पोखरेलले साथ दिए। उनले त्यहाँ चार वर्ष खेले। प्रवेश खेलाडी रहँदै थ्रीस्टारले एन्फा एकाडेमीका उत्पादन प्रदीप महर्जन, लोकबन्धु गुरुङ, विजय गुरुङलगायत जुनियर र उपेन्द्रमान सिंह, बालगोपाल महर्जन जस्ता खारिएका खेलाडीको साथमा ०६१ सालको लिग जित्यो।

‘थ्रीस्टारबाट खेल्दा एएफसी प्रेसिडेन्ट कपमा खेलेँ। घरेलु मैदान दशरथ रंगशालामा भएको प्रतियोगितामा थ्रीस्टार सेमिफाइनलसम्म पुग्यो’ उनले भने, ‘दुर्भाग्यवश किर्गिस्तानको डोरोडो डाइनोमोसँग टाइव्रेकरमा ४–३ ले हार्न पुग्यौँ।’ पराजित हुनुको कारण खोल्दै प्रवेश भन्छन्, ‘त्यो टिमको सर्वोत्कृष्ट खेलाडी नै गोलकिपर थियो।’

थ्रीस्टारसँगको ४ वर्षे यात्रा समाप्त गर्दै मनाङमा आबद्ध भएको वर्ष नै दोस्रो पटक प्रेसिडेन्ट कप खेले। ‘०६२ सालमा थ्रीस्टारमा रहँदा मनाङले हामीलाई पराजित गरेर लिगको उपाधि जितेको थियो। सोही समय मनाङमा आबद्ध भएर दोस्रो पटक प्रेसिडेन्ट कप खेलेको हो’, उनले भने।

त्यसपछि विभिन्न कारणले मनाङले लिग नखेल्ने निर्णय गरेसँगै उनीसहित प्रेसिडेन्ट कपमा सहभागी खेलाडीहरु अरु क्लबमा गए। अनिल गुरुङले एनआरटी रोज्दा प्रवेशले रानीपोखरी कर्नर टिम (आरसीटी) रोजे। पछिल्लो ३ वर्ष लिगसमेत भएन। एक सिजन सुपर लिगको आधारमा पोखरा र बुटवलसमेत भएको प्रतियोगितामा उनले आरसिटीको उपकप्तान सम्हाले।

०६८/६९ एक सिजन मछिन्द्र क्लबमा बिताए। २०७० सालमा लिग रोकिएपछि उनको कप्तानीमा झापा–११ क्लब दर्ता भएर एन्फा कप खेल्यो। मछिन्द्रमा आबद्ध झापाका खेलाडीहरू सम्मिलित क्लबले मनाङ मर्स्याङ्दी, एपिएफ र संकटा जस्तो 'ए' डिभिजनका क्लबलाई हराउँदै मोफसलमा फुटबलको सम्‍भावनालाई बाहिर ल्यायो।

त्यही प्रतियोगिताको हौसलाका कारण राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष ४ मा झापालाई उभ्याउन प्रवेशले महत्वपूर्ण भूमिका खेले। भगिरथ आले ‘मामा’को प्रशिक्षणमा रहेको टोलीले काठमाडौं वरिपरि घुमेको फुटबललाई मोफसलमा उतार्‍यो।

प्रवेशले झापा–११ मा रहँदा ४ वर्षको अवधिमा विभिन्न  प्रतियोगिताको उपाधि दिलाए। झापाको फुटबल विकासमा योगदान दिएको भन्दै झापा गोल्डकप आयोजक समितिले ०७३ सालमा उनलाई लाइफ टाइम अचिभमेन्ट अवार्डको रुपमा मोटरसाइकल  प्रदान गरेको थियो।

प्रशिक्षणमा पाइला करिअर

प्रवेशले पहिलो इनिङ खेलाडी रहँदै दोस्रो इनिङ प्रशिक्षक सपनालाई पनि सँगै अघि बढाए। झापाबाट खेल्दै गर्दा सन् २०१३ मा उनले सी लाइसेन्स लिए। सन् २०१५ मा आउँदा उनले बी लाइसेन्ससमेत लिन सफल भए। सन् २०१७ मा एएफसी ए लाइसेन्स पाएपछि भने प्रवेशले व्यावसायिक खेलाडी करिअरलाई छाडेर प्रशिक्षक बने। उनी प्रदेश १ का ए लाइसेन्स भएका ३ जना प्रशिक्षक मध्येमा पर्छन्। 

लिग विजेता प्रशिक्षक

प्रवेशलाई ०७५ सालको सिजनमा नै प्रशिक्षक बन्ने अफर आएको थियो। समय अभावका कारण उनले पहिलो पटक ए डिभिजन क्लब सम्हाल्ने अवसर गुमाए। ०७६ को सिजनमा ए लाइसेन्स लिएको कारण उनलाई मछिन्द्रका अतिरिक्त लिग विजेता मनाङ मर्स्याङदी, हिमालयन शेर्पा र सरस्वती क्लबले समेत भित्र्याउन चाहेका थिए।

मछिन्द्रले ०७५ को सिजन विजेता मनाङका प्रशिक्षक फुजा तोपेलाई समेत क्लब भित्र्याउने बताएपछि प्रवेशले शेर्पासँग छलफललाई तीव्रता दिएका थिए। अन्तत: फुजालाई मछिन्द्रले नल्याउने भएपछि प्रवेशले प्रमुख प्रशिक्षकको रुपमा क्लबमा साइन गरे।

‘मछिन्द्रले नाइजेरियाका प्रशिक्षक तोपे फुजालाई पनि ल्याउने कुरा गरेको थियो। मेरो प्रशिक्षक लाइसेन्स फुजाको भन्दा माथिल्लो हो। त्यही पनि दुवै प्रशिक्षकले मिलेर काम गर्ने भन्ने कुरा भएको रहेछ। तर मैलेचाहिँ मानिनँ।  शेर्पासँगको कुरालाई अघि बढाएको थिएँ’, उनले भने, ‘फुजा आउने हो भने म बस्दिनँ भनेर कुरा राखेको थिएँ। पछि फुजालाई बोलाइएन पनि।’

मछिन्द्रलाई सम्हाल्नु प्रवेशका लागि चुनौती पनि थियो। अघिल्लो सिजनमा रेलिगेसन जोनमा परेर १ अंक गुमाएको क्लबलाई अघि बढाउनुपर्ने एकतिर दबाब थियो। भने अर्कोतर्फ क्लबले करोड बढी लगानी गरेर मनाङ र थ्रीस्टारबाट राष्ट्रिय टिममा प्रतिनिधित्व गरेका अधिकांश खेलाडी क्लब भित्र्याएको थियो।

‘पहिलो पटक ए डिभिजन क्लब सम्हाल्दा चुनौतीको चाङ थियो।’ उनले भने, ‘स्टार खेलाडीले भरिएको टिम थियो खेलाडीहरूबीच मनमुटाव भए अर्को समस्या सृजना हुन सक्थ्यो। २ दशक लामो अनुभवलाई प्रयोग गरेर खेलाडीलाई किप इन टचमा राखे।’ प्रवेशलाई प्रशिक्षकमा साइन गर्नुअघि नै क्लबले राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका ९ जना खेलाडी क्लबमा भित्र्याएको थियो।  प्रवेशका निम्ति मछिन्द्र क्लब सहज नै बन्यो।

झापा–११ मा हुँदाका धेरैजसो खेलाडी मछिन्द्रमा थिए। अरू खेलाडीहरूसँग पनि प्रवेशले मोफसलमा प्रतियोगितामा सँगै खेलका थिए। ‘प्रशिक्षणका हिसाबले त झापा ११ र मछिन्द्र उस्ताउस्तै नै हो। पहिले मैले प्रशिक्षण दिएकै खेलाडीहरू पनि हालको टिममा थिए। त्यसैले मलाई क्लबमा काम गर्न सजिलो भयो’, प्रवेशले भने।

नेपाली क्लब फुटबल र राष्ट्रिय फुटबल उस्तै रहेको प्रवेश बताउँछन्। ‘नेपाली फुटबल त्यति गाह्राे छैन। मछिन्द्र क्लबमा चाँहि जापानी फुटबल शैली हेरेर प्रयोग गरेको थिएँ, सफल पनि भएँ।’

फाइनल खेलमा आर्मीको विकल्पमाथि फाइदा उठाउँदै लिग जितेको प्रवेश दाबी गर्छन्। ‘आर्मीलाई खेलमा प्रेसर नै थियो। उसलाई फाइनल खेलमा बराबरी नै काफी थियो। जसले आर्मीको मनमा हामीले बराबरी खेल्दा पनि लिग जित्छौँ भन्ने लागेको थियो। तर, मछिन्द्रको लागि जितबाहेक विकल्प नै थिएन। उनी भन्छन्, ‘हामीलाई त पूरा जित चाहिएको थियो। बराबरीले हाम्रो केही हुनेवाला थिएन। हामीले त्यही कुराको फाइदा लियौँ।’ डेडबल, कर्नर र फ्री किकमा पाएको चान्स नै उपाधिको आधार भएको प्रवेश बताउँछन्।

फाइनल खेल पनि प्रवेशका निम्ति रोचक नै बन्यो। विपक्षी टिमको उपहार गोल उपाधिको आधार। प्रवेश उत्कृष्ट प्रशिक्षकसमेत चुनिए। लिगपछि प्रवेशले मछिन्द्रलाई सताक्षी गोल्डकप, माईभ्याली गोल्डकप दिलाए। पछिल्लो समय झापा–११ ले बनाउन लागेको एकेडेमीको प्रशिक्षकको रुपमा प्रवेशलाई हेरिएको छ। जहाँ उनलाई युगलकिशोर राईले साथ दिने चर्चा सुरु भइसेकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.