|

रुकुम : जिल्लाभर मदिरा बिक्री वितरणमा पूर्ण रुपमा निषेध गर्ने नीति लिएको स्थानीय सरकार अन्ततः मदिरा व्यवस्थापनतिर लागेको छ। स्थानीय सरकारले कानुन कार्याविधि बनाउनेदेखि जिल्ला समन्वय समिति रुकुम पश्चिमबाट निर्णय गराएर जिल्लालाई मदिरामुक्त बनाउने प्रयास थाले पनि कानुनी जटिलताका कारण पछि हटेका हुन्।

रुकुम पश्चिममा मदिरा बिक्री वितरणमा निषेध गर्ने निर्णय गरेसगै जिल्लाका अनुमति प्राप्त मदिरा पसलहरुमा पनि शिलबन्दी गरिएको थियो भने प्रत्येक स्थानीय तहले मदिरा पसलबाट मदिराजन्य सामग्री जफत गरेका थिए। तर, मदिरा व्यवसायीहरु अदालतसम्म पुगेपछि अदालतले अनुमति प्राप्त मदिरा बिक्री वितरणमा रोक नलगाउन आदेश दिएसँगै व्यवस्थापन योजना बनाइएको हो।

बिहीबार मात्र रुकुम पश्चिमको चौरजहारी नगरपलिकाले एक सूचना जारी गर्दै मदिरा व्यवसाय गर्नका लागि आवेदन पेश गर्न आह्वान गरेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीको हस्ताक्षर रहेको सूचनामा अन्य दिन साँझ ५ बजेदेखि ७ बजेसम्म र सार्वजनिक बिदाको दिन ४ बजेदेखि ७ बजेसम्म बिक्री वितरण गर्न पाईने उल्लेख गरिएको छ। त्यसबाहेक मदिरा बिक्री वितरणका लागि विभिन्न सर्तहरु पालना गर्नुपर्ने पनि उल्लेख गरेको छ।

जसमा उमेर नपुगेका बालबालिकालाई मदिरा बिक्री वितरण र कारोबार गर्न नपाईने, सार्वजनिकस्थलभन्दा टाढा व्यवसाय गर्नुपर्ने, मदिरा खरिद कर्ताको विवरण राख्नुपर्ने र एक लाख बढी धरौटी रकम नगरपालिकालाई बुझाउनुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, गैरकानुनी घरेलु मदिरा बिक्री वितरण गर्न नपाइनेदेखि नगरपालिकाले बनाएको निर्देशिकाअनुसार बिक्री वितरण गर्नुपर्ने लगायतका सीमाहरु राखिएको छ।

त्यस्तै, जिल्लाका अन्य केही स्थानीय तहहरुले पनि यसअघि जफत गरेका अनुमति प्राप्त मदिरा व्यवसायीहरुलाई नै फिर्ता गरिसकेका छ भने मदिरा व्यवस्थापनका लागि आवश्यक कानुन निर्देशिका बनाएर अघि बढ्ने योजना बनाएका छन्।

केही महिना मदिरा व्यवसाय पूर्ण रुपमा बन्द रहेको रुकुम पश्चिम सदरमुकाम खलंगामा हाल खुला रुपमा मदिराको बिक्री वितरण र सेवनका कार्यहरु भइरहेका छन्। जिल्लामा आपराधिक घटनाहरुमा वृद्धि भएको भन्दै रुकुम पश्चिममा मदिरा निषेधको नीति लिइएको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.