|

बैतडी : बैतडीमा क्वारेन्टाइन तथा आइसोलेसन राखिएका  विद्यालयहरूमा निसंक्रमीकरण गर्ने कार्य शुरु गरिएको छ। विद्यालयहरु खुल्नुपूर्व निसंक्रमीकरण गर्नका लागि यो कार्यक्रम शुरु भएको हो।

युनिसेफ नेपालको सहयोगमा निड्स नेपाल कञ्चनपुरले निसंक्रमीकरण गर्ने कार्य शुरु गरेको हो। जिल्लाको पाटन नगरपालिका र डिलाशैनी गाउँपालिकाका विद्यालयहरुमा निसंक्रमिणकरण गर्ने कार्य भएको निड्स नेपाल कञ्चनपुरका शिक्षा संयोजक अशोकप्रसाद पाण्डेयले जानकारी दिए। उनले भने, ‘हामीले अहिले पाटन र डिलाशैनीका विद्यालयहरुमा निसंक्रमिकरण गरिरहेका छौं। पाटनका १४ वटा विद्यालयमा निसंक्रमिकरण कार्य सकिएको छ भने डिलाशैनीमा यो काम गरिरहेका छौं।’

पाटन नगरपालिकाका १४ र डिलाशैनी गाउँपालिकाका १४ विद्यालयमा निसंक्रमीकरणका साथै सरसफाइ कार्यक्रमसमेत गरिएको शिक्षा संयोजक पाण्डेयले जानकारी दिए। यसका साथै विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई मनोसामाजिक परामर्श दिने कार्यसमेत गरिएको पाण्डेयले बताए।

विद्यालयहरुमा क्वारेन्टाइन तथा आइसोलेसन बनाइएपछि कोरोना संक्रमण जोखिमको डर रहेकाले निसंक्रमिकरणपछि यो डर हटेको उनले जानकारी दिए।

निसंक्रमीकरण गरेपछि उनीहरूलाई मनोसामाजिक परामर्श दिइएको पाण्डेयले जानकारी दिए। विद्यालयहरुमा निसंक्रमीकरण गरिएपछि मनमा रहेको त्राससमेत हटेको शिक्षकहरुले बताएका छन्।

विद्यालयमा निसंक्रमीकरण गरेपछि अब विद्यालय सञ्चालन गर्नुपरे पनि कुनै किसिमको डर नरहेको शिक्षक लवदेव अवस्थीले बताए।

जिल्लाका धेरै जसो विद्यालयमा क्वारेन्टाइन र आइसोलेसन बनाइए पनि निसंक्रमीकरण नगरेको गुनासो आइरहेका बेला पाटन र डिलाशैनीका विद्यालयमा निसंक्रमीकरण गरिएको हो।

बैतडीका २०० भन्दा बढी विद्यालयहरु क्वारेन्टाइन तथा आइसोलेसनका लागि प्रयोग भएका स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। हालसम्म जिल्लाका  ३८३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ८ जना मात्रै सक्रिय संक्रमित रहेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.