|

नेपालगञ्‍ज : भारतबाट अवैध ढंगले हुने गरेको दुध आयात रोकिँदा नेपाली किसान र दुग्ध व्यवसायी लाभान्वित भएका छन्‌।

कोरोना संक्रमण जोखिमका कारण नेपाल-भारत सीमामा नाकामा कडाई भएपछि भारतका सीमावर्ती गाउँहरूबाट नेपालतर्फ अवैध रूपमा दुध भित्रिन बन्द भएको हो। बाँके जिल्लामा मात्रै भारतबाट अवैध रूपमा दैनिक करिब ५ हजार लिटर दुध भित्रिने गरेको थियो।

भारतीय दुध आयात रोकिएपछि बाँकेका ग्रामिण किसानले उत्पादन गरेको दुधले बजार पाउन थालेको छ। दुध बिक्रेताहरूले गाउँँका किसानहरूबाट दुध संकलन गरेर दुघ डेरीसम्म पुर्‍याई बिक्री गर्न थालेका छन्‌। बाँकेको नरैनापुरदेखि बर्दियाको जमुनीसम्मका किसानहरू दुघका क्यान बोकेर नेपालगञ्‍जका डेरी उद्योगहरूमा आउने गरेका छन्‌। 

लकडाउनका बेला गाउँमा उत्पादन भएको दुघ बजारसम्म पुर्‍याउन समस्या भएको थियो। लकडाउन खुलेपछि भने संकलित दुधका क्यानमा भरेर साइकल तथा मोटर साइकलमा राखी डेरी उद्योगहरूमा पुर्‍याउने क्रम बढेको नेपालगञ्‍जका दुध बिक्रेता मोहन श्रेष्ठले बताए।

बाँके र बर्दियाका किसानहरूले व्यवसायिक रूपमा गाई तथा भैँसी पालेर दुध उत्पादन गर्दै आएका छन्‌। उत्पादित दुध बेच्‍न बजारको संभावना देखिएपछि नेपालगञ्‍जमा ठूलो लगानीमा अत्याधुनिक दुध प्रशोधन उद्योग (डेरी) खुल्ने क्रम पनि बढिरहेको छ। भारतबाट अवैध रूपमा दुध भित्रने क्रम बन्द भएपछि दुध बिक्री नभई खेर फाल्नुपर्ने अवस्था पनि हट्दै गएको छ।

बाँकेको नेपालगञ्‍ज र कोहलपुरमा दैनिक २० हजार लिटर दुध माग हुने गरेको छ। दुध बिक्रीबाट हुने आम्दानीले किसानको कुल आयस्रोतको करिब ९ प्रतिशत हिस्सा ओगटेको छ। 

लुम्बिनी प्रदेश सरकारले दुग्ध उत्पादक किसानहरूलाई उत्पादनमा आधारित अनुदान दिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.