|

रुकुम (पूर्व) : सिस्ने गाउँपालिकाले सञ्चालन गरेको छोरी बिमा कार्यक्रम आइतबारबाट आरम्भ भएको छ। गाउँपालिकाले आफ्नो क्षेत्रमा जन्मने छोरीको बिमा गर्ने निर्णय गरेको थियो। चालु आर्थिक वर्षमा जन्मिका छोरीको बिमा हुने गाउँपालिकाले जनाएको छ।

सिस्ने गाउँकार्यपालिकाको ५८ औं बैठकले पारित गरेको यो निर्णय गाउँसभाको हिउँदे अधिवेशनबाट पनि अनुमोदन गरिएको हो। बैंकमा खाता खोलेर हरेक छोरीको नाममा ५-५ हजार रुपैयाँ गाउँपालिकाले नै जम्मा गरिदिनेछ।

गाउँपालिकाले सञ्चालनमा लिएको छोरी बिमा कार्यक्रम आइतबार सिस्ने–३ पागांका चार महिनाकी सीमा खड्काको कृषि विकास बैंकमा खाता खोली छोरी बिमा कार्यक्रम आरम्भ गरिएको गाउँपालिका अध्यक्ष कुमारी बराल गौतमले बताइन्। गाउँपालिकाले छोरीको बिमा गर्न आवश्यक प्रक्रियामा जान सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।

गत साउन महिनायता जन्मेका छोरीको अभिभावकले जसले छोटो गर्नेछन् उनीहरूको छोरीको बचत रकमको ब्याजदर २० वर्ष उमेर पुग्दा ब्याजदर बढी पाउने अध्यक्ष बरालको भनाइ रहकेको छ। जन्मनासाथ छोरीको बिमा अभिभावकले गरी दिए २० वर्ष सम्ममा गाउँपालिकाले ५ हजार रकम जम्मा गरिदिएको ब्याजदर ५० हजार भन्दा बढी हुने उनले बताइन्।

 तोकिएको मापदण्ड पूरा गरेर वडा कार्यालय मार्फत गाउँपालिकामा आएर छोरीको बिमा गरिदिन गाउँलेलाई सूचित गरेको हो । स्वास्थ्य, शिक्षा, सचेतना, जागरणका लागि छोरी बिमा कार्यक्रम शुरु गरिएको गाउँपालिकाले जनाएको छ । यसबाट रूपान्तरणको अभियान शुरु भएको गाउँपालिका अध्यक्षले जानकारी दिइन्। “आमा र बच्चाको स्वास्थ्य सुरक्षा र जनचेतना बढाउने हाम्रो उद्देश्य हो” उनले भनिन्, “व्यावहारिक रूपमा कार्यान्वयन गर्दा मान्छेमा चेतना बढ्ला र व्यावहारिक बन्ने वातावरण बन्ला भन्ने अपेक्षा छ ।”

छोरी बिमा कार्यक्रमबाट छोरीको सुरक्षालाई पनि प्राथमिकतामा राखिएको छ । कम उमेरमै बिहे नगरून्, पढाइ पूरा गर्न सकून् र सरकारी निकायमा दर्ता कार्यका सम्पूर्ण कुरा पूरा होऊन् भन्ने उद्देश्य पनि राखिएको अध्यक्ष बरालले बताइन् । पर्चा, पम्प्लेट र अरू अभियानका साथै बिमा अभियान पनि छोरीको पढाइ सुरक्षा, जीवन सुरक्षामा प्रतिविम्बित भएको उनको भनाइ छ ।

बिमा गर्दा तोकिएको मापदण्ड

गाउँपालिकाले छोरीको बिमा प्राप्त गर्न निश्चित प्रक्रिया भने तोकेको छ । गर्भमा रहँदा आमाले चार पटक गर्भ जाँच गराएको, स्वास्थ्य संस्थामै बच्चा जन्माएको र जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरेको हुनुपर्नेछ ।

सबै प्रक्रिया पूरा भएपछि वडाको सिफारिसमा छोरी बिमाका लागि गाउँपालिकाले नै खाता खोलिदिनेछ । यो खाता मुद्दती हुनेछ । छोरी २० वर्ष पुगेपछि मात्रै त्यो रकम निकाल्ने पाउनेछन् । त्यसका लागि २० वर्ष नपुगी विवाह नगरेको हुनुपर्ने, पढाइ नछाडेको हुनुपर्नेछ ।

यति भएपछि २० वर्षपछि उक्त रकम त्यो छोरीले निकालेर आफैं चलाउन पाउने गरी कार्यविधि बनाइएको छ । चालु आर्थिक वर्षमा बिमाका लागि ५ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । यसले मात्रै नपुग्ने अवस्थामा थप बजेट व्यवस्थापन गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले बताए ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.