|

पर्सा : राजश्व संकलनको सिलिङ घटाएर लक्ष्य निर्धारण गरिए पनि मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज भन्सारले चालु आर्थिक वर्षको हालसम्म लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेको पाइएको छ। 

आयातित बस्तुको भरमा राजश्व संकलन हुने वीरगन्ज भन्सारले चालु आर्थिक वर्षमा कोरोनाका कारण लक्ष्यअनुसारको राजश्व संकलन गर्न नसकेको हो। 
चालु आर्थिक वर्षको माघ मसान्त सम्म लक्ष्यभन्दा निकै कम राजश्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। 

राजश्व विभागले चालु आर्थिक वर्षमा वीरगन्ज भन्सारलाई गत आर्थिक वर्षभन्दा राजश्वको लक्ष्य घटाएर सिलिङ दिएको थियो। माघ मसान्त सम्म लक्ष्यको ११ प्रतिशत कम राजश्व संकलन गरेको छ। संकलित राजश्व सात महिनाको कुल लक्ष्यमा १० अर्ब ८३ करोड १० लाख २८ हजारले कम हो। 

राजश्व विभागले वीरगन्ज भन्सार कार्यालयलाई सात महिनामा कुल ९९ अर्ब ३३ करोड ५९ लाख ५ हजारको लक्ष्य दिएको थियो। यो अवधिमा कुल ८८ अर्ब ५० करोड ४८ लाख ७७ हजार मात्र राजश्व संकलन भएको भन्सार कार्यालयको तथ्यांक छ। 

गत आर्थिक वर्ष ०७६÷०७७ को सात महिना अर्थात साउनदेखि माघ महिना सम्मका लागि वीरगन्ज भन्सार कार्यालयलाई राजश्व विभागले १ खर्ब ११ अर्ब ५८ करोड ४ लाख २१ हजारको लक्ष्य दिएको थियो। वीरगन्ज भन्सार कार्यालयका प्रमुख महेश आचार्यले कोरोना महामारीका कारण बस्तुको आयातमा कमी भएकैले समग्र राजश्व लक्ष्यमा प्रगति कम देखिएको बताए। 

चालु आर्थिक वर्षको साउन–कार्तिक र माघ महिनामा भने लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ।

कार्यालयका अनुसार साउनमा लक्ष्यभन्दा २१ प्रतिशत, कार्तिकमा लक्ष्य भन्दा ३२ प्रतिशत र माघमा लक्ष्यभन्दा आठ प्रतिशत बढी राजश्व संकलन भएको छ। बाँकी भदौ, असोज, मंसिर र पुस महिनामा भने लक्ष्यको तुलनामा कम राजश्व संकलन हुँदा सात महिनाको लक्ष्य भेटाउन नसकेको हो।

आयार्चाका अनुसार माघ महिनामा लक्ष्यभन्दा १ अर्ब १२ करोड ७९ लाख ७८ हजार बढी राजश्व संकलन भएको छ। माघमा १३ अर्ब ८२ करोड २४ लाख ८६ हजारको लक्ष्य रहेकोमा १४ अर्ब ९५ करोड ४ लाख ६४ हजार राजश्व संकलन भएको छ।

माघमा सवारी साधनको आयातमा बृद्धि हुँदा लक्ष्यभन्दा बढी राजश्व संकलन भएको भन्सार प्रमुख आचार्यले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.