|

  • विदुर कटुवाल

उदयपुर : नेपालको एक मात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडले ऊर्जा आपूर्ति सहज भएपछि दुई महिनामा ११ करोड नाफा गरेको छ। उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले ऊर्जा आपूर्तिमा सहज भएपछि माघ र फागुनमा ११ करोड नाफा गरेको बताएका हुन्।

‘उर्जा आपूर्ति सहज भएपछि सिमेन्ट उद्योगको उत्पादन बढ्दै गएको छ,’ महाप्रबन्धक पौडेलले भने, ‘अहिले विद्युत् नपाएर बस्नुपर्ने कुनै पनि बाध्यता छैन।’ पौडेलले उद्योगमा हाल २ लाख बोरा सिमेन्ट मौज्दात रहेको र त्यसको बिक्री हुँदा उद्योगसँग खुद नाफा  रकम ११ करोड ६६ लाख हुन जाने भएकाले २ महिनामा ११ करोडभन्दा माथि नाफा कमाएको बताए।

उद्योगले गत वर्षको यही अवधिमा २ करोड ७० लाख घाटा व्यहोरेको थियो। उद्योगमा व्यवस्थापन पक्ष कडा हुँदै लोडसेटिङ मुक्त भएपछि कर्मचारीहरुको मिहिनेतका कारण उद्योगले मुनाफा आर्जन गर्न सफल भएको नायव महाप्रबन्धक महेश काफ्लेले बताए।

‘उद्योग मन्त्रालयले पनि पत्रकार सम्मेलन गरेर उद्योगबारे सार्वजानिक गरेको छ।’ नायव महाप्रबन्धक काफ्लेले भने, ‘उद्योग स्थापना भएको धेरै लामो समयपछि दैनिक रुपमा ७ सय देखि ८ सय मेट्रिक टन उत्पादन गरिरहेको छ।’ गएका वर्षहरुमा ऊर्जा आपूर्ति नहुँदा उत्पादन ठप्प हुने गरेको थियो।

काफ्लेका अनुसार माघ र फागुन महिनामा मात्रै उद्योगले १० करोड आम्दानी गर्न सफल भएको छ। सरकारले लागत कम गर्दै यस वर्ष उद्योगको नाफा २५ करोड पु¥याउने लक्ष्य लिएको छ। उद्योगले माघ १ गतेदेखि चैत्र २ गतेसम्म निरन्तर रुपमा २४ घण्टा उत्पादन गरिरहेको छ।

बन्द र सार्वजनिक बिदाका दिन पनि उद्योग सञ्चालनमा आएको छ। प्रतिदिन ८ टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योगले हाल क्षमताअनुसार उत्पादन गरिरहेको छ। ‘सिमेन्ट उद्योगको उत्पादन भनेको एअर (हावा) मा भर पर्नुपर्छ, हामीले एअरका सबै लिकेजहरुलाई मर्मत गरेका छौ।’ नायव महाप्रबन्धक काफ्लेले भने।

उद्योगले सिमेन्ट उत्पादन गर्ने मुख्य मेसिन (गियर) मा वारम्बार समस्या अहिले समाधान गरेको जनाएको छ।

उद्योगको उत्पादनमा सुधार भएसगै प्रथम चौमासिकमा क्षमताको ५१ प्रतिशत उत्पादन गरिसकेका छ। उद्योगका अनुसार उत्पादन क्षमताको ३० प्रतिशत उत्पादन गर्दै आएको उद्योगले कात्तिक र मंसिर महिनामा प्रतिमहिना १० हजार मेट्रिक टन उत्पादन गरेको छ। अहिले त्यसको दोब्बर सुधार हुँदै गएको छ।

०४४ मा जापान सरकारको सहयोगमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योग एसियाको दोस्रो ठूलो र नेपालको पहिलो ठूलो पूर्ण रुपमा सरकारी स्वामित्वमा रहेको सिमेन्ट उद्योग हो।

कसरी हुँदै छ उत्पादनमा सुधार?

मुख्य गरी ऊर्जा आपूर्ति सहज भएपछि उद्योगको उत्पादनमा फड्को मारेको हो। ३ जेठ ०४४ मा स्थापना भएको उद्योगले ०४९ माघबाट उत्पादन सुरु गरेको थियो। जापानको वाइसिएफ (ओभरसिज इलेक्ट्रोनिक कोअपरेशन फन्ट) को जापानी ऐन १८ अर्ब ७७ करोड ऋण सहयोग र नेपाल सरकारको ४४ करोड ३७ लाख ५१ हजार लागानीमा गैंडा छापा लोगो भएको उदयपुर उद्योग सिमेन्ट उद्योग स्थापना भएको हो।

०४९ सालबाट व्यवसायिक उत्पादन सुरु गरेको उद्योगमा ०५१ माघसम्म जापानी प्राविधिकहरुले मात्र सञ्चालन गरेका थिए। ०५१ माघबाट मात्र नेपाली प्राविधिकहरुले उत्पादन गर्न थालेका हुन।

 जापानी प्राविधिहरु शतप्रतिशत उत्पादन गरेको उद्योगमा नेपाली प्राविधिकको हातमा आएपछि दैनिक ४० देखि ५० प्रतिशतको बीचमा मात्र उत्पादन भएको थियो। जसमा वार्षिक रुपमा ५५ माथि ७० प्रतिशतसम्म उत्पादन गरेको तथ्यांक छ। नायव महाप्रबन्धक महेश काफ्लेका अनुसार ग्यास कन्डिसन पावर (जिसिपी) मर्मतको लागि टेन्डर लागिसकेको छ भने, यसैगरी, इलेक्ट्रो स्टाटिक पावर (इसपी) जुन फ्याक्ट्री भरि उड्ने धुलो नियन्त्रण गर्ने मेसिनको पनि मर्मत भइरहेको छ। उद्योगबाट उड्ने धुलोमा मात्र प्रातिघण्टा २ टन क्षति भएकाले त्यसको नियन्त्रणपछि पनि उत्पादनमा सुधार आउनेछ।

विगतमा प्रत्येक दिन उत्पादन सुरु गरेपछि मेसिन भाँचिने, टुट्ने समस्या थियो। त्यो अहिले सामधान भएको छ। तत्काल भाँचिने टुट्ने मेसिनको तत्काल मर्मत हुने र नयाँ जडानको लागि प्राविधिक राखिएको काफ्लेले बताए। उद्योगमा सामान्य मेसिन बिग्रँदा महिनौं लाग्ने समस्या अहिले हटेको छ।

फेरि कर्मचारी तथा मजदुरमा कडा अनुशासन लगाइएको छ। विगतमा आउने महाप्रबन्धकले मोनामानी गरे पनि उद्योगमा भएका वर्तमान महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले उद्योगको हितमा मात्र काम गर्ने गरेका छन्। ‘काम नगर्ने, काममा नआउने अनि तलब लिन आउने कर्मचारी तथा मजदुरलाई सल्लाहले राजीनामा दिन लगाउने र अवकाश दिलाउने महाप्रबन्धक ज्यूले गर्नुभएको छ।’

नाम नराख्ने सर्तमा एक मजदुरले भने, ‘मजदुर तथा कर्मचारीप्रति पनि उद्धारदायी भूमिका खेल्ने महाप्रबन्धक भएकाले पनि उद्योगमा सुधार आएको छ। काम गर्नेलाई माया गर्ने र नगर्नेप्रति कडा रुपमा प्रस्तुति दिने महाप्रबन्धको कारण अहिले उद्योगका कर्मचारी र मजदुर अनुशाति छन्। त्यसमा विद्युत्को समस्या समाधान भएकाले पनि उद्योगमा परिवर्तन आएको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.