|

ओखलढुंगा : ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नं. ४ स्थित सामुदायिक वनमा मंगलबार रातिदेखि लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएपनि डढेलो अझै नियन्त्रणमा नआएको हो। सुरक्षाकर्मी बस्ती जोगाउनतिर लागेका छन्।

वन क्षेत्रमा अझै डढेलो बलिरहेको र नियन्त्रणमा आउन नसकेको प्रहरी नायव उपरीक्षक (डिएसपी) गोविन्दराज काफ्लेले जानकारी दिए। डढेलो कसरी लाग्यो भन्नेबारे थाहा नलागेकाले अनुसन्धान गरिने उनको भनाइ छ।

स्थानीय बासिन्दाको समेत सहयोगमा डढेलो नियन्त्रण प्रयास भइरहेको प्रहरीले जनाएको छ। कति वन क्षेत्रमा क्षति पुग्यो भन्ने यकिन भइसकेको छैन।

सामुदायिक तथा निजी वन क्षेत्रमा डढेलोले सयौं हेक्टर वन क्षेत्रमा क्षति पुर्‍याएको छ। नेपाल टेलिकमको टावर र बस्तीमा जानबाट भने सुरक्षाकर्मी अग्निरेखा समेत बनाएर नियन्त्रण प्रयास गरेका छन्।

डढेलो नियन्त्रणमा लिन विभिन्न निकायका ६० भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ। कति वन क्षेत्रमा कस्तो क्षति भयो भन्ने कर्मचारी खटाएर बुझ्ने प्रयास भइरहेको डिभिजन वन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले बताए।

बुधबार बेलुकी प्राप्त जानकारीअनुसार निभेका क्षेत्रमा पनि हावाका कारण आगो पुन: सल्किएको छ। पानी नभएकाले स्याउला प्रयोग गरी डढेलो निभाउन प्रयास भइरहेको छ। खटाइएका सुरक्षाकर्मीलाई खानेपानी तथा खाजा खानाको समेत समस्या परिरहेको छ।

वनमा भएको डढेलो नियन्त्रणमा सुरक्षा निकाय सक्रिय भए पनि वन कार्यालयले भने तत्परता नदेखाएको स्थानीय बासिन्दाको गुनासो छ। वन क्षेत्रमा डढेलो र चोरी निकासीले क्षति पुगे पनि सरोकारवाला कार्यालय मौन रहेको स्थानीयको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.