|

बारा : वडा कार्यालय र दलित भवन बनाउने नाममा करिब ४५ वर्ष पुरानो पिपल चौतारी भत्काएको बारा डुमरवानाका सुनिल चौधरीलाई चित्त बुझेको छैन।

नेपाल राष्ट्रिय मावि डुमरवानाको मुल गेटमा रहेकोे  चौतारीमा गाउँघरका बूढापाका दिनभर आराम गर्थे, साना व्यापारीहरू चटपटे, पानी पुरी, चियाको व्यापार गर्थे, विद्यार्थी बसेर खाजा खान्थे।

‘वडा कार्यालय र दलित भवन बनाउने भन्दै पिपल काटे, चौतारी पनि भत्काए, हामीलाई चित्तबुझेको छैन’ चौधरीले भने,‘असाध्यै उजाड लागेको छ, बूढापाका, बटुवा विद्यार्थी यहि बसेर शितल हावा खान्थे, पानी पिउँथे। अहिले उजाड छ।’

वडामा अन्यत्र पनि सार्वजनिक जग्गा भएकाले वडा कार्यालयको भवन अन्यत्र बनाएको भए हुने उनले सुनाए। चौतारो भत्काएपछि गाउँमा बसिबियालो गर्ने ठाँउकै अभाव भएको अर्का स्थानीय राजकुमार अर्यालले सुनाए। ‘चौतारी हुँदा वरपरको वातावरण हरियाली थियो, बूढापाकाहरू दिनभर आराम गरेर बस्थे, जमघट हुन्थ्यो, सार्वजनिक कार्यक्रम हुन्थ्यो’ अर्यालले भने।

डुमरवानामा मात्रै होइन पछिल्लो समय भौतिक पुर्वाधार निमार्णका नाममा दशकौं पुराना बरपिपलका चौतारीहरू मासिँदै गएका छन्। धार्मिक र वातावरणीय रूपमा अत्यन्तै महत्वपूर्ण मानिएको बरपिपल मठ मन्दिरसँग जोडिएका ठाँउमा भने केही संरक्षण भएका छन्। ‘बनाउनुपर्ने ठाँउमा भइरहेका संरचनालाई काटेर मासिएको छ, पहिले गाउँगाउँमा बरपिपल, पाकड, वर, समी लगायतका प्रर्याप्त अक्सिजन दिने बिरूवाहरू धेरै संख्यामा थिए।

पछिल्लो समय यी रूखहरू मासिदै गएका छन्’ कलैया उपमहानगरपालिका–२ गंगापुरका ७४ वर्षीय पासवत भागवतले भने,‘ आजकाल खाली गाछी (रूख) काट्नेहरू मात्रै छन्। लगाउनेतर्फ सरकार, स्थानीय जनता कसैको पनि ध्यान छैन।’

सामान्यतया बरपिपलको आयु सय वर्ष भन्दा धेरै हुन्छ। बुढो भएपछि अरू रूखहरू सुक्छन् तर बरपिपल कहिल्यै सुक्दैनन्। धार्मिक रूपमा पुजाआजा र मृत्यु संस्कार बाहेक अन्य काजमा पिपललाई प्रयोग गर्न नमिल्ने किम्बदन्ती छ तर, पछिल्लो समय दाउराको रूपमा समेत प्रयोग गरेको पाइन्छ।

बरपिपल, पाकड, समी लगायतका बिरूवाहरू  अत्याधिक अक्सिजन दिने बोटहरू भएको डिभिजन वन अधिकृत मञ्जुर अहमदले बताए। ‘यसवर्ष हामीले प्रदेश सरकारको सहयोगमा पर्यटन पुर्वाधार कार्यक्रम अन्तर्गत पुराना पाटीपौवा, बरपिपलका चौतारा, सार्वजनिक पोखरीहरूको संरक्षणको अभियान नै चलाएका छौं’ वन अधिकृत अहमदले भने। प

हिले एउटै गाँउमा ३–४ सयवटा बरपिपलको रूखहरू भेटिए पनि अहिले मासिएर थोरै मात्रै रहेको प्रसौनी गाउपालिका–३ का ७२ वर्षीय जोगिन्द्र साह कानुले सुनाए। बाराको दक्षिण भेगको प्रसौनी गाउँपालिकामा अहिले पनि जिल्लामै सबैभन्दा धेरै बरपिपलको बोट रहेको वन कार्यालयले जनाएको छ। 

‘बाजेहरूले लगाएका दशक पुराना रूखहरू ढल्न लागेकोले पर्खाल लगाएर संरक्षण गर्दैछौ’ जोगिन्द्रले भने। नेपाल राष्ट्रिय मावि सिमराका वातावरण शिक्षक राजमणी बरालले पहिले बरपिपललाई चौताराहरू बनाएर संरक्षण गरिदै आएकोमा लोकतन्त्रपछि विकास निमार्णका नाममा भएका चौताराहरू मासिने क्रम बढेको सुनाए। यसले गर्दा वातावरणलाई दुरगामी असर परेको उनले बताए।

‘स्थानीय तह, शिक्षक, अभिभावक समाजले बरपिपलको महत्व बुझ्न नसक्दा मासिँदै गएका छन्’ शिक्षक बरालले भने,‘कामको थकानसँगै मनलाई आनन्दित बनाउने मात्रै नभएर हिन्दु धर्ममा बरपिपललाई विष्णुको अवतार मानेर पुजाआजा गरिन्छ।’ 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.